जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ल्हारक्याल लामाले हडपेको सार्वजनिक जग्गा खाली गराउन पत्र काट्ने तयारी

ल्हारक्याल लामाले हडपेको सार्वजनिक जग्गा खाली गराउन पत्र काट्ने तयारी

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थराज्यमन्त्री ल्हारक्याल लामाले हडपेको सार्वजनिक जग्गा फिर्ता ल्याउन स्थानीय सरकारले अग्रसरता देखाएको छ। लामा अहिले लुम्बिनी विकास कोषका उपाध्यक्ष छन्। माओवादी केन्द्र नेतृत्वको सरकारले कोषमा नियुक्त गरेका लामाले काठमाडौँको बुढानीलकण्ठमा सार्वजनिक जग्गा हडपेर निजी आवास निर्माण गरेका छन्।

लामाको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ मा २ रोपनी ९ आना जग्गामा बनेको सुविधासम्पन्न निजी आवास छ। उनको आवास रहेको जग्गामध्ये २ रोपनी १ आना जग्गा सार्वजनिक जग्गा रहेको तथ्य गत असोज ३० गते उजागर गरेको थियो। 

यो तथ्य उजागर भएपछि यसबारे विस्तृत अध्ययन गरेको बुढानीलकण्ठ नगरपालिकाको २ नम्बर वडा कार्यालयले लामाले हडपेर निजी आवास बनाएको त्यो जग्गा खाली गराउन पत्र काट्ने तयारी गरेको छ। 

वडाध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारी (सार्वजनिक) जग्गा व्यक्तिले अतिक्रमण गरेको देखिएकाले त्यो जग्गा छुट्टयाएर खाली गराइने बताए। “सरकारी जमिन व्यक्तिले उपभोग गर्न पाउँदैन। हामीले हाम्रो वडाभित्र अतिक्रमणमा परेका सरकारी जग्गा छुट्टयाउने र खाली गराउने तयारी गरेका छौँ,” उनले भने, “ल्हारक्याल लामाको निजी निवासले पनि सरकारी जग्गा अतिक्रमण गरेको प्रमाणित भइसकेको छ। अब त्यहाँ रहेको सरकारी जग्गा पनि छुट्टयाएर खाली गराउँछौँ।” 

उनले वडा कार्यालयबाट सरकारी जग्गा हडपेका व्यक्तिलाई त्यो जग्गा खाली गराउन पत्राचार गर्ने तयारी भइरहेको र त्यसपछि हाल साबिक गरेर जग्गा छुट्टयाइने बताए। “सरकारी जमिन संरक्षण गर्ने दायित्व अहिले स्थानीय सरकारको हो। हामी हाम्रो वडाअन्तर्गत अतिक्रमण भएका वा कसैले हडपेका जग्गा छुट्ट्याउने तयारीमा लागेका छौँ,” वडाध्यक्ष श्रेष्ठले भने, “ल्हारक्याल लामाको निवासले हडपेको सार्वजनिक जग्गा खाली गराउन हामी भोलि (मंगलबार) नै पत्राचार गर्दै छौँ।” 

८ आना किनेर २ रोपनी १ आना कब्जा
सरकारी अड्डाहरूमा रहेका कागजातहरूले देखाएअनुसार लामाले २०६४ असार २० गते बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ मा रहेको गणेश मन्दिरको आडमै अवस्थित ८ आना जग्गा खरिद गरेका थिए। उनले भ‍ूवन सिंहबाट त्यो जग्गा खरिद गरेको कागजातहरूले देखाउँछन्।

उनले जतिबेला जग्गा खरिद गरे, त्यसबेला यो ठाउँ साबिकको चपली गाविस वडा नम्बर ८ मा पर्थ्यो। 

सिंहबाट खरिद गरेको जग्गामा उनले केही समयपछि निजी निवास बनाउन शुरू गरेका थिए। लामाले निवास बनाइरहँदा त्यसको छेउमै सार्वजनिक जग्गा थियो। बुढानीलकण्ठवासीले त्यो जग्गा वर्षौंदेखि बस्तुभाउ चराउने ठाउँका रूपमा सार्वजनिक उपयोग गर्दै आएका थिए। त्यो ठाउँ वृद्धवृद्धाहरूका लागि बिहान बेलुका टहलिने, बालबालिका खेल्ने ठाउँका रूपमा समेत प्रयोग हुँदै आएको थियो। त्यही ठाउँलाई लामाले पर्खाल लगाएर आफ्नो कम्पाउन्डभित्र पारेका थिए।

af84af38.jpg

उनले यसरी कब्जा गरेको सार्वजनिक जग्गाको कुल क्षेत्रफल २ रोपनी १ आना रहेको बुढानीलकण्ठ नगरपालिकाले गरेको पछिल्लो नापजाँचबाट प्रमाणित भइसकेको छ। 

लामाको निजी निवास रहेको कम्पाउन्डमा उत्तर–पूर्वतर्फको भागमा आकर्षक देखिने हरियाली जग्गा छ। त्यहाँ बाँसदेखि अनेकौँ रूखबिरुवा लगाइएका छन्। सानोतिनो वनकै झल्को दिने यो ठाउँलाई उनले वर्षौंदेखि चारैतर्फ पर्खाल लगाएर आफ्नो कम्पाउन्ड बनाएका छन्। 

बुढानीलकण्ठ नगरपालिकाले गरेको पछिल्लो नापजाँचले त्यो कम्पाउन्डभित्रको अधिकांश जग्गा नै सार्वजनिक जग्गा रहेको देखाएको छ। नापजाँचमा सहभागी बुढानीलकण्ठ नगरपालिकाका प्राविधिक, अमिन राजकुमार श्रेष्ठले नयाँ नक्सा हेर्दा पुरानो कित्तामा भएको जग्गाको क्षेत्रफलभन्दा अहिलेको कित्तामा २ रोपनी १ आना १ पैसा धेरै जग्गा देखिएको र त्यो सरकारी जग्गा भएको बताए। 

मालपोत कार्यालय र नापी कार्यालयका सरकारी कागजातले नै त्यो लामाको नभई सरकारी जग्गा रहेको देखाउँछन्।

नापी कार्यालय चाबहिलबाट प्राप्त ‘फिल्ड बुक’ र नापी नक्साबाट लामाको निवास रहेको ठाउँ, साबिकको चपली गाविस वडा नम्बर ८ अन्तर्गत पर्ने ८ ‘क’, कित्ता नम्बर १९८ र हाल नयाँ नापी नक्साको सिट नम्बर १०२–०९०७–१० को कित्ता नम्बर २६ मा १ हजार ३१२ दशमलव ६३ वर्गमिटर (२ रोपनी ९ आना १ पैसा) जग्गा रहेको देखियो। यो जग्गामध्ये भूवन सिंहबाट २०६४ सालमा खरिद गरेको ८ आना जग्गा घटाउने हो भने लामाले २ रोपनी १ आना १ पैसा सरकारी जग्गा कब्जा गरेको स्पष्ट देखिन्छ।

बुढानीलकण्ठको यो क्षेत्रमा जग्गाको चलनचल्तीको मूल्य प्रतिआना ६० लाखदेखि ६५ लाखसम्म रहेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू नै बताउँछन्। गणेश मन्दिर आसपासमा अहिले पनि कम्तीमा ५५ लाख प्रतिआनाका दरले जग्गा किनबेच भइरहेको छ। प्रचलित दररेटकै हिसाब गर्ने हो भने लामाले १८ करोडभन्दा धेरै मूल्य पर्ने सार्वजनिक जग्गा कब्जा गरेर निजी निवास बनाएको देखिन्छ।

तर त्यहाँको सरकारी दररेट भने निकै कम देखाउने गरिएको छ। जस्तो, मालपोत कार्यालय चाबहिलको तथ्यांकअनुसार साबिकको चपली–८ ‘क’ (हाल बुढानीलकण्ठ–२) मा जग्गाको सरकारी मूल्य आनाको १३ लाख ३१ हजार रुपैयाँ तोकिएको छ।

बुढानीलकण्ठ क्षेत्रको जग्गाको महत्त्व र मूल्य बुझेरै लामाले २ रोपनी १ आना १ पैसा सरकारी जग्गा हडप्नका लागि त्यसबेला आडमै रहेको ८ आना जग्गा किनेको देखिन्छ। घटनाक्रमले पनि त्यसलगत्तै उनले सार्वजनिक जग्गा कब्जा गरेको देखाउँछन्।

वर्षौंदेखि सार्वजनिक जग्गा कब्जा गरेका लामाले आफ्नै जग्गा अद्यावधिक गर्न हालसाबिकका लागि सरकारी निकायमा निवेदन दिएको पनि देखिँदैन। हालसाबिक हुँदा आफ्नो निजी र आफूले ओगटेको सरकारी जग्गा छुट्टिने भएकाले पनि लामाले त्यसका लागि निवेदन नदिएको नापी कार्यालयका कर्मचारी बताउँछन्। 

असोज ३० गते यसबारे विस्तृत रिपोर्ट प्रकाशित गर्दा हामीले लामालाई सोधेका थियौँ– तपाईंले सार्वजनिक जग्गा कब्जा गरेर निवास बनाउनुभएको रहेछ नि? उनले कुनै सरकारी जग्गा आफूले अतिक्रमण नगरेको दाबी गर्दै त्यसो भनिए ‘आफूमाथि अन्याय हुने’ बताएका थिए। बुढानीलकण्ठ क्षेत्रमा धेरैले सार्वजनिक जग्गा अतिक्रमण गरेकाले आफूलाई मात्र जग्गा हडपेको भन्न नमिल्ने उनको तर्क थियो। वडा कार्यालयले लामाको निवाससहित त्यस क्षेत्रमा अतिक्रमित सबै सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी अघि बढाएको छ। 

बुढानीलकण्ठ नगरपालिकाको २ नम्बर वडा कार्यालयले सार्वजनिक जग्गाका अनधिकृत संरचना हटाउन २०७९ असोज २ मा सार्वजनिक सूचना जारी गरेको थियो। “सार्वजनिक–पर्ती जग्गा अतिक्रमण भइरहेकाले केही सार्वजनिक जग्गामा अनधिकृत तरिकाले निर्माण भएका संरचना यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउन सूचित गरिन्छ। सूचनालाई बेवास्ता गरी ३५ दिनभित्र अनधिकृत संरचना नहटाएको पाइएमा नियमानुसार ती संरचना हटाएर सार्वजनिक जग्गा खाली गरिने छ,” वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख थियो। यो सूचना प्रभावकारी नभएपछि वडा कार्यालय जग्गा खाली गराउन पत्राचार गर्ने तयारीमा जुटेको हो।

6120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका