बैंकिङ्ग
मुक्तिनाथ विकास बैंक १९औं वर्षमा, वार्षिकोत्सवमा विभिन्न विधागत पुरस्कारसँगै सहयोग
मुक्तिनाथ विकास बैंक लिमिटेडले स्थापनाको अठारौं वर्ष पुरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। बैंकले शुक्रबार केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौं, क्षेत्रीय कार्यालयहरु जनकपुर, नारायणगढ, धादिङ, पोखरा, बुटवल र कोहलपुरमा बृहत् रक्तदान कार्यक्रम गरेको छ।
कार्यक्रममा संकलित ६११ युनिट रगत स्थानीय रक्तसञ्चार केन्द्रहरुलाई हस्तान्तरण गरिएको छ। वार्षिकोत्सवकै अवसरमा, वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम विषयलाई लक्षित गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु राष्ट्रव्यापी चित्रकला प्रतियोगिता गराएको छ।
४ सय ७६ विद्यार्थी सहभागी प्रतियोगितामा सर्वोत्कृष्ट चित्रको सिर्जनाकार जुलेन गुरुङले ५० हजार नगद र प्रमाण पत्र, हरेक क्षेत्रीय कार्यालय अन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही रु. १० हजार नगद र प्रमाण पत्र प्रदान गरिएको बेंकले जनाएको छ।
यस्तै कृषि क्षेत्रमा खोज अनुसन्धान गरी लेख रचना तथा समाचारहरु प्रकाशित गर्ने ३ जना पत्रकारलाई मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारले सम्मानीत गरेको छ। पत्रकारहरु सागर परियार (जुम्ला), कौशिला कुँवर (काठमाडौं) र माधवप्रसाद अर्याल (पाल्पा) ले प्रमाणपत्रसँगै नगद क्रमशः ३५, २५ र १५ हजार रुपैयाँ पाएका छन्।
साथै, बैंकले सातै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छात्रवृत्ति, विभिन्न क्याम्पसहरुमा पुस्तकालय स्थापना तथा भौतिक संरचना निर्माण गर्न सहयोग, विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामग्रीहरु वितरण गरेको छ।
वाग्मती सफाइ महाअभियानलाई सफाइ सामाग्री हस्तान्तरण, गैरनाफा मूलक सामाजिक संस्थाहरुलाई आर्थिक सहयोग, वित्तीय साक्षरता कार्यक्रम संचालन, डिजिटल माध्यमद्वारा बैंकिङ साक्षरता, धार्मिक तथा साँस्कृतिक विकासका लागि आर्थिक सहयोग, स्थानीय निकायहरुसंग सहकार्य गरी सेवाग्राहीको हित हुनेगरी फर्निचर तथा उपकरणहरु हस्तान्तरण लगायत गरेको छ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमको उद्घाटन सञ्चालक समिति अध्यक्ष अध्यक्ष भरतराज ढकालले गरेका थिए। कार्यक्रममा बैंकको हालको अवस्था, प्रगति तथा विभिन्न क्रियाकलापहरु बारेमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल बताएका थिए। कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पुरा गरेका ४१ जना कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा बैंकका सञ्चालकहरु, सेयरधनी, सेवाग्राही तथा कर्मचारीहरुको उपस्थिति थियो।