
नयाँ बसपार्क क्षेत्रमा भएका लुटपाट एवं तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल उद्योग बाणिज्य महासंघले घटनामा संलग्नलाई तत्काल कारबाहीको माग गरेको छ।
प्रशासनिक कारवाहीको विरोध गर्दै फागुन २ गते काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको प्रदर्शनका क्रममा त्यस क्षेत्रका व्यापारिक मल, सुपर मार्केट तथा अन्य व्यवसायमा भएको तोडफोड एवं लुटपाट भएको थियो।
लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाउने जति अधिकार छ त्यतिनै जनताले आफनो जीउ धन र सम्पत्तिको सुरक्षा गर्न पाउने अधिकार पनि रहेको महासंघको भनाइ छ।
‘जनताको सम्पत्तिको खुलेआम तोडफोड, लुटपाट हुनु सोभनिय होइन र त्यो कानूनी राज्यमा दण्डनीय हुनुपर्छ,’ महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
कुनै पनि विरोधका आडमा जवरजस्ती कानून हातमा लिई हुने यस्ता घटनालाई समयमै नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान जान सकेन र त्यस्ता तत्वलाई कानूनको दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न सकिएन भने जुनसुकै समयमा अन्यत्र पनि यस्ता घटना नदोहोरिएलान भन्न नसकिने महासंघको भनाइ छ।
‘घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी कारवाही हुनु पर्छ,’ महासंघले भनेको छ, ‘साथै व्यवसायीका लुटिएका सामान अविलम्व फिर्ता गराउनु पर्छ।’
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































