जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सार्वजनिक निकायमा स्वदेशी उत्पादन प्रयोग अनिवार्य, यस्तो छ सरकारको निर्देशन

सार्वजनिक निकायमा स्वदेशी उत्पादन प्रयोग अनिवार्य, यस्तो छ सरकारको निर्देशन

उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादनका वस्तु मात्रै प्रयोग गर्न निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार एक सर्कुलर जारी गर्दै स्वदेशी वस्तुको उपयोग बढाउन सार्वजनिक निकायलाई स्वदेशी बस्तुको उत्पादन र उपभोगमा जोड दिन निर्देशन दिएको हो।

‘मिति २०७९ पुष २५ गते जारी नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गरी बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न, स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुको उत्पादन र उपभोगलाई जोड दिने स्पष्ट निर्देशन र कार्यक्रम रहेको छ।’ मन्त्रालयबाट जारी विज्ञप्तिमा भनिएको छ। ‘उक्त कार्यक्रम र निर्देशन कार्यान्वयन गर्ने सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिका, २०७१ को प्रभावकारी कार्यान्वयन तथा सहजीकरणका लागि देहायबमोजिम निर्णय गरी सो निर्णय कार्यान्वयन गर्न गराउन सबै तहका सरकारका मन्त्रालय, आयोग र मातहतका सार्वजनिक निकायहरुमा पठाएको छ’

यस्ता छन् मन्त्रालयले सरकारी मातहतका निकायमा पठाएका निर्देशनहरुः

१.सार्वजनिक निकायले निर्देशिकाको दफा ४ मा उल्लिखित मालसामान वा वस्तु उत्पादन गर्ने स्वदेशी उत्पादक एवं नेपाली वस्तु आपूर्ति गर्ने आपूर्तिकर्ताको रोष्टर तयार गरी स्वदेशी उत्पादन नै खरिद गर्ने व्यवस्था मिलाउने

२.आयोग/मन्त्रालय तथा मातहतका निकायहरुले आयोजना गर्ने अतिथि सत्कार एवं चिया, खाजामा अनिवार्य रुपमा नेपाली उत्पादन प्रयोग गर्ने

३. सार्वजनिक निकायले आफ्नो उपयोगको लागि स्टेसनरी, फर्निचर–फिक्चर्स, मेसिनरी औजार जस्ता मालसामान खरिद गर्दा उपलब्ध भएसम्म नेपाली मालसामान नै खरिद गर्नुपर्ने सो नभएमा न्यूनतम पचास प्रतिशत स्वदेशी मालसामान खरिद गर्ने

४. सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १७ बमोजिम कुनै विधि छनौट गरी खरिद गर्दा विदेशी मालसामान भन्दा नेपालमा उत्पादित मालसामान पन्ध्र प्रतिशत सम्म महंगो भए तापनि नेपाली मालसामान नै खरिद गर्नुपर्ने व्यवस्था रहेकोले सोही बमोजिम खरिद गर्ने

५. कोष तथा लेखा नियन्त्रक कार्यालयले आन्तरिक लेखा परीक्षण गर्दा नेपाली वस्तु खरिद भए नभएको सम्बन्धमा प्रतिवेदनमा कैफियत उल्लेख गर्ने

६. स्वदेशी माल सामान वा वस्तुको उत्पत्तिको प्रमाणपत्रको विवरण नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र नेपाल च्याम्बर अफ कमर्श र मातहतका निकायले आफ्नो वेवसाइटमा प्रकाशन गर्ने र सार्वजनिक निकायले सो विवरणलाई समेत आधार लिई स्वदेशी वस्तु खरिद गर्न सक्ने

७. स्वदेशी मालसामान उत्पादन गर्ने उत्पादकहरुले सार्वजनिक निकायमा आफ्नो उत्पादनलाई सूचिकृत गराउनु पर्ने

८. प्रदेश तथा स्थानीय तहहरुले समेत स्वदेशी वस्तु उपयोग गर्ने सम्बन्धी यस निर्देशिकालाई मार्गदर्शनको रुपमा अवलम्बन गरी खरिद गर्ने

९. सार्वजनिक निकायले स्वदेशी वस्तु खरिद गरेको विवरण ३–३ महिनामा निर्देशिकाको दफा १३ बमोजिमको केन्द्रीय कार्यान्वयन तथा अनुगमन समितिमा विद्युतीय माध्यम(इमेल) बाट मन्त्रालयमा पठाउनुपर्ने

१०. आयोग/मन्त्रालय तथा मातहतका निकायहरुले आफू अन्तर्गतका कार्यालयको अनुगमन गर्दा यस निर्देशिका बमोजिम स्वदेशी वस्तु खरिद भए नभएको सूचकलाई प्राथमिकतामा राखी अनुगमन गर्ने

११. प्रदेश र स्थानीय तहले निर्देशिका कार्यान्वयनको अनुगमन गर्दा आफ्नै संयन्त्र बनाई अनुगमन गर्ने

१२. निर्देशिकाको प्रभावकारी कार्यान्वयन, सहजीकरण तथा अनुगमनको अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गर्ने ।

1395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका