जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सर्भिया, माल्टा र क्रोएसियामा रोजगारीका लागि पठाउने भन्दै ठगी, आरोपित तीन पक्राउ

सर्भिया, माल्टा र क्रोएसियामा रोजगारीका लागि पठाउने भन्दै ठगी, आरोपित तीन पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपका तीन छुट्ठाछुट्टै घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सर्भिया, माल्टा र क्रोएसिया पठाउने भन्दै ठगी गरेको घटनाका आरोपित एक पुरुष र दुई महिलालाई पक्राउ गरेको हो।

सर्भिया पठाइदिन्छु भन्दै १७ लाख १७ हजार ३ सय रूपैयाँ ठगी गरेको अभियोगमा बारा जितपुरसिमरा-१ बस्ने २५ वर्षीय दिपेश बास्कोटा पक्राउ परेका छन्। उनले ३ जनालाई सर्भिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा प्याकिङको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको आरोप छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई गत बिहीबार जीतपुरसिमरा-१ बाट पक्राउ गरेको हो।

यस्तै माल्टा पठाइदिन्छु भन्दै ६ लाख ८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौंको बाफल बस्ने धादिङको त्रिपुरा सुन्दरी-१ की २९ वर्षीया लक्ष्मी श्रेष्ठ शुक्रबार पक्राउ परेकी हुन्। उनले २ जनालाई माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको आरोप छ।

यसैगरि क्रोएसिया पठाइदिने भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी-९ लुभु बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी-६ की ४६ वर्षीया भवानी बोहरालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनले बोहराले २ जनालाई क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पटक पटक गरी उक्त रकम ठगी गरेको आरोप छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई ललितपुर लुभुबाट पक्राउ गरेको हो।

तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ।

3270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका