
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै सरकारको कार्यशैली, सीमा विवाद र पार्टीको आन्तरिक राजनीतिका विषयमा महत्वपूर्ण प्रष्टीकरण दिएका छन् । संक्षिप्त तर आक्रामक सम्बोधनका क्रममा उनले सरकारमाथि भइरहेका आलोचनाको खण्डन गर्दै विपक्षी दलहरूलाई कडा जवाफ फर्काए ।
प्रधानमन्त्री शाहले एमाले नेता प्रदीप ज्ञवालीको आलोचनाप्रति लक्षित गर्दै सरकारको गाडी लोकल सडकमा नभई ‘एक्सप्रेस-वे’ मा हिँडिरहेकाले गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने दाबी गरे । त्यस्तै, जनमत हावाजस्तै बदलिने अघिल्ला वक्ताहरूको भनाइलाई प्रतिवाद गर्दै रास्वपाले सानो हावा मात्र नभई बाढी ल्याएर खोला नै फर्काएकाले जनमत स्थिर रहने जिकिर गरे ।
संसदमा आफ्नो ‘नेपालले भारतको जमिन मिचेको’ भन्ने विवादित अभिव्यक्ति र सीमा विवाद समाधानका लागि बेलायतको मध्यस्थता खोजिएको भनी भइरहेको आलोचनाको पनि उनले प्रष्टीकरण दिए । आफूहरूले बेलायतलाई मध्यस्थकर्ता बनाउन नखोजेको बरु ब्रिटिसकालीन प्रमाण मात्र ल्याउन खोजेको भन्दै आफ्नो राष्ट्रियतामाथि शङ्का नगर्न उनले आग्रह गरे । यस्तै, राहदानी विभागका महानिर्देशक पक्राउ पुर्जी प्रकरणमा अख्तियारको टोलीलाई सचिवालयमा नियन्त्रणमा राखिएको घटना स्वीकार गर्दै उनले सरकारी रकम दोहन रोक्न अख्तियारसँग पाँच घण्टा मात्र नभई आवश्यकता परे पाँच वर्षसम्म छलफल गर्न तयार रहेको बताए ।
पार्टीको महाधिवेशन र आन्तरिक निर्वाचनतर्फ केन्द्रित हुँदै प्रधानमन्त्री शाहले केन्द्रीय सदस्य चयनका क्रममा कुनै पनि हालतमा गुटबन्दी नगर्न प्रतिनिधिहरूलाई सचेत गराए । साथै, पराजित हुनेहरूलाई निराश नहुन आग्रह गर्दै यो एकल पार्टीको सरकार भएकाले हरेक सदस्य र समर्थक प्रधानमन्त्री सरह रहेको बताए । उनले यसै कार्यकालमा सहकारी र सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्ने र अर्को चुनावमा नयाँ एजेन्डा लिएर जनतामा जाने दाबी समेत गरे ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































