जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • सहकारीको डेढ खर्ब ठगीमा जीवी राईसँगै १५ सय जना ‘वान्टेड,’ आधा दर्जनविरुद्ध रेड नोटिस

सहकारीको डेढ खर्ब ठगीमा जीवी राईसँगै १५ सय जना ‘वान्टेड,’ आधा दर्जनविरुद्ध रेड नोटिस

एकपछि अर्को गर्दै सहकारी संस्थाका बचतकर्ताको रकम अपचलनका घटना बाहिर आउँदा प्रहरीको खोजी सूची पनि लम्बिएको छ। सहकारी ठगीका घटना ह्वातै बढेका छन्। एक वर्षको अवधिमा नेपाल प्रहरीमा मात्र सवा खर्ब रुपैयाँ बराबरका सहकारीको रकम ठगीका जाहेरी आएका छन्। प्रहरीका अनुसार ठगीका मुद्दामा कार्बाहीका लागि जाहेरी आउने क्रम उल्लेख्य छ।

आर्थिक वर्ष २०८०/८१ मा नेपाल प्रहरीका मुद्दा चल्ने विभिन्न प्रहरी कार्यालयमा १ खर्ब २७ अर्ब ९३ करोड ८६ लाख ९ हजार ४१ रुपैयाँ ठगिएको माग दाबीसहित उजुरी दर्ता भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो एक खर्बभन्दा बढी रकम हो।

गएको आर्थिक वर्षमा प्रहरीले विभिन्न सहकारीका ९८ वटा मुद्दा अदालतमा बुझाएको छ। त्यसो त सहकारीको अनुसन्धान स्थानीय तह र सहकारी विभागले पनि गर्ने गरेको छ। विभागको सिफारिसमा अनुसन्धान प्रहरीले गर्दै आएको छ।

अनुसन्धानमा पछिल्लो समय आर्थिक गतिविधिमा हुने अपराध बढेको देखिन्छ। त्यसैको अर्को कारण सहकारी ठगी पनि हो।’पहिले अर्थको लागि अपराध हुन्थ्यो। अहिले आर्थिक नै अपराध बन्यो,’ नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीले भने।

यस वर्ष ८ अर्बसम्म ठगी भएका सहकारीका मुद्दा दर्ता भए। कान्तिपुर सहकारी, लालीगुराँस सहकारी, सुप्रिम सहकारी, छिपछिपे सहकारी लगायतका सञ्चालक/पदाधिकारीमाथि मुद्दा चल्यो। स्थानीय तहका प्रमुखदेखि सांसदसम्म सहकारी ठगीमा मुछिन पुगे। पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पनि सूर्यदर्शन सहकारी ठगीमा जोडिए‍। रविमाथि लागेको आरोपबारे अनुसन्धान गर्न अहिले सरकारले समिति बनाएर छानबिन गरिरहेको छ।

मुद्दाको संख्या हेर्ने हो भने काठमाडौं उपत्यकाभित्र एक वर्षमा सबैभन्दा धेरै ३८ वटा दर्ता भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), जिल्ला प्रहरी परिसरदेखि प्रहरी वृत्तसम्म सहकारी ठगीका जाहेरी आएर मुद्दाको चरणसम्म पुगेका छन्।

एक वर्षमा काठमाडौं उपत्यकाभित्र ११ अर्ब २९ करोड ८३ लाख ६७ लाख ५५४ रुपैयाँ ठगी भएको देखिएको छ। तर, ठगी भएको रकमको हिसाबले भने बागमती प्रदेशमा धेरै छ। प्रदेशमा ११ वटा मुद्दा दर्ता भए पनि ६९ अर्ब ३६ करोड ६४ लाख ८८ हजार २८६ रुपैयाँ बचतकर्ताको ठगी भएको देखिएको छ।

प्रहरीको तथ्यांकअनुसार कर्णाली प्रदेशमा एउटा मात्र मुद्दा दायर भएको छ। जहाँ १७ लाख २९ हजार ८२९ रुपैयाँ ठगी भएको देखिन्छ। आर्थिक कारोबार कम हुने प्रदेश र जिल्लामा आर्थिक अपराधहरू कम भएको प्रवक्ता डीआइजी कार्की बताउँछन्।

त्यस्तै कोसी प्रदेशमा ६७ करोड ८० लाख ८३ हजार ६८१ रकम ठगी हुँदा ९ वटा मुद्दा दर्ता भएको छ। मधेस प्रदेशमा ११ मुद्दा दायर २५ करोड ४८ लाख ७५ हजार ९२४ रुपैयाँ ठगी भएको छ। गण्डकी प्रदेशमा १० वटा मुद्दा दायर भएको छ। जसमा सहकारीमा ठगिएको रकम भने ४२ अर्ब ४९ करोड ४७ लाख २० हजार ८५८ रहेको छ।

सुदूरपश्चिम प्रदेशमा ७ वटा मुद्दा दायर हुँदा १ अर्ब करोड ३१ करोड मुद्दा दायर भएको हो। सीआइबीले पनि एक वर्षमा ६ वटा केसमा १ अर्ब २० करोड ७७ लाख ६५ हजार १७१ रुपैयाँ ठगिएकोमा मुद्दा दायर गरेको छ।

तीन वर्षमा डेढ खर्ब सहकारीबाट ठगी

गएको तीन वर्षमा देशभर सहकारी ठगीको घटना सतहमा देखिए। यो अवधिमा सयौं बचतकर्ताको रकम हिनामिना हुन पुग्यो। तीन वर्षमा १ खर्ब ४२ अर्ब रुपैयाँ भन्दा बढी रकम हिनामिना भएको प्रहरीले जानकारी दिएको छ।

तीन आर्थिक वर्षमा २१५ वटा मुद्दा प्रहरीले सहकारी ठगीअन्तर्गत दायर गरेको छ। आर्थिक वर्ष २०७८/७९ देखि सहकारी ठगीका घटना र ठगिएको रकम बर्सेनि बढ्दै गएको छ।

गएको आर्थिक वर्षमा १ खर्ब २७ अर्ब ९३ करोड ८६ लाख ९ हजार ४१ रुपैयाँ ठगिएको थियो। उक्त वर्ष कुल ९८ वटा मुद्दा दायर भएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा ९३ वटा मुद्दा दायर हुँदा ११ अर्ब ५३ करोड २८ लाख रुपैयाँ ठगी भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा २४ वटा मुद्दामा ठगीको रकम ४ अर्ब ९९ करोड ५४ लाख ६८ हजार १९५ रहेको थियो।

फरार खोज्दै प्रहरी

सहकारी ठगीमा गरेर विदेश भाग्ने गरेको खुलेकाले नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलसँग समन्वय गरेर खोजी कार्य गरिरहेको छ। पछिल्लो समय चर्चामा रहेको सूर्यदर्शन सहकारी प्रकरणमा जोडिएका जीवी राईलाई पक्राउ गर्न प्रहरीले रेड नोटिस नै जारी गर्नु परेको थियो। गृह मन्त्रालयका अनुसार राई मलेसियामा लुकेर बसेको जानकारी आए पनि प्रहरीले विदेशबाट ल्याउन सकेको छैन।

यता भारतमा लुकेर बसेका केही आरोपीलाई भने प्रहरीले पक्राउ गर्न सफल भयो। शिवशिखर सहकारी ठगीमा आरोपी केदार शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट पक्राउ गरेको थियो। आधा दर्जन जति सहकारी ठगी आरोपितविरुद्ध रेड र डिफ्युजन नोटिस नै जारी गरेर उनको खोजी गरिएको थियो।

नेपाल प्रहरीले गत आर्थिक वर्षमा ४६ जनालाई रेड नोटिस र १९ जनाविरुद्ध डिफ्युजन नोटिस जारी गरेर खोजी गरिरहेको छ। त्यसमा आधा दर्जन सहकारी ठगीका आरोपितहरू छन्।

आर्थिक वर्ष २०८०/८१ मा २९४ जना सहकारी ठगीमा पक्राउ परेका छन्। तर फरार हुनेको संख्या करिब ४ गुणा रहेको प्रहरीले जनाएको छ। ८५६ जना प्रहरीको खोजी सूचीमा छन्।

आर्थिक वर्ष २०७९/८० मा २ सय ८ जना पक्राउ परेका थिए। तर, फरार आरोपितको संख्या ५५३ थियो। आर्थिक वर्ष २०७८/७९ मा ५० जनालाई प्रहरीले पक्राउ गर्न सफल हुँदा १४९ जना फरार थिए। हालसम्म तीन वर्षमा १ हजार ५ सय ५८ जना फरारको सूचीमा छन्।

275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका