
नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको सङ्ख्या थप गर्न सांसदहरूले राष्ट्र बैंक ऐनमा संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रतिनिधि सभामा दर्ता भएको संशोधन विधेयकमा डेपुटी गभर्नरको सङ्ख्या दुईबाट बढाएर तीन पुर्याउने र थपिने तेस्रो डेपुटी गभर्नर राष्ट्र बैंक बाहिरका विज्ञबाट नियुक्त गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशील खड्का, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्ल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले छुट्टाछुट्टै रूपमा यस्तो संशोधन प्रस्ताव दर्ता गराएका हुन् । संसद् सचिवालयका अनुसार राष्ट्र बैंक ऐन संशोधन विधेयकमा जम्मा १८ जना सांसदले संशोधन दर्ता गराएका छन् ।
सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावमा राष्ट्र बैंकको सञ्चालक समितिलाई थप समावेशी बनाउनुपर्ने माग पनि गरिएको छ । हाल सात सदस्य रहने सञ्चालक समितिलाई बढाएर नौ सदस्यीय बनाउने र त्यसमा कम्तीमा एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने प्रस्तावमा उल्लेख छ ।
हालको व्यवस्था अनुसार राष्ट्र बैंकका अधिकृत विशिष्ट श्रेणी (कार्यकारी निर्देशक) हरूमध्येबाट गभर्नरले रिक्त पदको दोब्बर सङ्ख्यामा सिफारिस गर्ने र त्यसमध्येबाट मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने प्रावधान छ । गत फागुनमा दुवै डेपुटी गभर्नरको पद रिक्त भए पनि सरकारले हालसम्म एक जनालाई मात्र नियुक्त गरेको छ भने अर्को पद अझै खाली रहेको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार



















































