
फागुन महिनामा पनि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउने क्रम जारी राखेका छन्। लगातार बढ्दो निक्षेप र कर्जाको माग नबढेको अवस्थाले बैंकहरूलाई मुद्दती निक्षेपको ब्याजदर कम गर्न प्रेरित गरेको हो।
२० वटा वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत ४.५७ प्रतिशतमा झरेको छ। माघ महिनाको ४.६८ प्रतिशतको तुलनामा ०.११ प्रतिशत बिन्दुले कम हो। २० बैंक मध्ये ९ बैंकले आफ्नो ब्याजदर घटाएका छन् भने बाँकीले यथावत राखेका छन्।
संस्थागत मुद्दती निक्षेपको ब्याजदरको क्याप खारेज भएपछि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाउने बाटो खुला भएको छ। साथै, राष्ट्र बैंकले नीतिगत दर घटाउँदा बैंकहरूलाई ब्याजदर घटाउन थप प्रोत्साहन मिलेको छ।
बैंकहरूसँग अहिले साढे १२ खर्ब रुपैयाँभन्दा बढी तरलता छ, तर निजी क्षेत्रको कर्जा माग कमजोर भएकोले बैंकहरूले लागत घटाउने र मुद्दती निक्षेपको ब्याजदर कम गर्ने अवस्था रहेको बैंकरहरू बताउँछन्। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निजी क्षेत्रको कर्जा विस्तार ४ प्रतिशतभन्दा कम मात्र भएको छ।
व्यक्तिगत मुद्दती निक्षेपमा केवल ५ बैंकले ५ प्रतिशत वा सोभन्दा माथि ब्याजदर प्रस्ताव गरेका छन्। धेरैजसो बैंकले लामो अवधिका निक्षेपमा मात्र उच्च ब्याजदर दिने गरेको देखिन्छ। जसको औसत ब्याजदर नै ४.५७ प्रतिशतमा झरेको हो। ६ महिना वा १ वर्षभन्दा कम अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ प्रतिशतभन्दा पनि तल छ।
गभर्नर डा. विश्वनाथ पौडेलले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिमार्फत नीतिगत दरहरू घटाएका थिए। उनले विशेष गरी ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दर ०.२५ प्रतिशत बिन्दुले घटाएर २.७५ प्रतिशत बनाएका थिए। जसले बैंकहरूलाई ब्याजदर घटाउन थप प्रोत्साहन गरेको हो। उनले नीतिगत दर र बैंकदर समेत घटाएका थिए।
हाल सञ्चालनमा रहेका २० मध्ये नेपाल बैंकले मात्रै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.१ प्रतिशत प्रस्ताव गरेको छ। हिमालयन, राष्ट्रिय वाणिज्य, एनआईसी एशिया र एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर फागुनका लागि ५ प्रतिशत प्रस्ताव गरेका छन् । माघमा पनि ५ प्रतिशत रहेका यी बैंकले फागुनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका हुन्।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































