जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • होटल, रेस्टुरेन्ट र बारमा अनलाइन भुक्तानी गरे १० प्रतिशत भ्याट फिर्ता

होटल, रेस्टुरेन्ट र बारमा अनलाइन भुक्तानी गरे १० प्रतिशत भ्याट फिर्ता

होटल, रेस्टुरेन्ट र बारमा अनलाइनबाट भुक्तानी गरे मूल्यमा तिरेको करको १० प्रतिशत उपभोक्ताले फिर्ता पाउने भएका छन् ।

आन्तरिक राजस्व विभागले विभिन्न तीन प्रकारका सेवामा तिरेको करको १० प्रतिशत उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप फिर्ता दिने निर्णय २१ भदौमा गरेको हो ।

विभागका अनुसार मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २५ को उपदफा १ मा यसबारे व्यवस्था गरिएको छ ।

‘कुनै उपभोक्ताले विभागले सूचना प्रकाशित गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानुन बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरे निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम विभागले तोकेको प्रक्रिया पूरा गरी निजको बैंक खातामा फिर्ता गरिने छ,’ ऐनमा उल्लेख छ ।

कुन–कुन सेवामा हुनेछ कर फिर्ता ?

विभागका अनुसार मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवामा यो सर्त लागु हुने भएको छ । चमेनागृह (रेस्टुरेन्ट) सेवामा समेत यस्तो कर फिर्ता प्रावधान लागु हुनेछ ।

साथै, सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायबाट प्रदान गरिने सेवामा समेत अनलाइन भुक्तानी भए १० प्रतिशत कर फिर्ता हुने भएको छ ।

कुन–कुन सर्तमा कर फिर्ता हुनेछ ?

विभागका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भई विभागबाट स्वीकृत विद्युतीय बिजक जारी गर्ने करदाता यस प्रणालीमा आबद्ध हुन सक्नेछन् ।

डेबिट/क्रेडिट कार्ड, क्यूआर कोड, मोबाइल जस्ता विद्युतीय भुक्तानी उपकरणबाट भुक्तानी प्राप्त गर्ने विक्रेताले भ्याटको १० प्रतिशत रकम उपभोक्ताको खातामा स्वचालित फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ ।

विद्युतीय बिजक सम्बन्धी कार्यविधि बमोजिम विभागमा सूचीकृत विद्युतीय उपकरण र सफ्टवेयर आपूर्तिकर्ताले समेत अब आफ्नो सफ्टवेयरमा सोही अनुसार परिमार्जन गर्नुपर्ने भएको छ ।

प्रणालीमा आबद्ध रहने विक्रेताले आफ्नो कारोबार स्थलमा विद्युतीय भुक्तानी गर्ने उपभोक्तालाई भ्याट फिर्ता हुने सुविधा रहेको सूचना सार्वजनिक गर्नुपर्ने समेत सर्त राखिएको छ ।

2495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका