जोडिनुहोस
बिहिबार, फाल्गुन ७, २०८२
बिहिबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • उच्च महत्वाकाँक्षामा दलहरुको घोषणापत्र

उच्च महत्वाकाँक्षामा दलहरुको घोषणापत्र

प्रमुख राजनीतिक दलहरुले आशन्न निर्वाचनलाई लिएर उच्च महत्वकाँक्षाको घोषणापत्र सार्बजनिक गरेका छन् । उनीहरुले अर्थतन्त्रलाई फोकस गरेपनि कतिपय विषय असम्भव देखिन्छन् । नेपाली कांग्रेसले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार ११५ खर्ब रुपैयाँ नाघाउने लक्ष्य लिएको छ। उसले ५ वर्षमा १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने र सूचना प्रविधि क्षेत्रबाट रोजगारी सिर्जना गर्ने योजना बनाएको छ । कांग्रेसले फार्म टु फ्याक्ट्रीु अभियान चलाउने र त्रिविविलाई राष्ट्रिय विश्वविद्यालय बनाउने पनि बताएको छ । काँग्रेसले १० बुँदे घोषणापत्रमा आर्थिक विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, र भ्रष्टाचार नियन्त्रण जस्ता विषय उल्लेख गरेको छ । निजी क्षेत्रलाई गाली गरेर दलालको ट्याग लगाउनु नहुने भन्दै कानुनको दायरामा बसेर नाफा कमाउनेलाई सम्मान गर्नुपर्ने जनाइएको छ । काठमाडौं–हेटौंडा जोड्ने सडक एक वर्षभित्र सबै समय आवागमन नरोकिने गरी स्तरोन्नतिको घोषणा गरिएको छ । पूर्वपश्चिम राजमार्ग विस्तार सम्पन्न, द्रुतमार्ग निर्माण सम्पन्न, बीपी राजमार्ग पुनर्निर्माणलाई गति दिनेसमेत कांग्रेसको घोषणापत्रमा छ ।

काँग्रेसले नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउने नभई नीतिगत सुधार आवश्यक रहेको बताएको छ । यसका लागि १० लाखसम्मको आम्दानीमा कर नलगाइने उल्लेख छ । यसको संस्थागत सीमा २० प्रतिशतमा झार्ने सभाति थापाले बताए । नेपालमा निजी क्षेत्र भन्नाले केही अनुहार मात्र हेरेर व्यवहार गर्ने प्रवृत्ति रहेको भन्दै यसलाई चिर्नुपर्ने उनको भनाइ छ । भृकुटीमण्डपको चिया पसलदेखि हातहातमा क्यामरा–मोबाइल लिएका युट्युबरहरू समेत निजी क्षेत्रको एक हिस्सा रहेको उनले बताए । कांग्रेसले आफ्नो सरकार बनेको तीन महिना भित्रै नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता सभापति थापाले दोहोर्‍याए । कांग्रेसले बढ्दो बेरोजगारी र युवा पलायनलाई रोक्न आगामी पाँच वर्षभित्र १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ। श्रम बजारमा वर्षेनी भित्रिने ३ देखि ५ लाख जनशक्तिलाई स्वदेशमै मर्यादित रोजगारी दिने कांग्रेसले उल्लेख गरेको छ ।

नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब बनाउने लक्ष्य राखेको छ। उसले ५ वर्षभित्र ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने दाबी गरेका छन्। एमालेले ७ देखि ९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ। एमालेले समृद्धिका २५ वटा स्तम्भहरू पहिचान गरेको छ, जसमा स्वदेशमै रोजगारी, स्वदेशमै आधुनिक खेती, उन्नत व्यवसाय, स्वच्छ ऊर्जा र हरित विकास जस्ता विषयहरू समावेश छन्। उनीहरूले महिला उद्यमीलाई २० लाखसम्म निर्ब्याजी ऋण र ५ लाखको निशुल्क जीवन बीमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । एमालेले आगामी ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सम्मान स्वरुप वार्षिक ५ हजार रुपैयाँ बैंक खातामा थपिदिने प्रतिबद्धता जनाएको छ । एमालेको घोषणापत्रमा कृषिको आधुनिकीकरण गर्ने, लगानीमैत्री तथा उत्पादनमैत्री नीतिहरू लागू गर्ने, वित्तीय क्षेत्रको पुँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, पुँजी बजारको विकास र सुदृढीकरण गर्दै आन्तरिक तथा बाह्य पुँजी आकर्षित गर्ने एमालेको योजना छ ।

आर्थिक वृद्धिमा गुणात्मक प्रभाव पार्ने क्षेत्रमा राज्यको लगानी बढाउने, बजेटको प्रभावकारी कार्यान्वयन, समयपालना र गुणस्तर सुनिश्चित गर्ने, राष्ट्रिय प्राथमिकताका आयोजना कार्यान्वयनका लागि मात्र सार्वजनिक ऋण लिने र सार्वजनिक ऋण राष्ट्रिय सामर्थ्यभन्दा बढी हुन नदिने एमालेको घोषणापत्रमा उल्लेख छ । नेकपा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प दोहोराएको छ, बबई, भेरी–बबई, सुनकोशी–मरिन, रानी जमरा, सिक्टासहित सिँचाइ आयोजना निर्माण सक्ने घोषणा गरेको छ । पूर्वपश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेमा स्तरोन्नति गर्ने, मध्यपहाडी राजमार्गलाई डेडिकेटेड डबल लेन स्तरमा निर्माण गरिने एमालेको लक्ष्य छ । एमालेले आफ्नो दस्तावेजलाई विकास, समृद्धि र स्थायित्वको आधारका रूपमा अघि सारेको जनाएको छ । घोषणापत्रअनुसार प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा पहुँच विस्तार गर्न र दक्ष जनशक्ति उत्पादनलाई प्रोत्साहन गर्न उक्त निर्ब्याजी ऋण योजना लागू गरिने उल्लेख छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी ५ वर्षमा औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने लक्ष्य राखेको छ। उसले सूचना प्रविधिलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्दै आगामी दशकलाई ऊर्जा विकास दशक घोषणा गरी ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना बनाएको छ । सो पार्टीले १० वर्षमा आईटी निर्यात ३० अर्ब डलर पुर्याउने र सातै प्रदेशमा डिजिटल पार्कमार्फत ५ लाख रोजगारी सिर्जना गर्ने दाबी गरेको छ । जसमा विदेशी लगानी भित्र्याउन र मुनाफ लैजान सरल नीति बनाउने तथा बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने उल्लेख छ । विदेशमा रहेका नेपालीहरूको पूँजीलाई ‘डलर खाता’ को सहजता र प्रतिफललाई सहज फिर्ता लान सक्ने कानुनी प्रावधानसहित ‘राष्ट्रिय ज्ञान बैंक’ स्थापना गर्ने योजना रास्वपाको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गर्दै सुशासन र नीतिगत सुधारलाई जोड दिएको छ । सुर्खेतमा आयोजित आमसभामा पार्टीका शीर्ष नेताहरूले वाचापत्र घोषणा गरेका हुन् ।

रास्वपाले नेपालको परम्परागत अर्थतन्त्रलाई रूपान्तरण गर्दै प्रविधि, उत्पादन र रोजगारीमा आधारित द्रुत आर्थिक विकास गर्ने बताएको छ । वाचापत्रमा आगामी पाँच वर्षभित्र वार्षिक औसत ७ प्रतिशतको स्थिर आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । पाँचदेखि सात वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३,००० अमेरिकी डलर नाघ्ने र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुर्‍याउने उल्लेख छ । सरकार गठन भएको १ सय दिनभित्र सहकारीका साना बचतकर्ताको बचत खातामा फिर्ता गर्नेसमेत रास्वपाको घोषणा छ । सूचना प्रविधि क्षेत्रबाट अहिलेको १ अर्ब ५० करोड डलरको निर्यात १० वर्षभित्र ३० अर्ब डलर पुर्‍याउने लक्ष्य समेत रास्वपाले राखेको छ । विदेशी लगानी भित्र्याउन र मुनाफ लैजान सरल नीति बनाउने तथा बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने जनाइएको छ । साथै विदेशमा रहेका नेपालीहरूको पूँजीलाई ‘डलर खाता’ को सहजता र प्रतिफललाई सहज फिर्ता लान सक्ने कानुनी प्रावधानसहित ‘राष्ट्रिय ज्ञान बैंक’ स्थापना गर्ने योजना पत्रमा उल्लेख गरिएको छ ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका