जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • टोकियोमा ग्लोबल मिडिया कन्फ्रेन्स

टोकियोमा ग्लोबल मिडिया कन्फ्रेन्स

नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा आगामी जुलाई २५ तारिखमा जापानको राजधानी टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुँदैछ। यस सम्मेलनको सहआयोजकका रूपमा महासंघका १२ वैदेशिक शाखा रहेका छन्।

‘प्रवासी सञ्चारमाध्यममार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनमा महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित ३३ जना पदाधिकारी तथा सदस्य, १२ वैदेशिक शाखाका प्रतिनिधि र विश्वभर क्रियाशील नेपाली पत्रकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

सम्मेलनमा प्रवासी पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावना, प्रेस स्वतन्त्रता, र जिम्मेवार पत्रकारितामा प्रविधिको प्रभावलगायतका विषयमा कार्यपत्र प्रस्तुति तथा प्यानल छलफल हुनेछ। महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ र उपाध्यक्ष मनिषा चम्लागाईंका अनुसार, प्रवासमा रहेका नेपाली समुदायका समस्या र सफलतालाई मातृभूमिसम्म पुर्‍याउन यो सम्मेलन केन्द्रित रहनेछ। त्यस्तै, संस्थापक अध्यक्ष तिलक मल्लले यस सम्मेलनले केन्द्रीय समिति र वैदेशिक शाखाबीचको सम्बन्ध थप संस्थागत र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीले प्रविधिको विकाससँगै नेपालभित्र र बाहिर गरिने पत्रकारिताबीचको दूरी समाप्त हुँदै गएको बताउँदै यो सम्मेलन अत्यन्त सान्दर्भिक रहेको उल्लेख गरे। डायस्पोरामा सक्रिय पत्रकारिता त्यहाँको समुदाय र नेपाल दुवैका लागि अपरिहार्य बन्दै गएको उनको भनाइ छ।

प्रवासी पत्रकारिताको इतिहासमा महत्त्वपूर्ण मानिएको यस सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रले पनि उल्लेखनीय साथ दिएको छ। जापानको फिनटेक कम्पनी डिजिटल वालेट कर्पोरेशनअन्तर्गतका स्माइल्स मोबाइल रेमिटेन्स र स्माइल्स कनेक्ट मुख्य कार्यक्रम साझेदार बनेका छन् भने फ्रन्टअप ई–सिम इभेन्ट पार्टनर रहेको छ। सार्वजनिक र निजी क्षेत्रबीचको यस सहकार्यले प्रवासी पत्रकारितालाई थप सशक्त बनाउन दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार