
नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ कम्पनीले यस्तो योजना ल्याएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमा योजना सार्वजनिक गरे ।
नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो । यसको न्यूनतम बीमांक रकम ५ लाख र अधिकतम १ करोड रुपैयाँ छ ।
योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्नेछ । बीमा अवधि न्यूनतम १ वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ ।
योजनामा ऐच्छिक सुविधा पनि न्यूनतम ५ वर्षदेखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिने छ । यस योजनाअन्तर्गत बीमा अवधि भित्र जुनसुकै समयमा बीमितकोे मृत्यु भएमा बीमांक रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए । सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको विचार व्यक्त गरे । जोखिम बहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बीमा योजना सार्वजनिक गरिएको उनको भनाइ छ । यो पोलिसीलाई मूल पोलिसीमा गाभेर बीमितलाई दिन सकिए सानो रकममा ठूलो जोखिम बहन हुने बताए ।
‘सम्पूर्ण अभिकर्तालाई सहजताका साथ यसलाई बजारीकरण गर्न आग्रह छ । कोर प्रोडक्टसँगै गाभेर बजारमा पस्किइएको यो योजना एकदमै प्रभावकारी र उत्तम रहेको र नेपाली बीमा उद्योगमा यो योजना कोसेढुंगा साबित हुने विश्वास छ,’ उनले भने, ‘योजनाको उद्देश्यलाई मूर्तता प्रदान गर्न समस्त अभिकर्ता तथा कर्मचारीहरूलाई अग्रसरताका साथ अगाडि लम्कन आग्रह छ ।’
यो योजनाले थोरै बीमाशुल्कमा धेरै जोखिम बहन हुन्छ । यस बीमा योजना छुट्टै बीमालेखको रुपमा पनि लिनुका साथसाथै अन्य ६ वटा योजनामा पुरक करार सुविधाको रुपमा पनि लिन सकिन्छ । यो योजनाले बीमाको दायरा बढाई हरेक आयस्रोत भएका वर्गमा बीमाको पहूँच पुर्याउँछ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































