जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • औद्योगिक कर्जामा बागमतीकै वर्चस्व

औद्योगिक कर्जामा बागमतीकै वर्चस्व

 नेपालका बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशमा केन्द्रित भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्मको तथ्यांकअनुसार कुल औद्योगिक कर्जाको ७२.२२ प्रतिशत अर्थात् १२ खर्ब ८४ अर्ब ३० करोड रुपैयाँ बागमती प्रदेशमा मात्रै लगानी भएको छ । यसको विपरीत कर्णाली प्रदेशमा सबैभन्दा कम ४ अर्ब ४१ करोड रुपैयाँ (०.२५ प्रतिशत) मात्र कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार अन्य प्रदेशहरूमा कोशीको हिस्सा ९.२२ प्रतिशत, मधेशको ७.२२ प्रतिशत, लुम्बिनीको ७.९१ प्रतिशत, गण्डकीको १.६२ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.५५ प्रतिशत रहेको छ । समग्रमा औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा गत वर्षको पुसको तुलनामा ७.९९ प्रतिशतले वृद्धि भई १७ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.६६ प्रतिशतले बढेको थियो । हाल कुल बैंक कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा ३०.८२ प्रतिशत कायम भएको छ ।

क्षेत्रगत रूपमा औद्योगिक कर्जातर्फ गैर-खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगले सबैभन्दा बढी ३५.६७ प्रतिशत हिस्सा ओगटेका छन् । त्यसैगरी विद्युत, ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६.६२ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २०.६४ प्रतिशत, निर्माण क्षेत्रमा १२.२६ प्रतिशत, धातुजन्य उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ४.१४ प्रतिशत र खानीसम्बन्धी उद्योगमा ०.६७ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।

अर्कोतर्फ, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा देशभर साना, मझौला र ठूला गरी कुल ४ सय ६१ नयाँ उद्योग दर्ता भएका छन् । यसमा पनि बागमती प्रदेशमै सबैभन्दा बढी ३ सय ६३ उद्योग दर्ता भएका छन् भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ४ वटा मात्रै उद्योग दर्ता भएका छन् । समीक्षा अवधिमा दर्ता भएका यी नयाँ उद्योगहरूमा ५५ अर्ब ८३ करोड रुपैयाँ प्रस्तावित विदेशी लगानी रहेको छ, जसबाट २२ हजार ८ सय ८५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर