जोडिनुहोस
सोमवार, असार १, २०८३
सोमवार, असार १, २०८३
  • होमपेज
  • बीमा इतिहासकै ठूलो घोटाला: ४२ जनाविरुद्ध मुद्दा दायर

बीमा इतिहासकै ठूलो घोटाला: ४२ जनाविरुद्ध मुद्दा दायर

नेपालको बीमा इतिहासकै सबैभन्दा ठूलो घोटाला काण्डको छानविन टुंग्याउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ। नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्षद्वय मदन दाहाल र शरद ओझासहित ४२ जनाविरुद्ध बीमा ऐन २०७९ अन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको हो। नियामकीय अधिकारको दुरुपयोग तथा स्वविवेकीय अधिकारको गलत प्रयोग गरी वित्तीय अपराधमा सहयोग गरेको अभियोग उनीहरूमाथि लगाइएको छ।

अभियोगपत्रका अनुसार पूर्वअध्यक्षद्वयले मुख्य अभियुक्तहरू दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा लगायतका अन्य अभियुक्तहरूसँग मिलेर नियामकीय त्रुटि गर्दै मतियारको भूमिका खेलेका थिए। यस घोटालामा हिमालयन रि इन्स्योरेन्स कम्पनीको ३ अर्ब रुपैयाँभन्दा बढी रकम दुरुपयोग गरी व्यक्तिगत रूपमा शेयर खरिद गरिएको, नेपाल पुनर्बीमा कम्पनीलाई नीतिगत चपेटामा पारेर शेयर सेटिङमार्फत कब्जा गर्न खोजिएको तथा विभिन्न माइक्रो इन्स्योरेन्स कम्पनीहरूको पैसा दुरुपयोग गरी आन्तरिक शेयर कारोबार गरिएको सिआईबीको अनुसन्धानले देखाएको छ।

अनुसन्धानका क्रममा हिमालयन रि इन्स्योरेन्स कम्पनीमा २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा १६ करोड १७ लाख ४२ हजार ८७३ रुपैयाँ गरी कुल २ अर्ब ८९ करोड ५० लाख ६८ हजार ३३ रुपैयाँ ९१ पैसा क्षति पुर्‍याएको पुष्टि भएको छ। प्रतिवादीहरूले हिमालयन इन्भेष्टमेन्ट बैंकर, हिमालयन सेक्युरिटिज, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो, गार्डियन माइक्रो लाइफ, लिबर्टी माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीमार्फत करोडौँ मूल्यको शेयर खरिद र चलखेल गरेको पाइएको छ।

काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको मुद्दामा हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छा, लगानीकर्ता दीपक भट्ट, शंकर ग्रुप तथा हिमालयन लाइफका अध्यक्ष सुलभ अग्रवाल, सीईओ उपासना पौडेल, नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ, सीईओ मृगेन्द्र नाथ रिमाल, जावलाखेल डिस्टीलरीका मालिक विजय बहादुर शाह, विभिन्न इन्भेष्टमेन्ट र सेक्युरिटिजका सञ्चालकहरू तथा शेयर कारोबारीहरूसहित ४२ जनालाई दोषी दाबी गर्दै प्रतिवादी बनाइएको छ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

छुटाउनु भयो कि?