जोडिनुहोस
बुधबार, अशोज ३०, २०८१
बुधबार, अशोज ३०, २०८१
  • होमपेज
  • बाढीपहिरोले सबैभन्दा बढी दाबी सम्पती बीमामा, टाउको दुखाई बन्यो विद्युतीय गाडी

बाढीपहिरोले सबैभन्दा बढी दाबी सम्पती बीमामा, टाउको दुखाई बन्यो विद्युतीय गाडी

नेपाल बीमा प्राधिकरणले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार बाढीपहिरो र डुबानका कारण निर्जीवन बीमा कम्पनीहरुमा करिब २ अर्ब ६७ करोड रुपैयाँ बराबरको ७०९ वटा दाबी परेको छ। 

यस्तो दाबी झन्डै ८ अर्ब पुग्न सक्ने बीमा प्राधिकरणको प्रारम्भिक अनुमान छ। नेपालमा संचालित १४ वटा निर्जीवन र चारवटा लघु निर्जीवन बीमाले गरेको प्रारम्भिक निरीक्षण तथा कम्पनीमा परेको दाबीको आधारमा प्राधिकरणले यत्तिको दाबी पर्न सक्ने आंकलन गरेको हो। 

प्राधिकरणको असोज १६ गतेसम्मको तथ्यांकअनुसार ७ अर्ब २८ करोड रुपयाँ बराबरको कुल २ हजार ३३७ वटा दाबी पर्न सक्ने आंकलन गरिएको छ भने २ अर्ब ६७ करोड रुपैयाँ बराबरको ७०९ वटा दाबी परेको छ। 

प्राधिकरणकाअनुसार सबैभन्दा बढी दाबी पर्न सक्ने कम्पनीमा सिद्दार्थ प्रिमियर इन्स्योरेन्स पहिलो स्थानमा छ भने ओरियन्टल र हिमालयन एभरेष्ट दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै केहि बर्षअघि मात्रै संचालनमा आएका लघू बीमा कम्पनीमा दाबी पर्दा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा दाबी नै परेको छैन। 

सिद्दार्थ प्रिमियरमा १ अर्ब ८१ करोड रुपैयाँ बराबरको ३१९ दाबी पर्न सक्ने आंकलन गरिएको छ भने ओरियन्टलमा १ अर्ब ४४ करोडको १४७ वटा दाबी परेको। त्यस्तै, हिमालयन एभरेष्टमा १ अर्ब १७ करोड बराबरको २१६ वटा दाबी पर्न सक्ने आंकलन गरिएको छ।

कुन क्षेत्रमा कति ?

सबै भन्दा बढी सम्पती बीमाको दाबी परेको छ। ७ अर्ब २८ करोड दाबी पर्न सक्ने आंकलन गरिएकोमा सम्पती बीमामा मात्रै १ हजार २५८ वटा दाबीबाट ६ अर्ब ११ करोड रुपैयाँ बराबरको दाबि पर्न सक्ने आंकलन गरिएको छ भने ३३४ वटा दाबीबाट २ अर्ब ३१ करोडको दाबी परेको छ। 

असोज दश र एघार गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानले देशभरका बिभिन्न स्थानका घर, पक्कि पुल सडक तथा अन्य पूर्वाधारमा बढी क्षती पुर्याएकाले सम्पती बीमाको दाबी बढी पर्न गएको हो। त्यस्तै काठमाण्डौको कुलेश्वर र ललितपुर क्षेत्रका डुबानमा पर्दा त्यहाँका गोदामहरुमा समेत ठुलो क्षति पुगेको छ। 

सम्पती बीमापछि दोस्रोमा निजि सवारी साधन बापतको दाबी धेरै छ। ५४३ वटा दाबीबाट २ अर्ब ७३ करोड रुपैयाँ बराबरको दाबी पर्न सक्ने आंकलन गरिएको छ भने ५४ वटा गाडीका १८ करोड ५० लाखको दाबी परिसकेको छ। 

त्यस्तै सबैभन्दा बढी दाबी बागमती प्रदेशबाट परेको छ भने सबै भन्दा कम दाबी कर्णाली प्रदेशबाट परेको छ। ७ अर्ब २८ करोडको दाबीमा बागमती प्रदेशबाट मात्रै २ हजार ७९ दाबीबाट ६ अर्ब ९३ करोडको दाबी पर्न सक्ने आंकलन गरिएको छ भने ५ सय ५३ वटा दाबीबाट २ अर्ब ५८ करोडको दाबी परिसकेको बीमा प्राधिकरणले जनाएको छ। 

टाउको दुखाई बन्यो विद्युतीय गाडी  

प्राधिकरणको तथ्यांकअनुसार ५४३ वटा निजि सवारीको २ अर्ब ७३ करोड रुपैयाँ बराबरको दाबी पर्न सक्ने आंकलन गरिएको छ। यसमध्ये बढी र डुबानले काठमान्डौ उपत्यकामा बढी सवारी क्षति भएकाले निजि सवारीको बढी दाबि परेको हो। तर पेट्रोलियम पदार्थबाट चल्ने अन्य गाडीहरुको दाबी भुक्तानीमा हिजोको अनुभव भएपनि विद्युतीय गाडीमा पनि कम्पनीहरुमा अन्यौलता छाएको एक निर्जीवन बीमा कम्पनीका प्रतिनिधिले बताए। 

उनकाअनुसार एकातर्फ विद्युतीय गाडीको ब्याट्री नै मूल कुरा हुने भएकाले ब्याट्री नै परिवर्तन गर्नुपर्ने हुँदा त्यसले कति लागत ल्याउने हो भन्नेमा स्पष्ट छैन भने अर्कोतर्फ विद्युतीय गाडीमा के कसरी दाबी पेश गर्ने भन्ने कुरामा सर्भेयरहरु नै अलमलमा पर्दा विद्युतीय गाडीमा परेको दाबी भुक्तानी निर्जीवन कम्पनीका लागि टाउको दुखाई बन्न पुगेको छ।  

95
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका