
सार्वजनिक ऋणको आकार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ प्रतिशतभन्दा माथि पुगेको छ। चालु आर्थिक वर्ष सात महिनामा पौने दुई खर्ब थपिएपछि सार्वजनिक ऋण जीडीपीको ४५.७७ प्रतिशत पुगेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष माघसम्ममा सरकारी ऋण २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।
गत असार मसान्तमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकामा सात महिनामा १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँ थपिएको हो। कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५०.८७ र आन्तरिक ऋणको हिस्सा ४९.१३ प्रतिशत छ।
आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब ८१ करोड र बाह्य ऋण १३ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै ७ महिनामा ३६ अर्ब ५९ करोड रुपैयाँ दायित्व थपिएको कार्यालयले जनाएको छ। सरकारले चालु आर्थिक वर्ष ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा २ खर्ब ९० अर्ब ५७ करोड रुपैयाँ उठाएको छ। आन्तरिकतर्फ २ खर्ब २९ अर्ब १५ करोड र बाह्यतर्फ रू ६१ अर्ब ४२ करोड रुपैयाँ ऋण उठाइएको हो।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































