जोडिनुहोस
सोमवार, अशोज २१, २०८१
सोमवार, अशोज २१, २०८१
  • होमपेज
  • सरकारले द्वन्द्व पीडितको न्याय मर्न दिँदैन : उपप्रधानमन्त्री पौडेल

सरकारले द्वन्द्व पीडितको न्याय मर्न दिँदैन : उपप्रधानमन्त्री पौडेल

उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले नेपाल सरकारले द्वन्द्व पीडितको न्याय मर्न नदिने बताउनुभएको छ ।
बुधरबार प्रकाश स्मृति दिवसको अवसरमा इन्सेकले आयोजना गरेको प्रकाश स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले पीडितहरूको न्यायको मागलाई सरकारले उचित रूपमा सम्बोधन गर्ने बताउनुभयो । नेपाली समाजले एउटा पीडादायी द्वन्द्व भोगेको बताउँदै पौडेलले देश द्वन्द्वबाट बाहिर निस्किए पनि द्वन्द्वको घाउ अझै बाँकी नै रहेको बताउनुभयो । ‘ द्वन्द्व अन्त्य भएको छ, शान्ति स्थापना भएको छ तर अझै पनि द्वन्द्वका घाउ निको भएका छैनन्’, उहाँले भन्नुभयो ।
पीडितको पक्षपोषण हुने गरी शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकार त्यही दिशामा अघि बढेको उहाँले बताउनुभयो । ‘नेपाल सरकार पीडितको न्यायको पक्षमा रहेको छ’, उहाँले भन्नुभयो ।
नेपाली समाजले अनपेक्षित, अनावश्यक, अनुचित द्वन्द्वको सामना गर्नुपरेको पौडेलले बताउनुभयो । नेपालले समयसम्म बोझका रूपमा सम्झिरहने द्वन्द्व भोग्नु परेको पौडेलको भनाइ छ । शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुङ्ग्याउनु पर्छ भन्ने कुरामा सरकार दृढ रहेको उहाँले बताउनुभयो ।
पौडेलले मानव अधिकारको आन्दोलन निरन्तर चलिरहने आन्दोलन भएको बताउनुभयो । समय अनुसार यसको स्वरूप मात्र फरक हुने पौडेलले स्पष्ट पार्नुभयो ।
इन्सेकले यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत काभ्रेको नमोबुद्ध नगरपालिका दाप्चाकी ६२ वर्षीया पूर्णिमाया लामालाई प्रदान गरेको छ । पूर्णीमायाका पति अर्जुन लामालाई माओवादीले द्वन्द्वको बेलामा हत्या गरेका थिए ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको योजनामा उहाँको हत्या गरिएको आरोप छ । सापकोटा विरुद्धको सो मुद्दा अहिले पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।
मानवअधिकारकर्मी तथा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा इन्सेकले उक्त पुरस्कार स्थापना गरेको हो । पुरस्कार ५० हजार रुपैँया राशिको रहेको छ ।
इन्सेकका संस्थापक महासचिव काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेको महत्त्वपूर्ण योगदान रहेको छ ।
आजको सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम थियो । तर स्वास्थ्यमा सामान्य समस्या आएपछि उहाँ कार्यक्रममा जान नसकेको पौडेलले जानकारी दिनुभयो ।

425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?