जीवन बीमा
नेपाल लाइफ इन्स्योरेन्सलाई ‘डबल ए माइनस’ रेटिङ, विश्वसनीयता र दायित्व पूर्तिमा अब्बल

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो विश्वसनीयता र वित्तीय बलियोपनका आधारमा उच्च दर्जाको मूल्याङ्कन प्राप्त गरेको छ । रेटिङ एजेन्सि इक्रा नेपालले कम्पनीलाई डबल ए माइनस श्रेणीको मूल्याङ्कन प्रदान गरेको हो । जुन श्रेणीमा पर्ने संस्थाहरूलाई अत्यन्तै उच्च स्तरको सुरक्षा र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ ।
सन् २००१ देखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको नेपाल लाइफले हाल देशभर करिब १९० शाखा विस्तार गरी सुदृढ भौगोलिक उपस्थितिसँगै आफ्नो विश्वासनीय छवि निर्माण गर्न सफल भएको छ । लामो अनुभव भएका सञ्चालक समिति र दक्ष व्यवस्थापन टोलीको संयोजनले कम्पनीलाई अझ सुदृढ बनाएको छ ।
कम्पनी जीवन बीमा क्षेत्रमा सबैभन्दा ठूलो बजार हिस्सा राख्ने कम्पनीका रूपमा स्थापित छ । कम्पनीको कुल बीमा आम्दानीमा २५ प्रतिशतभन्दा बढी अंश रहँदा यसको बजार प्रभावशाली बनेको छ । यही सशक्त उपस्थितिले सञ्चालन दक्षता र नाफामा निरन्तर सहयोग पु-याएको छ ।
कम्पनीको लगानीको गुणस्तर पनि राम्रो मानिएको छ । स्थिर आम्दानी दिने निक्षेप र साधनहरूमा गरिएको लगानीले कम्पनीलाई सुरक्षित प्रतिफल दिलाएको छ । हाल ब्याजदर घट्दो क्रममा भए पनि कम्पनीले झन्डै ९.३ प्रतिशतसम्म औसत ब्याज दर पाएको छ । कम्पनीको करिब ९९ प्रतिशत व्यवसाय बचतमुखी बीमामा आधारित रहेको छ, जसले दीर्घकालीन स्थायित्व र बजारमा बलियो उपस्थिति कायम गर्न सहयोग पु-याएको छ । साथै कम्पनीको सॉल्भेन्सी अनुपात पनि सन्तोषजनक रहँदै आएको छ । मध्य–साउन २०८२ सम्म कम्पनीको सॉल्भेन्सी अनुपात करिब १४५ प्रतिशत रहेको छ, जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम मापदण्ड १३० प्रतिशतभन्दा माथि हो ।
यसका साथै, पर्याप्त पुनर्बीमा व्यवस्था र विपद् कभरेजको व्यवस्था हुनु पनि कम्पनीको बलियो पक्ष मानिएको छ ।हाल कम्पनीका कुल लगानीमध्ये करिब ६८ प्रतिशत वाणिज्य बैंकहरूमा रहेको छ भने केवल ६ प्रतिशत मात्र हिस्सेदारी कारोबार, उद्योग तथा अन्य क्षेत्रमा लगानी गरिएको छ ।कम्पनीले आफ्नो बीमा जोखिम सन्तुलित राख्न पर्याप्त पुनर्बीमा व्यवस्था मिलाएको छ। कम्पनीले नियमित जीवन बीमा योजना, सूक्ष्म बीमा योजना तथा विपद् बीमाका लागि नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल सरकारको स्वामित्वमा रहेको र दोहोरो ए माइनस श्रेणीको मूल्याङ्कन पाएको संस्था) र हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेको छ। सामान्य जीवन बीमाका लागि कम्पनीले प्रति बीमित व्यक्तिमा २ मिलियन रुपैयाँसम्मको जोखिम आफ्नै जिम्मामा राखेको छ, जुन यसको ठूलो स्व–पूँजी सापेक्ष सन्तुलित स्तरमा रहेको मानिन्छ । साथै, सन् २०२५ को मध्य जुलाईसम्म कम्पनीले करिब २ अर्ब ३२ करोड रुपैयाँ बराबरको विपद् कोष सुरक्षित राखेको छ, जुन कम्पनीको व्यवसायिक आकारअनुसार पर्याप्त मानिएको छ ।
यस किसिमको पुनर्बीमा संरचनाले कम्पनीलाई सम्भावित ठूलो दाबी वा आकस्मिक क्षतिबाट सुरक्षित राख्नेछ । यसले कम्पनीको वित्तीय स्थायित्वमा थप भरोसा दिलाउँदै बीमाग्राही र लगानीकर्ताका लागि अतिरिक्त सुरक्षाको भावना प्रदान गरेको छ ।नेपाल लाइफले विगतदेखि नै बीमा व्यवसायमा पारदर्शिता, ग्राहक विश्वास र जिम्मेवार बीमा सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको छ । यसले कम्पनीलाई दीर्घकालीन रुपमा विश्वसनीय बीमा संस्था बनाएको छ । नयाँ मूल्याङ्कनले पनि यही विश्वासलाई थप दृढ बनाएको छ । उच्च श्रेणीको मूल्याङ्कनले कम्पनीको वित्तीय स्थायित्व, लगानी क्षमता र दायित्व पूरा गर्ने क्षमतालाई पुष्टि गरेको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































