
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीमा ‘मालिक’ बन्न चाहनेहरूका लागि कुनै स्थान नभएको स्पष्ट पारेका छन्। पार्टीका केही नेता तथा सांसदहरूले पछिल्लो समय दिएका विवादित अभिव्यक्तिप्रति लक्षित गर्दै उनले रास्वपा सेवकहरूको मात्रै पार्टी भएको बताएका हुन्। लामिछानेले पार्टीभित्र कसैलाई पनि अहंकार देखाउने छुट नभएको उल्लेख गर्दै भने, “जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन, हामी सेवक हौं। यो हेक्का सबैलाई हुनुपर्छ। मालिक हुन मन हुनेहरूका लागि अर्कै ठाउँ होला।”
सांसदहरूको बचाउ र स्पष्टीकरण
पछिल्लो समय रास्वपाका सांसदहरू विश्वराज पोखरेल र खगेन्द्र सुनारका अभिव्यक्तिलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेका थिए। सभापति लामिछानेले यी दुवै विषयमा पार्टीले आन्तरिक रूपमा छलफल गरिरहेको र विवाद सुल्झाउने प्रयास भइरहेको बताएका छन्। सांसद खगेन्द्र सुनारको सन्दर्भमा लामिछानेले दलित समुदायको पीडा र आक्रोशलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे। “वर्षौंदेखि दमित र प्रताडित समुदायको आवाज अलिकति चर्को हुन्छ, त्यसलाई झर्को मान्नु हुँदैन,” उनले भने। पीडाको अभिव्यक्तिलाई सुन्नुपर्ने भए पनि सबैले एउटा निश्चित मर्यादाको दायरा भने पालना गर्नुपर्ने उनको तर्क थियो।
अर्का सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको विवादित विषयमा सार्वजनिक रूपमा माफी मागिसकेको लामिछानेले जानकारी दिए। उनले भने, “उहाँको क्षमा आइसकेको छ, यसलाई सबैले त्यसरी नै ग्रहण गर्नुपर्छ। यस्ता विषयले अरू साथीहरूलाई पनि सचेत गराउनेछ।”
अनुशासन आयोगले हेर्दै
सभापति लामिछानेले सार्वजनिक रूपमा माफी मागे पनि पार्टीले यस्ता विषयलाई हल्का रूपमा नलिएको दाबी गरे। “पार्टीले यी विषयलाई मिहीन ढंगले हेरिरहेको छ र अनुशासन आयोगले पनि आफ्नो काम गरिरहेको छ,” उनले थपे। सबैले आफ्नो जिम्मेवारी बुझेमा भविष्यमा यस्ता विवादित अभिव्यक्तिहरू नदोहोरिने उनले विश्वास व्यक्त गरे।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































