
गत शुक्रबारदेखि आइतबारसम्म बैंकका फाइनान्स हेडदेखि डेपुटी प्रमुख कार्यकारी र प्रमुख कार्यकारी अर्को बैंकले कस्तो वित्तीय विवरण निकाल्दैछ भनेर एकअर्कासँग अन्तर सम्वादमा थिए। लगभग सबैले सबैसँग कुराकानी गरे। एकले अर्कालाई सोधिरहेका थिए- खराब कर्जा अनुपात (एनपीए) कति पुग्ने भयो? नाफा कति जति देखाउने भइयो? माथिल्लो तहबीचको कुराकानीमा एकलाई अर्काको जवाफ थियो- सबै खत्तम छ। खराब ऋण १० प्रतिशत जति पुग्छ कि? नाफा त देखाउन सक्ने अवस्थै छन्।
लामै कुराकानी भएपनि एकले अर्काको स्वभाव राम्रैसँग चिनेका छन्। त्यसैले एकले अर्कालाई सुनाएको तथ्यांक पत्याउने कुरा भएन। तैपनि सोमबार सार्वजनिक गर्नुअघि सीइओ-सीइओ, डेपुटी सीइओ-डेपुटी सीइओ र फाइनान्स प्रमुख र फाइनान्स प्रमुखबीच सोधखोज भइरह्यो।
‘जुन बैंकले अघिल्लो दिन आफ्नो खराब ऋण बढी आयो भनेर भन्छ, भोलिपल्ट सार्वजनिक हुँदा त्यसको ठिक आधा हुन्छ’ एक बैंकका डेपुटी सीइओले भने, ‘यो यसपालि मात्र होइन, हरेक त्रैमास अगाडि हुने कुराकानी हो।’
चालु आर्थिक वर्ष पुससम्मको वित्तीय विवरणका आधारमा चार वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात ५ प्रतिशत नाघेको छ। ११ वटा बैंकहरुको यस्तो अनुपात ५ प्रतिशत हाराहारीमा देखाएका छन्। पोहोर पुसको तुलनामा १९ बैंकको खराब कर्जा बढेको छ। एभरेष्ट बैंकले भने घटाएको छ। ‘वित्तीय विवरण सार्वजनिक गर्नुअघि एउटा बैंकरले अरु बैंकका धेरैसँग कुराकानी गर्न भ्याउँछ,’ अर्का बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘यसले झुटो बोलेको छ भन्ने सबैलाई थाहा हुन्छ। तर सोध्नु त परिहाल्यो।’
यसपालि दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नुअघि भएका संवादमा लाग्थ्यो- खराब ऋण औसतमा ७ प्रतिशत माथि पुग्छ। आधाउधी बैंकको नाफा २० करोड पनि पुग्दैन। प्रोभिजनिङको आकार नाफाको भन्दा ठूलो हुन्छ। तर, त्यस्तो केही पनि भएन। ‘अघिल्लो दिनको कुराकानी भनेको अर्काको वास्तविकता थाहा पाउने प्रयास गी आफ्नो रणनीति तय गर्नु हो,’ एक बैंकका फाइनान्स प्रमुखले भने, ‘अवस्था सबैको खत्तमै छ। तर खत्तमै देखाउनु पनि भएन। कतिसम्म खत्तम हो भन्ने अनुमान हुँदा भोलि सञ्चालक समिति र बजारलाई डिल गर्न सजिलो हुन्छ।’
बैंकरहरुका अनुसार, पछिल्ला दिनमा बैंकहरुले खराब ऋणको तथ्यांकमा केही न केही छेडखानी गरिरहेका छन्। कसैले एकदमै धेरै देखाएका छन्, कसैले एकदमै कम। ‘कुनै बैंकले पनि एनपीए सही देखाएका छैनन्,’ ती बैंकर भन्छन्, ‘धान्न सकिन्छ है भन्नेहरुले अलिकति कम देखाएका हुन्। यतिसम्म देखाउँदा ठिकै होला भन्ने लाग्नेहरुले अलिकति बढी देखाएका हुन्,’ ती बैंकर भन्छन्, ‘सबैलाई थाहा छ, लगभग १० देखि १५ प्रतिशत ऋणमा समस्या आइसकेको छ।’
बैंकरहरुसँगको संवादका साथै उनीहरुले सार्वजनिक गरेको खराब ऋण अनुपातको तथ्यांकप्रति राष्ट्र बैंकका अधिकारीहरु गम्भिर देखिएका छन्। राष्ट्र बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकमा बढ्दो खराब ऋणका बारेमा लामै छलफल भयो।
एउटा विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई समस्याग्रस्त घोषणा गर्ने एजेण्डामा छलफल गर्न बसेको सञ्चालक समितिको बैठक अहिलेको परिस्थिति चुनौतीपूर्ण बनेको भन्दै लामै समय थल्यो। बैठकमा बैंकहरुले देखाएको तथ्यांक यथार्थपरक हो/होइन भनेर पनि कुराकानी भयो। राष्ट्र बैंकभित्र विभागस्तरमा पनि यो कुरा भइरहेको छ। त्यही भएर राष्ट्र बैंकले ५ प्रतिशत नजिक खराब ऋण देखाएका केही संस्थाहरुमाथि आकस्मिक सुपरिवेक्षण गर्न टोली पठाउने कि भनेर छलफल गरिरहेको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्त्ता रामु पौडेल बैंकहरुले सार्वजनिक गरेको खराब कर्जा अनुपात वास्तविक हो/होइन भनेर हेर्नु पर्ने बताउँछन्। ‘बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार अधिकांशको खराब कर्जा ५ प्रतिशत हाराहारीमा देखिन्छ,’ उनले बिजमाण्डूसँग भने, ‘अब हामीले यसलाई हेर्नुपर्छ। पहिला बैंकहरुले हामीलाई यसको रिपोटिङ गर्छन्। रिपोटिङ भएपछि वास्तविक छ/छैन भनेर हेर्छौं।’
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































