जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री बैंकिङका लागि राष्ट्र बैंकको नयाँ निर्देशिका

अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री बैंकिङका लागि राष्ट्र बैंकको नयाँ निर्देशिका

नेपाल राष्ट्र बैंकले बैंकिङ सेवालाई थप समावेशी र ग्राहकमुखी बनाउने उद्देश्यले सरल बैंकिङ सम्बन्धी विशेष व्यवस्था कार्यान्वयनमा ल्याएको छ । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना सेवाहरू सबै वर्गका नागरिकका लागि सहज बनाउनुपर्ने उद्देश्यका साथ राष्ट्र बैंकले एकीकृत निर्देशनमा यस्तो प्रावधान राखेको हो । यस व्यवस्थाअन्तर्गत खासगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र साक्षर नभएका ग्राहकहरूलाई प्राथमिकता दिँदै बैंकिङ सुविधा उपलब्ध गराउनु पर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

हालसम्म ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूले विशेष काउन्टर तोक्नुपर्ने र स्थानीय तहमा पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एउटा शाखा र एटीएम लाउन्ज अपाङ्गमैत्री बनाउनुपर्ने प्रावधान थियो । नयाँ व्यवस्थाले यसलाई थप परिष्कृत गर्दै अपांगमैत्री शाखा र एटीएमहरूको विवरण बैंकले आफ्नो वेबसाइटमा अनिवार्य रूपमा राख्नुपर्ने नियम ल्याएको छ । प्रविधि प्रयोगको हकमा पनि राष्ट्र बैंकले नयाँ मापदण्ड तोकेको छ, जसअनुसार अब अपाङ्गता भएका व्यक्तिहरूले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरू आफैं प्रयोग गर्न सक्षम रहेको स्वघोषणा गरेमा बैंकले ती सुविधाहरू उपलब्ध गराउनुपर्नेछ ।

बैंकहरूले जारी गर्ने डेबिट र क्रेडिट कार्डहरू स्पर्श गरेर चिन्न सकिने हुनुपर्नेछ भने एटीएमहरूमा ब्रेल सांकेतिक बटन र अडियो सपोर्ट अनिवार्य गरिएको छ । यसैगरी बैंकका वेबसाइट र मोबाइल एपहरू दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत सहजै प्रयोग गर्न सक्ने गरी विकास गर्न निर्देशन दिइएको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले मुलुकभरका सबै जनतालाई बैंकिङ सेवामा सहज पहुँच पुर्‍याउनु नै यसको मुख्य उद्देश्य रहेको बताएका छन् । यो व्यवस्थासँगै बैंकिङ प्रणाली थप समावेशी बन्ने र फरक क्षमता भएका व्यक्तिहरूले पनि सजिलै सेवा लिन सक्ने वातावरण सिर्जना हुने उनको भनाइ छ । प्रवक्ता पौडेलका अनुसार यस व्यवस्थाले डिजिटल साक्षरताको कमीले हुने डिजिटल डिभाइडलाई कम गर्नुका साथै आम सर्वसाधारणमा बैंकिङ प्रणालीप्रति अपनत्व बढाउने र उनीहरूलाई सुरक्षित महसुस गराउने विश्वास लिइएको छ ।

150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका