
एनआइसी एसिया बैंकले फेरि चार कम्पनीको सेयर बिक्रीमा राखेको छ। पटक पटक बिक्रीमा राख्दा पनि बैंकको स्वामित्वमा रहेका कम्पनीको सेयर कसैले किनिरहेका छैनन्।
बैंकले ब्यापार बढाए पनि दोस्रो त्रैमासमा नाफाको दर भने केही घट्ने देखिएको छ। ऋण उठ्तीमा समस्या भएका कारण बैंकको यसपाली नाफा प्रभावित हुँदैछ। त्यो नाफालाई भरपाइ गर्न बैंकले चार कम्पनीको सेयर फेरि बिक्रीमा राखेको हो।
बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६० कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको एक लाख ३ हजार ९७६ कित्ता, एसियन लाइफ इन्स्योरेन्सको एक लाख ३० हजार २९० कित्ता र सूर्या लाइफ इन्स्योरेन्सको एक लाख ९० हजार ३७४ कित्ता सेयर फेरि बिक्रीमा राखेको छ।
बिक्रीबाट ठूलो पैसा आउँछ र दोस्रो त्रैमासको नाफा पनि राम्रो देखिन्छ भन्ने प्रक्षेपणका आधारमा अहिले बैंकको सेयर मूल्य बढाइएको छ। २० प्रतिशत लाभांश प्रस्ताव पारित गरिसकेपछि पनि बैंकको सेयर मूल्य निरन्तर बढिरहेको छ।
बैंकले यसपाली नागरिक लगानी कोषको सेयर मूल्य हकप्रदलाई समायोजन गरी घटाएर बिक्रीमा राखेको छ। यसअघि प्रति कित्ता २७४० रुपैयाँमा बिक्रीमा राखेको थियो। एक कित्ताका लागि पनि आवेदन नपरेपछि बैंकले यसपाली प्रति कित्ता १७ सय १५ रुपैयाँका दरले बिक्री गर्ने भएको छ। लगानीकोषले हकप्रद सेयरका लागि बुक क्लोज गरिसकेको छ।
लगानीकर्ताहरुका अनुसार, बैंकले संस्थापक सेयरहरु बिक्रीमा राखेको हो। संस्थापक सेयर दोस्रो बजारमा किनबेच हुन निकै झन्झटिलो छ। त्यसैले हत्तपत्त कसैले किनिहाल्दैन।
नेशनल लाइफको सेयर मूल्य भने बढाएको छ। ५२० रुपैयाँमा बिक्रीमा राखेको बैंकले यसपाली बढाएर ५५० रुपैयाँ पुर्याएको छ। अघिल्लो पटक बिक्रीमा राख्दा जम्मा १० हजार कित्ता मात्र बिक्री भएको थियो।
बैंकले एसियन लाइफको मूल्य ४६९ रुपैयाँ तोकेको छ भने सूर्या लाइफको ३३७ रुपैयाँ तोकेको छ। यी सबै सेयर तोकिएको न्यूनतम मूल्यमा बिक्री भएमा बैंकलाई ५२ करोड ९८ लाख रुपैयाँ आउने छ।
बैंकले चालु वर्षको पहिलो तीन महिनामा ४ करोड ६६ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। पोहोर अवस्था सहज हुँदा नाफा ४४ करोड ८४ लाख रुपैयाँ थियो। बैंकले दोस्रो त्रैमासमा ‘रिकभरी’ मा बल गरेको छ। धेरै ऋण उठ्न सक्ने अवस्थामा छैन।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































