जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • चाडपर्वमा देशभर ६१ स्थानमा सहुलियत पसल

चाडपर्वमा देशभर ६१ स्थानमा सहुलियत पसल

सरकारले चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन प्रत्येक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । यस वर्षको चाडबाडका लागि यही ७ गतेदेखि देशैभर सहुलियत मूल्य पसल सञ्चालन हुने भएका छन् ।

उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको हो ।

यी पसलहरूबाट सबै प्रकारका चामल, चिनी, चिउरा, दाल तथा गेडागुडी, तेल घ्यू, कर्णालीको रैथाने उत्पादन (जुम्ली मार्सी, कागुनो, चिनो, तिते फापर, उवा) विशेष छुटमा बिक्री गरिने जनाइएको छ ।

उक्त खाद्यान्नहरूमा प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म छुटको व्यवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए । आचार्यका अनुसार पहिला बिक्री हुँदै आएको खाद्यान्नको मूल्यमा प्रतिकिलो ५ रुपैयाँदेखि १० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ । जसमध्ये स्टिम जिरा मसिनो, बासमती, आरुवा सोना, आरुवा मोटा, कालानुनीया, ब्राउन, साँवा स्टिम आरुवा रञ्जित, फोर्टीफाइड, लङ्ग्रेन यी सबै प्रकारका चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ ।

यस्तै कर्णालीको रैथाने उत्पादन जुम्ली मार्सी, कागुनो, चिनो, कर्णालीको सिमी, उवा, तितेफापरमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइने भएको छ । चना, रहर, मसिनो मुसुरो, क्वाँटी, ठुलो मुसुरो मासको दाल र रहरको दालमा प्रतिकिलो ५ रुपैयाँ, गहुँको पिठो, चिउरा, गहुँ र चिनीमा पाँच रुपैयाँ छुट हुनेछ । भटमास, तोरी र सनफ्लावर तेलमा प्रतिलिटर ७ रुपैयाँ, डीडीसी घ्यूमा प्रतिलिटर १० रुपैयाँ छुट दिइने भएको छ ।

गत वर्ष खाद्य कम्पनीबाट वितरण हुने सबै किसिमका चामल, दाल, गहुँ आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर, भटमासको तेल, चिउरा प्रतिकेजी/प्रतिलिटरमा ७ रुपैयाँ छुट दिइएको थियो । यस्तै कर्णालीको सिमी/गेडागुडी, फापरको दाना, चिनो कागुनो र उवा प्रतिकेजीमा १० रुपैयाँ छुटको व्यवस्था गरिएको थियो । यस्तै डीडीसीको घिउ प्रतिकेजीमा २० रुपैयाँ छुट दिइएको थियो ।

खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट
यस्तै जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने भएको छ । यो वर्षको चाडपर्वका लागि कम्पनीले १ हजार ५०० खसीबोका र ३०० च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । घटस्थापनाको अघिल्लो दिनसम्म खसीबोका तथा च्याङ्ग्रा ल्याइसक्ने कम्पनीले जनाएको छ । अहिले खरीद प्रक्रिया सुरु भएको कम्पनीकी प्रवक्ता अम्बिका पौडेलले जानकारी दिइन् । ‘खरिद गरिसकेपछि मात्रै कति मूल्यमा बिक्री गर्ने थाहा हुन्छ । तर खुला बजारको तुलनामा सहुलियत मूल्यमा बिक्री गर्नेछौँ,’ उनले भनिन् । यस्तै गत वर्षको तुलनामा यो वर्ष च्याङ्ग्राको मूल्य बढ्न सक्ने पौडेलको भनाइ छ ।

गत वर्ष कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १२५० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा बिक्री नभएपछि मूल्य घटाएको थियो । गएको दसैँमा खसी प्रतिकिलो ६७० तोकिएकोमा २० रुपैयाँ सहुलियत दिँदै ६५० र च्याङ्ग्रा प्रतिकिलो १२५० बाट प्रति किलो १२२५ रुपैयाँ कायम गरेको थियो । गत वर्ष च्याङ्ग्रा मुस्ताङबाट र खसीबोका, हेटौँडा र दाङबाट ल्याइएको थियो । यो वर्ष पनि सोही ठाउँबाट ल्याउने भएको छ ।

४२ जिल्लाका ६१ स्थानमा पसल
खाद्य संस्थानले चाडपर्वलाई लक्षितगरी वर्षौदेखि सातवटै प्रदेशमा सहुलियत पसल सञ्चालन गर्दै आएको छ । यो वर्ष पनि ४२ जिल्लाका ६१ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सबैभन्दा धेरै कर्णाली र लुम्बिनी प्रदेशमा रहने छन् । मधेस र बागमतीमा थोरै संख्यामा सहुलियत मूल्य पसल सञ्चालन गरिने खाद्य संस्थानले जनाएको छ ।

यसमध्ये कोशी प्रदेशका ८ स्थानमा सहुलियत मूल्य पसल सञ्चलन गरिने छ । जसमध्ये मोरङको प्रादेशिक कार्यालय विराटनगर, झापाको मुख्य शाखा कार्यालय बिर्तामोड, ताप्लेजुङको सदरमुकाम शाखा कार्यालय, भोजपुरको शाखा कार्यालय, भोजपुर सदरमुकाम कार्यालय, संखुवासभामा शाखा कार्यालयमा सहुलियत मूल्य पसल सञ्चलन गरिने छ । यसै गरी सोलुखुम्बु, ओखलढुुङ्गा र खोटाङका शाखा कार्यालयमा पनि पसल सञ्चालन हुनेछन् ।

मधेस प्रदेशमा सिरहा लिल्लामा मुख्य शाखा कार्यालय लहान, जनकपुरको प्रादेशिक कार्यालय जनकपुर र पर्साको शाखा कार्यालय वीरगन्ज गरी ३ स्थानबाट सहुलियत मूल्य सञ्चालन हुनेछ । बागमती प्रदेशमा काठमाडौँको थापाथली बिक्री केन्द्र, रामशाहपथ बिक्री केन्द्र, नख्खुबिक्री केन्द्र र भक्तपुरको सूर्यविनायकमा गरी ४ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरिने जनाइएको छ ।

गण्डकी प्रदेशमा ७ स्थानमा सहुलियत मूल्य सञ्चालन हुनेछन् । कास्कीको पृथ्वीचोक बिक्री केन्द्र, कास्कीकै बिरौटा बिक्री केन्द्र, गोरखा शाखा कार्यालय र डिपो कार्यालय सिर्दिवासबाट सहुलियत पसल सञ्चालन गरिने छ । यस्तै तनहुँमा विमलनगर बिक्री केन्द्र, मनाङ सदरमुकाम र मुस्ताङमा शाखा कार्यालयमा सहुलियत मूल्य पसल सञ्चालन गरिने छ ।

लुम्बिनीका ११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । जसमध्ये रुपन्देहीका सिदार्थनगर भैरहवा र हाटबजार बुटवलमा सहुलियत मूल्य सञ्चालन गरिने छ । यस्तै बाँकेको कारकाँदो, दाङको तुलसीपुर, रोल्पाको लिवाङ, बर्दियाको राजापुरमा यस्तो पसल सञ्चालन हुनेछ । यसै गरी रुकुम पूर्वको रुकुमकोट र गुल्मीको तम्घास, बलेटक्सार, अर्खाबाङ्ग, बाँझकटारीमा सहुलियत मूल्य पसलका बिक्री केन्द्र राखिने छ । कर्णालीमा १९ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन हुनेछन् । सुर्खेत प्रादेशिक कार्यालय, रुकुम पश्चिम, दैलेख, डोल्पाको दुनैका साथै सर्मी डिपो, लिकु डिपो र जुफाल विमानस्थलमा रहेको डिपोबाट सहुलियत मूल्य पसल सञ्चालन हुनेछन् ।

यस्तै कालिकोटको शाखा कार्यालयका साथै बल्लागाड डिपो, पादमघाट डिपो, थिर्पु डिपोबाट सहुलियत मूल्य पसल सञ्चालन गरिने छ । हुम्लाको शाखा कार्यालय हुम्ला सदरमुकाम, जाजरकोटको शाखा कार्यालय जाजरकोट सदरमुकाम, दशेरा डिपो, घोगी डिपो र नायकवाडाघाट डिपोमा सहुलियत पसल चल्नेछन् । जुम्लाको शाखा कार्यालय खलङ्गाका साथै धापा डिपो र मुगुको शाखा कार्यालयमा सहुलियत मूल्य पसल सञ्चालन गरिने छ ।

सुदूरपश्चिम प्रदेशका ९ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । प्रादेशिक कार्यालय धनगढी, महेन्द्रनगर, डडेल्धुराको सदरमुकाम शाखा, बाजुराको मार्तडी, डिपो कार्यालय कोल्टीमा सहुलियत पसल हुनेछन् । बझाङको शाखा कार्यालय, अछामको शाखा, दार्चुलाको शाखा कार्यालयका साथै खण्डेश्वरी डिपोमा सहुलियत मूल्य पसल सञ्चालन गरिने छ ।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका