जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुज नकर्मी कारागार चलान

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुज नकर्मी कारागार चलान

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका पूर्व सचिवसमेत रहेका अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् । भदौ २ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका नकर्मीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले नकर्मीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । दक्षिणकालीबाट पक्राउ परेका ४८ वर्षीय नकर्मीलाई आइतबार कास्की अदालतमा उपस्थित गराइएको थियो ।

गितेन्द्रबाबु (जीवी) राईको नेतृत्वमा खुलेको पोखराको सूर्यदर्शन सहकारीबाट जीवीसहित १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको उल्लेख गरिए पनि सरकारी वकिलको कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

यो सहकारी ठगी प्रकरणमा पहिले १९ जनासहित अहिले पक्राउ पुर्जी जारी हुनेमा ४४ जना पुगेका छन् । अहिले सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), पूर्व सञ्चालक प्रमोद भट्टराई, भविश्वर अर्याल थुनामा छन् ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाको पछिल्लो प्रतिवेदन प्रहरीमै थन्किएर बसेपछि पुर्पक्षका लागि थुनामा रहेका प्रतिवादीहरु पुरानै प्रतिवेदनलाई आधार बनाएर उन्मुक्ति खोज्दै सर्वोच्च अदालत पुगेका छन् ।

जिल्ला अदालत कास्कीले पुर्पक्षमा थुनामा राख्ने आदेशविरुद्ध उपाध्यक्ष कैलाशकुमार दर्लामी, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे)सहित उच्च अदालत पुगेका थिए । उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेपछि उनीहरु कास्की कारागारमै छन् ।

जिल्ला र उच्चको फैसलाविरुद्ध उनीहरु सर्वोच्च पुगेका छन् ।सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेर पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जीवी)सहित फरार भएपछि १ हजार ३७ जनाले निवेदन दिएपछि २०८० असोजमा पहिलो प्रतिवेदन सार्वजनिक भएको थियो । प्रहरीले १९ जनाविरुद्ध सुरुमा पक्राउ पुर्जी जारी गरेको थियो ।

पुरानो प्रतिवेदनमा सबै विस्तृत विवरण नखुलाइएको भन्दै बचतकर्ताले पूर्व गृहमन्त्री लामिछानेसहित व्यक्ति र संस्थाविरुद्ध पुरक जाहेरी दिएपछि काठमाडौंबाट २ जना सिआइबीसहितको टोलीले विस्तृत अनुसन्धान गरेको थियो ।

अनुसन्धानपछि गत वैशाख २६ गते टोलीले पोखरा महानगरका मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको थियो । त्यसकै भोलिपल्ट मेयर आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीलाई ३ हजार ४ सय १९ पृष्ठको प्रतिवेदन हस्तन्तरण गरेका थिए ।

प्रहरीले पछिल्लो प्रतिवेदन अनुसन्धान अगाडि नबढाएको भन्दै बचतकर्ताले संशय व्यक्त गरेका छन् ।

465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका