जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कांग्रेसकाे निर्वाचनमा हारका २७ कारण

कांग्रेसकाे निर्वाचनमा हारका २७ कारण

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनमा पार्टीको लज्जास्पद पराजय हुनुमा २७ वटा कारण औंल्याएका छन्। उनले शुक्रबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रारम्भिक समीक्षा प्रतिवेदेन पेस गर्दै पार्टी नेतृत्वमा परिमार्जनको प्रश्नमा गम्भीर नबन्नु, स्थिर सरकार नपाउनुको असन्तोष, एकै व्यक्ति प्रधानमन्त्रीमा दोहोरिनु, बढ्दो बेथिति, गठबन्धनले थप बढाएको रोष र आक्रोश लगायत कारण पार्टीले पराजय बेहोरेको बताएका हुन्।

‘राजनीतिमा र राजनैतिक दलहरूमा परिवर्तन र परिमार्जन गर्न हामीले सकेनौं। अझ स्पष्ट भन्नुपर्दा हामी परिमार्जनको प्रश्नमा गम्भीर नै भएनौं। फागुन २१ मा मूलधारका राजनैतिक दलहरूको पराजयको यो एउटा साझा कारण हो,’ उनले समीक्षामा भनेका छन्, ‘अस्थिरताबाट नागरिक आजित थिए। पाँच वर्षे प्रधानमन्त्री र स्थिर सरकार हामीले दिन नसकेपछि आजित मतदाताले यसपटक अर्कोतर्फबाट स्थिरता भेट्न सकिन्छ कि भन्ने मन बनाए। हाम्रो पराजयको एउटा कारण यो पनि थियो।’

नागरिक असन्तुष्टि बेवास्ता गर्नु, व्यवहारवादका नाममा विरोधाभास, एमालेसँग अपारदर्शी ढंगले गठबन्धन गरेर प्रतिपक्षी स्वर कमजोर बनाउनु, गर्नुपर्ने नगर्ने र नगर्नुपर्ने गर्ने कर्मको दुष्परिणाम निर्वाचनमा भोग्नुपरेको विश्वप्रकाशको बुझाइ छ।

‘दुई ठूला दल मिलेर सरकार बनाएपछि त्यसले सरकारको गतिमा तीब्रताको तीब्र अपेक्षा बढ्यो। तर सरकारको प्रस्तुति रह्यो– औसत। यसले नागरिक पंक्तिमा नयाँ विश्वास जगाउने परको कुरा, नयाँ आशा समेत जागृत हुन सकेन। दुई दलको सरकारले गर्नुपर्ने काम नगरी नगर्नुपर्ने काममा हात हालेर जेनजी विद्रोहका लागि जमिन तयार गर्‍यो, अनि अहिलेको पराजयका लागि वातावरण,’ विश्वप्रकाशले भनेका छन्।

चरम गुटबन्दीले बढेको चरम वितृष्णा, अति राजनीतिकरण, अग्रज नेताहरुले ‘ग्रेसफुल एक्जिट’ नलिनु र भ्रष्टाचार मौलाउनुलाई पनि विश्वप्रकाशले पार्टीको पराजयको कारण भनेका छन्।

‘सक्रिय शासकीय राजनीतिबाट बिदा लिन सम्मानजनक बहिर्गमनको ‘एक्जिट पोलिसी’को प्रस्ताव पार्टीभित्रै निषेधमा परेको थियो। निश्चित समयपछि नेतृत्वलाई पदीय राजनीति भन्दा माथि उठाएर सम्मानित छवि नबनाइदिँदा जे नकारात्मक छवि
बन्न पुग्यो, त्यसले समग्र राजनीतिलाई असर गर्‍यो र निर्वाचनमा पनि गम्भीर असर पुर्‍यायो,’ उनको समीक्षामा भनिएको छ।

310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका