कर्पाेरेट
४२ वर्ष पूरा गर्दै ‘बैंकिङ एन्ड बियोन्ड’ यात्रामा नबिल बैंक, एआई–आधारित बैंकिङमा जोड

नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंकले स्थापना भएको ४२ वर्ष पूरा गर्दै ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणासहित नयाँ चरणको यात्रा सुरु गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले परम्परागत बैंकिङ सेवाभन्दा माथि उठेर प्रविधिमैत्री, समावेशी र भविष्य–उन्मुख वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले ‘विश्वास हाम्रो सम्पत्ति, नवप्रवर्तन हाम्रो डीएनए’ रहेको उल्लेख गर्दै विगत चार दशकमा नबिलले परिवर्तनको प्रतीक्षा नगरी बैंकिङ क्षेत्रको नेतृत्व गरेको बताए।
उनका अनुसार नबिलले नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा आधुनिक बैंकिङको आधार निर्माण गरेको मात्र नभई ‘एनबैंक एपमार्फत डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्याएको छ। उनले नबिल अहिले वाणिज्य बैंकिङ, लगानी बैंकिङ, स्टक ब्रोकिङ, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहित एउटै छानामुनि पूर्ण वित्तीय इकोसिस्टम उपलब्ध गराउने नेपालको एकमात्र वित्तीय समूह भएको दाबी गरे।
अध्यक्ष चौधरीले अबको बैंकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रित हुने बताउँदै ‘एनबैंक’को आगामी विकासमा एआईलाई मुख्य आधार बनाइने जानकारी दिए। एआईको प्रयोगबाट कर्जा स्वीकृति, जोखिम व्यवस्थापन, ग्राहक अनुभव, वित्तीय समावेशीकरण तथा साइबर सुरक्षामा थप सुधार आउने उनको भनाइ छ। उनले बैंकिङ केवल वित्तीय कारोबार नभई नागरिकका सपना साकार पार्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने र देशको आर्थिक विकासमा योगदान पुर्याउने माध्यम भएको उल्लेख गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले १९८४ मा सुरु भएको नबिलको यात्रा आज लाखौं ग्राहकको विश्वास र हजारौं कर्मचारीको समर्पणका कारण यो उचाइमा पुगेको बताए। बैंकले ग्राहक र राष्ट्रका लागि दीर्घकालीन मूल्य सिर्जना गर्दै ‘नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक’ बन्ने लक्ष्य लिएको उनले बताए।
बैंकले उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, लघु, घरेलु, साना तथा मझौला उद्योग (एमएसएमई) क्षेत्रमा ४५ अर्ब ९२ करोड रुपैयाँ तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख रुपैयाँ नेटवर्थ रहेको नबिलको नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। यही अवधिमा खुद नाफा १० लाख रुपैयाँबाट बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
निक्षेप संकलन १४ करोड ६० लाख रुपैयाँबाट बढेर ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १३ करोड ३० लाख रुपैयाँबाट बढेर ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। कुल सम्पत्ति पनि २६ करोड ९० लाख रुपैयाँबाट बढेर ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।
हाल बैंकको सेवा सञ्जाल २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २,४६९ कर्मचारीसम्म विस्तार भएको छ। बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म सञ्चालन हुने विभिन्न ग्राहक–केन्द्रित योजना सार्वजनिक गरेको छ।
हेटौंडा र वीरगञ्जमा सडक विस्तारबाट प्रभावित नागरिकका लागि आधारदरमा ०.५ प्रतिशत मात्र प्रिमियम ब्याजदरमा पुनःनिर्माण घर कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ।
त्यस्तै, लकर सेक्युरिटी डिपोजिटमा ४२ प्रतिशत छुट, इलेक्ट्रोनिक पेमेन्ट गेटवे (ईपीजी) जडान शुल्कमा ५० प्रतिशत छुट, क्रेडिट कार्ड आवेदन तथा वार्षिक सदस्यता शुल्कमा छुट र वार्षिकोत्सवकै दिन डेबिट कार्ड लिने ग्राहकलाई चार वर्षसम्म निःशुल्क प्रयोगको सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।
नबिल बैंकले आगामी दिनमा डिजिटल बैंकिङ, दिगो वित्तीय सेवा तथा नवीन प्रविधिमार्फत ग्राहक अनुभवलाई थप सुदृढ बनाउँदै आर्थिक समृद्धिमा योगदान दिने प्रतिबद्धता दोहोर्याएको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































