
खराब कर्जा थुप्रिएर समस्याग्रस्त अवस्थामा पुगेका जानकी फाइनान्स र पोखरा फाइनान्सलाई नेपाल राष्ट्रबैंकले तत्काल कारबाही नगर्ने भएको छ । यी दुवै वित्त कम्पनीको आन्तरिक व्यवस्थापनले नै पछिल्लो समय देखिएका समस्याहरुको व्यवस्थापन गर्न थालेको भन्दै राष्ट्रबैंकले यी दुई संस्थालाई समस्याग्रस्त घोषणा गर्ने र त्यसपछि थप हस्तक्षेपकारी कारबाही गर्ने तयारीबाट पछि हटेको हो ।
‘जानकी फाइनान्स र पोखरा फाइनान्समाथि कारबाही गर्ने भनिएको विषय किन सेलायो ? कहाँ अड्कियो ?’ भन्ने प्रश्नमा राष्ट्रबैंकका प्रवक्ता रामु पौडेलले भनेका छन्–‘पोखरा फाइनान्स, जानकी फाइनान्स लगायतका संस्थाहरुलाई केन्द्रीय बैंकका सम्बन्धित विभागले नजिकबाट नियालिरहेका छन् । त्यो सन्दर्भमा कुनै निर्णयहरु भएको छैन । संस्थाले आफूले म्यानेज गर्दासम्मको अवस्थामा र अलिक गम्भीर समस्या नदेखिएसम्मको अवस्थामा राष्ट्रबैंकले संस्था चलाएर साध्य हुन्न । कर्णालीमा चाहिँ अलिक गम्भीर खालका कुराहरु भेटिएका कारण हामीले हस्तक्षेप गर्नुपरेको थियो । अन्य संस्थाहरु केन्द्रीय बैंकले हस्तक्षेप गर्नैपर्ने अवस्थामा छैनन् ।’
केन्द्रीय बैंकको उच्च व्यवस्थापनमा पोखरा र जानकी फाइनान्स लगायतका कमजोर कम्पनीमाथि कडा कदम चालेरै अगाडि बढ्नुपर्ने आवाज उठे पनि गभर्नर महाप्रसाद अधिकारीले त्यसमा असहमति राख्ने गरेका थिए । उनले कर्णाली डेभलपमेन्ट बैंकमा १३८ करोडको सोझै फ्रड देखिएका कारण त्यो संस्थालाई समस्याग्रस्त घोषित गरी केन्द्रीय बैंकले टेकओभर गर्नुपर्ने कारण प्रस्तुत गर्दै बाँकी कम्पनीहरुमा त्यो खालको गम्भीर समस्या नदेखिएको र संस्थाहरु आफैंले म्यानेज गर्नसक्ने खालका समस्यामै आधारित रहेर समस्याग्रस्त घोषणा गर्नु वा टेकओभर गर्नु गलत रहेको बताउने गरेका छन् । ‘थप संस्थाहरुलाई समस्याग्रस्त घोषणा गरेर प्रणालीमै अत्यासको अवस्था सिर्जना गर्नुभन्दा सम्बन्धित संस्थाहरुलाई मौका दिनुपर्ने लाइनमा गभर्नर हुनुहुन्थ्यो ।’ स्रोत भन्छ –‘जानकी र पोखरा फाइनान्सलाई पनि आन्तरिक समस्या व्यवस्थापनका लागि समय दिइएकोमा उनीहरुले राम्रो गरेको हाम्रो ठहर छ । अझ पोखराले आफूलाई तीव्र गतिमा सुधार गर्न थालेपछि र व्यवस्थापनलाई समेत थप चुस्त बनाई सिर्जित समस्याप्रति सञ्चालकहरु समेत गम्भीर बनेको देखिएपछि थप कारबाही गर्नुपर्ने अवस्था देखिएन ।’
केन्द्रीय बैंकको यो कदमसँगै पोखरा फाइनान्स र जानकी फाइनान्स तत्काल ठूलो नियामकीय कारबाहीबाट जोगिएका छन् । यसले ती कम्पनीका उच्च व्यवस्थापन, सञ्चालकदेखि सेयर बजारका लगानीकर्तासम्मलाई समेत राहात हुने देखिन्छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































