
नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकहरूको सन्तुष्टिको स्तर मापन गरी सेवा प्रवाह र नियामकीय व्यवस्थामा सुधार गर्ने उद्देश्यले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सुरु गर्ने भएको छ। यस सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रति ग्राहकहरूको धारणा र अनुभव संकलन गरिने राष्ट्र बैंकले जनाएको छ। सर्वेक्षणबाट प्राप्त नतिजाले आगामी दिनमा नीति, कार्यक्रम र नियामकीय व्यवस्थामा आवश्यक सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
देशका ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तह समेटी ‘र्यान्डम साम्पलिङ’ विधिबाट वडा छनोट गरी कुल १० हजार ४०५ वटा नमुना संकलन गर्ने योजना राष्ट्र बैंकको छ। सर्वेक्षणलाई प्रभावकारी, विश्वसनीय र यथार्थपरक बनाउन राष्ट्र बैंकले सम्बन्धित सबै पक्षलाई निष्पक्ष रूपमा आवश्यक जानकारी उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको छ। सर्वेक्षणमा सहभागिता पूर्ण रूपमा स्वेच्छिक हुनेछ भने सहभागीले असहज लागेका प्रश्नको उत्तर दिन अस्वीकार गर्न सक्ने व्यवस्था मिलाइएको छ। संकलित सबै विवरण तथ्याङ्क ऐन, २०७९ बमोजिम गोप्य राखिने र केवल सामूहिक तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने स्पष्ट पार्दै राष्ट्र बैंकले आम सर्वसाधारण र सरोकारवाला निकायलाई यो कार्य सफल बनाउन अनुरोध गरेको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































