जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • जीवन बीमामा तेस्रो बिग मर्जर, प्राइम गुराँस र युनियन लाइफको एकीकृत कारोबार मंगलबारदेखि

जीवन बीमामा तेस्रो बिग मर्जर, प्राइम गुराँस र युनियन लाइफको एकीकृत कारोबार मंगलबारदेखि

नेपाली जीवन बीमा कम्पनीमा बिग मर्जरको रेकर्ड बनाउने प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार थाल्ने मिति टुंगो लागेको छ। तीन कम्पनी मिलेर हिमालयन लाइफको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन्।

एकीकृत कारोबार आगामी मंगलबार (वैशाख २६)देखि सुरु हुने प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बताए। ‘एकीकृत कारोबार थाल्ने मिति टुंगो भयो। अहिले मर्जर कमिटी व्यवस्थापनका अन्य प्रक्रियाका लागि थप छलफलमा छ,’ उनले भने।

तीन कम्पनी १ बराबर १ को अनुपातमा गाभिएका हुन्। बिग मर्जरपछि हिमालयन लाइफ चुक्ता पुँजी धेरै हुने दोस्रो ठूलो बीमा कम्पनी बन्ने भएको छ। हालसम्म जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी सर्वाधिक ८ अर्ब २० करोड रुपैयाँ छ।

हिमालयन लाइफको चुक्ता पुँजी ७ अर्ब ७० करोड रुपैयाँभन्दा बढी पुग्नेछ। मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा युनियनका मनोजकुमार लाल कर्ण छन्। गुराँस लाइफका सीइओ विपिन कर्ण र प्राइमका सीइओ निर्मल दाहाल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने छन्।

मर्जरको प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको करिब एक वर्षमा यी तीन कम्पनीको एकीकृत कारोबार हुन लागेको हो।गत वर्षको वैशाख २९ गते यी कम्पनीहरुले चुक्ता पुँजी वृद्धिका लागि मर्जरमा जाने सहमति गरेका थिए।

गत असारभित्र मर्जर हस्ताक्षर गरेका कारण हिमालयन लाइफले थप सुविधा पाउने नेपाल बीमा प्राधिकरणले जनाएको छ।

गत साता प्राधिकरणबाट मर्जरको लागि अन्तिम स्वीकृति प्राप्त गरेका थिए। प्राधिकरणले चैत मसान्तभित्र चुक्ता पुँजी वृद्धिका लागि समय तोकेको थियो। यसअघि पटक-पटक एकीकृत कारोबार गर्ने मिति तय गरे पनि एक्चुअरी भ्यालुएसन लगायतमा ढिलाइ भएको कम्पनीले जनाएको छ।

हालसम्म जीवन बीमाका ४ कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु गरिसकेका छन्। जसमा सूर्यज्योति लाइफ र सानिमा रिलायन्स लाइफको नामबाट कारोबार गरिरहेका छन्।

प्राधिकरणले चुक्ता पुँजी वृद्धिका लागि मर्जरमा गएका र मर्ज हुन बाँकी कम्पनीहरुलाई प्रक्रिया टुंग्याउन तीन महिना थप गरेको छ।

3340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका