
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिनु बैंक तथा वित्तीय संस्थाका लागि नौलो घटना रहेन । गत आर्थिक वर्षको पछिल्ला एक/दुई महिनादेखि नै बैंक तथा वित्तीय संस्थाले अल्पकालीन सापटीको भरमै बैंकिङ व्यवसाय चलाएका छन् । यो क्रम हरेक दिन चलिरहेको छ ।
यद्यपि पछिल्ला दिनहरुमा यस्तो सापटीको परिमाण ह्रवात्तै बढेको छ । यसलाई वित्तीय प्रणालीमा तरलता अवस्था सहज बन्दै जानुको साटो झनै बढ्दै गएको होकी भनेर चासोको रुपमा हेरिएको छ । जसअनुसार बुधबारमात्र बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत राष्ट्र बैंकबाट ९८ अर्ब २२ करोड रुपैयाँ अल्पकालीन सापटी लिएका छन् । यो गत असारयता एकै दिन एसएलएफमार्फत बैंकहरुले लिएको दोस्रो धेरै रकम हो । यसअघि गत चैत २८ मा बैंक तथा वित्तीय संस्थाले दैनिक रुपमा सबैभन्दा धेरै १ खर्ब ९९ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका थिए ।
चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा पनि तरलताको अवस्थामा सुधार आएको छैन । हरेक दिन बैंकहरुले राष्ट्र बैंकबाट लिने अल्पकालीन तथ्यांकले पनि यो पुष्टी हुने जानकारहरु बताउँछन् । पछिल्ला दिनहरुमा चालु आर्थिक वर्षमा मात्र नभएर आगामी आर्थिक वर्षमा पनि वित्तीय क्षेत्रले तरलताको दबाब भोग्नु पर्ने संकेत देखिएको जानकारहरु बताउँछन् ।
सरकारी तथ्यांक अनुसार गत साउनदेखि हालसम्म बैंक तथा वित्तीय संस्थाले एसएलएफमार्फत ६५ खर्ब ९ अर्ब रुपैयाँ सापटी लिइसकेका छन् । त्यसमध्ये करिब साढे २ खर्ब रुपैयाँ अहिले पनि लगानीमा रहेको बताइएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































