
सामाजिक सुरक्षा कोषले आफ्नो कोषमा सङ्कलित ठुलो परिमाणको रकमलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न जलविद्युत्, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगलाई प्राथमिकताको क्षेत्र निर्धारण गरेको छ। जेठ २० गतेसम्म कोषमा एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार रुपैयाँ योगदान रकम जम्मा भइसकेकाले बैंक तथा वित्तीय संस्थामा मात्र रकम राख्दा देशको आर्थिक विकासमा योगदान नपुग्ने निष्कर्ष निकाल्दै कोषले लगानी विविधीकरणको नीति अख्तियार गरेको हो। कोषका निर्देशक रोहित रेग्मीका अनुसार सरकारी स्वामित्वका कम्पनीहरूसँग मिलेर जलविद्युत् परियोजनाहरूमा सहवित्तीयकरण मार्फत लगानी अगाडि बढाउन हाल प्राप्त प्रस्तावहरूमाथि छलफल भइरहेको छ।
कोषले ऊर्जाका साथै स्वदेशमै क्लिङ्कर उत्पादन गरी सिमेन्ट उत्पादन गर्ने परियोजना, पर्यटन, निर्माण, सूचना प्रविधि, सेवामूलक र कृषि क्षेत्रमा पर्याप्त धितो वा जमानी लिई संस्थागत कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ। तर, २० मेगावाटभन्दा कम क्षमताका विद्युत् परियोजना, निजी कम्पनीबाट सञ्चालित आयोजना, विद्युत् प्राधिकरणसँग खरिद सम्झौता स्पष्ट नभएका र कम्तीमा ३० प्रतिशत स्वपुँजी (इक्विटी) नभएका परियोजनामा भने लगानी नगर्ने स्पष्ट नीति लिएको छ। हालसम्म २३ हजार ४७६ रोजगारदाता र २९ लाख ५८ हजार ४२९ योगदानकर्ता सूचीकृत भइसकेको यस कोषले औषधि उपचार, दुर्घटना, आश्रित परिवार र अवकाश दाबी अन्तर्गत कुल २० अर्ब ४५ करोड २६ लाख १० हजार ७३८ रुपैयाँ भुक्तानी गरिसकेको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































