जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३

आर्थिक विशेष

अब घरैबाट पेन्सन नवीकरण

अब घरैबाट पेन्सन नवीकरण

सरकारले निवृत्तभरण (पेन्सन) व्यवस्थापन प्रणालीलाई पूर्णतः प्रविधिमैत्री बनाउँदै साढे तीन लाखभन्दा बढी सेवानिवृत्त राष्ट्रसेवकहरूको झन्झट अन्त्य गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच महालेखा नियन्त्रक कार्यालयद्वारा विकसित ‘ई-पेन्सन प्रमाणिकरण’ को विधिवत् शुभारम्भ गरे । यो प्रणालीको सुरुवातसँगै अब निवृत्तभरण पाइरहेका पूर्व कर्मचारीहरूले वार्षिक रूपमा बैंकमा भौतिक रूपमा उपस्थित भई आफू जीवित रहेको प्रमाणिकरण (नवीकरण) गर्नुपर्ने बाध्यता हटेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार अब निवृत्तभरण व्यवस्थापन कार्यालयको वेबसाइट मा गएर आईपीएमएस भीटु बटनमा क्लिक गरी निवृत्तभरकहरूले घरैबाट पेन्सनसम्बन्धी सेवा लिन सक्नेछन् । नयाँ पेन्सनवालाहरूले पनि आफूलाई पायक पर्ने बैंकमा खाता खोल्नका लागि अब निवृत्तभरण व्यवस्थापन कार्यालय धाइरहनु पर्ने छैन । प्रणाली प्रयोग गर्न असहज हुनेहरूका लागि सोही प्रणालीमा ट्यटोरियल समेत उपलब्ध गराइएको छ, जसले गर्दा सेवाग्राहीले सजिलै अनलाइन प्रक्रिया पूरा गर्न सक्नेछन् ।

यो प्रणाली लागू भएपछि सरकारले बैंकहरूलाई तिर्दै आएको ठूलो रकम कमिसन बचत हुने भएको छ । यसअघि पेन्सन वितरण र व्यवस्थापनका लागि सरकारले वार्षिक औसत १५ करोड रुपैयाँ बैंक कमिसनका रूपमा खर्च गर्दै आएको थियो, जुन अब शून्यमा झर्ने अपेक्षा गरिएको छ । यस्तै, पेन्सनको गणना र कर कट्टी गर्दा हुने मानवीय त्रुटिहरू अब पूर्ण रूपमा हट्नेछन् । यसले सरकारी ढुकुटीको नगद प्रवाहको पूर्वानुमान गर्न र चाप व्यवस्थापन गर्न समेत मद्दत पुग्ने अर्थ मन्त्रालयले जनाएको छ ।

यस प्रणालीबाट हाल निवृत्तभरण लिइरहेका कुल ३ लाख ५२ हजार ८१६ जना (४४ हजार निष्क्रिय रहेका समेत) सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । यसमा निजामती, शिक्षक, नेपाली सेना र नेपाल प्रहरीका पूर्व कर्मचारीहरू समेटिएका छन् ।

यसअघि नयाँ निवृत्तभरकहरू बैंक छनोट गर्नका लागि मात्रै पनि अनिवार्य रूपमा निवृत्तभरण व्यवस्थापन कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता थियो । त्यस्तै, पेन्सन पाइरहेकाहरूले पनि हरेक वर्ष बैंकमा गएर औँठा छाप लगाएर आफू जीवित रहेको प्रमाण पेश नगरे पेन्सन रोकिने अवस्था थियो । अब यो सबै प्रक्रिया अनलाइन र स्वचालित भएपछि वृद्धवृद्धा र अशक्त सेवानिवृत्त कर्मचारीहरूलाई ठूलो राहत मिलेको छ ।

शुभारम्भ कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले सरकारी सेवालाई थप सरल, सहज र नागरिकमैत्री बनाउने उद्देश्यले यो प्रविधि ल्याइएको बताए । उनले यसबाट सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे ।

310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका