
सर्वोच्च अदालतले अपदस्त गरिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दुई करोड डोजभन्दा बढी कोभिड-१९ विरुद्धको खोप खरिद टुङ्गो लागेको दाबी गरेका छन्।
सिंहदरबारमा प्रधानमन्त्रीको हैसियतमा आफ्नो अन्तिम सम्बोधनका क्रममा ओलीले आगामी केही महिनाभित्रै सबै नेपालीहरुले खोप पाउने आधार सुनिश्चित भएको बताएका छन्।
सन् २०२१ भित्रै अधिकांश जनसंख्यालाई खोप लगाइसक्ने दाबी गर्दै उनले अहिलेसम्म पहिलो डोज खोप पाउनेको संख्या २६ लाख ११ हजार आठ सय सात पुगेको बताए। दोस्रो डोज लगाउनेको संख्या नौ लाख ३२ हजार आठ सय ६८ पुगेको विवरण प्रस्तुत गरे।
यसका साथै खरिद गरिएको ५० लाख र अनुदानमा २१ लाख गरेर कुल एक करोड ३१ लाख मात्रा आउने सुनिश्चित भएको तथ्यांक प्रस्तुत गरे।
उनले भारतबाट अनुदानमा ११ लाख र १० लाख डोज खरिद, चीनबाट १८ लाख अनुदान र ४० लाख डोज खरिद गरिएकोमा आठ लाख आइसकेको बताए। थप १६ लाख डोज अनुदान चीनले दिने घोषणा गरेको बताए। थप ६० लाख डोज खरिद प्रक्रिया अगाडि बढेको जानकारी ओलीले दिए।
यस्तै, अमेरिकाबाट उपहारस्वरुप सोमबार मात्रै १५ लाखभन्दा बढी जोन्सन एण्ड जोनसनको खोप आएको स्मरण गराउँदै ओलीले जापानले मंगलबार मात्रै करिब १६ लाख डोज एस्ट्राजेनेका नेपाललाई दिने घोषणा गरेको बताए।
कोभिसिल्ड पहिलो डोज लगाएर दोस्रो डोज पर्खिरहेकाहरुलाई यही खोप लगाइदिने सरकारको तयारी छ। कोभ्याक्स अन्तर्गत तीन लाख ४८ हजार डोज आएको र तीन लाख ५० हजार आउने क्रममा रहेको ओलीले जानकारी दिए।
कोभ्याक्स सुविधा अन्तर्गत ६० लाख डोज क्रमश: प्राप्त हुने उनले बताए। जोनसनको ५० लाख, मोडर्नाको ४० लाख र फोइजरको ४० लाख र एस्ट्राजेनिकाको कोभिसिल्ड २० लाख डोज गरी कुल एक करोड ५० लाख मात्रा सहुलियत मूल्यमा प्राप्त हुने जिकिर ओलीले गरे।
आफुहरु खोप उत्पादक राष्ट्र नभएपनि छोटो अवधिमा नागरिकहरुलाई खोप लगाउने वातावरण सिर्जना गरेको उनले बताए।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































