जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • साल्ट ट्रेडिङले ३५ प्रतिशत लाभांश बाँड्न डाक्यो साधारणसभा, सूचना चुहिएकाले सेयर मूल्य उक्लियो

साल्ट ट्रेडिङले ३५ प्रतिशत लाभांश बाँड्न डाक्यो साधारणसभा, सूचना चुहिएकाले सेयर मूल्य उक्लियो

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले २५ प्रतिशत बोनस सेयर दिने भएको छ।

बाँकी १० प्रतिशत नगद लाभांश दिने छ। लाभांश उच्च आउने सूचना चुहिएकै कारण पछिल्लो समय कम्पनीको सेयर मूल्य ह्वात्तै बढिरहेको छ।

कम्पनीले लाभांश पारित गर्नका लागि मंसिर ३० गते वार्षिक साधारणसभा डाकेको छ। सभा भर्चुअल माध्यमबाट हुने छ।

कम्पनीले नगद वापत सेयरधनीलाई एक करोड ५३ लाख ५७ हजार रुपैयाँ वितरण गर्ने छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी ३ करोड ८३ लाख ९३ हजार रुपैयाँले बढ्ने छ।

गत १ तारिख कम्पनीको सेयर मूल्य प्रति कित्ता ३६५६ रुपैयाँ थियो। त्यसपछि निरन्तर बढेर सोमबारसम्म सेयर मूल्य ६९०० रुपैयाँ पुगेको छ। यसबीचमा जम्मा एक दिन मात्र सेयर मूल्य झरेको छ।

नेपालमा नुन व्यापारमा कम्पनीको एकाधिकार छ भने कागज, चिनी, ग्यास, मल र खाद्यान्नसमेतको व्यापार गर्दै आएको छ।

कम्पनीमा करिब २२ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व छ भने बाँकी ७८ प्रतिशत सरकारको छ।

दोस्रो बजारमा कारोबारका लागि साढे १५ लाखभन्दा कम कित्ता सूचीकृत यस कम्पनीको सेयर मूल्य ठिक एक वर्षअघि प्रतिकित्ता नौ सय रुपैयाँको हाराहारी थियो।

उच्च लाभांशको सूचना चुहिएका कारण सीमित सेयरधनी भएको कम्पनीको मूल्य पछिल्लो समय एकाएक दिनहुँजसो नै सकारात्मक सर्किट  लाग्दै आएको थियो।

पब्लिकसँग सीमित परिमाणमा मात्र सेयर रहेको साल्ट ट्रेडिङको किनबेचका लागि नेप्सेमा फ्लोट हुने सेयर संख्या असाध्यै न्यून छ। साथै, दोस्रो बजारमा न्यून आपूर्ति रहेको यसको सेयर पछिल्लो एक महिनाको प्रवृत्ति हेर्दा बिक्रीका लागि प्रणालीमा राख्नेबित्तिकै किनिएको समेत देखिएको छ। कम्पनीको सेयर माग गर्नेहरुको रहे पनि बिक्री गर्नेहरु भने न्यून छन्।

कम्पनीले २०७४/७५ यता कुनै पनि सभा नगरेको र त्यसअघिका पनि कुनै पनि आवको वित्तीय विवरण सार्वजानिक नगरेको भनाइ लगानीकर्ताहरुको छ। एसटीसी सरकारी स्वामित्वको भएकाले नियमन गर्ने निकाय नहुँदा पनि यसले आफ्नो प्रगति विवरण सार्वजानिक गर्न जिम्मेवार नबनेको आरोप लगानीकर्ताहरुको छ।

नियामक नभएकैले ३०औं वर्षदेखि कम्पनीको अध्यक्ष र संचालक समितिमा उही व्यक्तिहरु रहँदा संस्थामा उनीहरुकै हालिमुहाली भएकोमा पनि एसटीसीका एक लगानीकर्ताले असन्तुष्टी पोखेका छन्। कम्पनीको अध्यक्ष लक्ष्मीदास मानन्धर छन्।

यसका अन्य सञ्चालकहरुमा कीर्तिकुमार जोशी, कल्याणगोविन्द श्रेष्ठ, अतुल मल्ल, प्रदीपलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र राजेन्द्रमान शेरचन रहेका छन्। यसमा पनि कतिपय धेरै वर्षदेखि दोहोरिएका छन्। अन्जन श्रेष्ठ लगायत पछिल्लो समय छिरेका संचालक हुन्। यो संचालक समिति पनि आव २०७४/७५ मै भएको ५२औं सभाले चयन गरेको थियो।

कम्पनीले विगत २०६७/६८ देखि २०७५/७६ सम्म न्यूनतम २० प्रतिशतदेखि बढीमा ४५ प्रतिशतसम्म लाभांश दिएको छ। यस्तै, हालसम्ममा अधिकतम ३५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगदसम्म दिएको छ भने कममा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशसम्म दिएको छ।

पछिल्लो तीन वर्षदेखि भने यसले एउटै दरमा लाभांश घोषणा गरेको छ, जसमा २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश हो। यसपाली पनि कम्पनी यही प्रवृत्तिलाई पच्छ्याएको हो।

8375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका