जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • कृषि विकासले राष्ट्रिय वाणिज्यलाई उछिन्यो

कृषि विकासले राष्ट्रिय वाणिज्यलाई उछिन्यो

बैंकिङ क्षेत्रका लागि गत आर्थिक वर्ष २०८०/८१ त्यति सहज थिएन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा देखिएको असहजताका कारण बैंकहरूको व्यवसायमा प्रभाव परेको देखिन्छ । अर्थतन्त्रमा देखा परेका समस्या समाधान गर्न विभिन्न सुधारका प्रयास पनि जारी छन् । जसको फलस्वरूप सुधारका प्रयासले आर्थिक वर्षको अन्त्यतिर बैंकहरूको व्यवसायमा आशा पनि जगाएको देखिन्छ ।

गत वर्ष लक्ष्यअनुसारको कर्जा विस्तार नभए पनि विभिन्न समस्या तथा चुनौतीसँग जुध्दै कर्जा लगानी समान्य बढेको देखिन्छ । गत वर्षको वित्तीय विवरण सार्वजनिक हुँदा मिश्रित नतिजा आएको छ । वाणिज्य बैंकहरूमध्ये सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको वित्तीय विवरणलाई चासोको रुपमा हेरिने गर्दछ ।

विगतको तुलनामा पछिल्लो सयम आफ्नो सेवालाई चुस्त बनाउँदै व्यवसायमा उल्लेख्य सुधार गरेको देखिन्छ । नेपाल राष्ट्र बैंकका नीति, नियम तथा निर्देशनहरूसँगै यी बैंकले अन्य नियामकको समेत नीति निर्देशन पालना गर्नुपर्ने बाध्यता छ । गत वर्ष सरकारी स्वामित्वका यी ३ बैंकहरूले के कस्तो प्रगति गरेका छन् भने यहाँ उल्लेख गर्न खोजिएको छ ।

सरकारी स्वामित्वका यी तीन बैंकले निजी लगानीका बैंकलाई समेत टक्कर दिइरहेका छन् । यी तीनमध्ये गत वर्ष सबैभन्दा धेरै नाफा कृषि विकास बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ र नेपाल बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

अघिल्लो वर्षको तुलनामा कृषि विकासको नाफा बढेको देखिन्छ भने राष्ट्रिय वाणिज्य र नेपाल बैंकको भने नाफामा गिरावट आएको छ । अघिल्लो वर्ष कृषि विकासले १ अर्ब ३२ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्यले ३ अर्ब ५९ करोड रुपैयाँ र नेपाल बैंकले ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

गत असारमा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकले १० अर्ब २३ करोड रुपैया खुद ब्याज आम्दानी गरेको छ । राष्ट्रिय वाणिज्यलाई टक्कर दिइरहेको कृषि विकासले १० अर्ब १२ करोड रुपैयाँ र नेपाल बैंकले ८ अर्ब ८० करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

चुक्ता पुँजीका आधारमा कृषि विकास बैंक अगाडि छ । गत असारसम्म कृषि विकासको १८ अर्ब ८८ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्यको १५ अर्ब ६३ करोड रुपैयाँ र नेपाल बैंकको १४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । तर, जगेडा कोषमा भने राष्ट्रिय वाणिज्य बैंक अगाडि छ । राष्ट्रिय वाणिज्यको ३६ अर्ब ७८ करोड रुपैयाँ, नेपाल बैंकको २२ अर्ब ३८ करोड रुपैयाँ र कृषि विकासको १५ अर्ब ६० करोड रुपैयाँ जगेडा कोषमा सञ्चित छ ।

समीक्षा अवधिमा निक्षेप संकलन र कर्जा लगानीमा राष्ट्रिय वाणिज्य बैंक अगाडि छ । राष्ट्रिय वाणिज्यले ४ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै नेपाल बैंकले २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । कृषि विकासले भने २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ ।

यी तीन बैंकहरूमध्ये गत असारसम्म कर्जा निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्रिय वाणिज्यको ६०.८२ प्रतिशत, कृषि विकासको ७७.८० प्रतिशत र नेपाल बैंकको ७२.९९ प्रतिशत रहेको छ । सीडी रेसियोका आधारमा राष्ट्रिय वाणिज्य बैंकमा निक्षेप थुप्रिएको देखिन्छ ।

तथ्याङ्क अनुसार कृषि विकासको लाभांश क्षमता उच्च छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड रुपैयाँ छ भने लाभांश क्षमता ८.१३ प्रतिशत रहेको छ । यस्तै नेपाल बैंकको वितरणयोग्य नाफा ७६ करोड ९३ लाख रुपैयाँ र लाभांश क्षमता ५.२४ प्रतिशत देखिन्छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा ५८ करोड २१ लाख रुपैयाँ छ भने लाभांश क्षमता ३.७२ प्रतिशत मात्रै छ ।

गत वर्ष राष्ट्रिय वाणिज्य बैंकबाहेक कृषि विकास र नेपाल बैंकको खराब कर्जा बढेको छ । राष्ट्रिय वाणिज्यको खराब कर्जा ३.६५ प्रतिशत छ भने कृषि विकासको ३.४४ प्रतिशत र नेपाल बैंकको ३.२८ प्रतिशत पुगेको छ ।

190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका