
आईसीसी टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण ओटीटी प्लेटफर्म ‘एसटीवाइएक्स नेपाल’ले गर्ने भएको छ। यो प्लाटफर्मबाट सेप्टेम्बरसम्मका लागि ‘अर्ली बर्ड अफर’ अन्तर्गत फेब्रुअरी ७ सम्म ३९९ रुपैयाँमा विश्वकपका खेल हेर्न सकिने जनाइएको छ। टेलिभिजनमा भने यो विश्वकप कान्तिपुर टेलिभिजनमा आउनेछ।
नेपाली खेलकुद र डिजिटल प्रविधिको क्षेत्रमा नयाँ अध्याय थपिँदै नेपालकै पहिलो खेलकुद केन्द्रित डिजिटल प्लेटफर्म ‘एसटीवाइएक्स नेपाल’ औपचारिक रूपमा सञ्चालनमा आएको हो। नेपाली खेलप्रेमीहरूलाई लक्षित गर्दै गुणस्तरीयको खेल सामग्री तथा विभिन्न प्रतियोगिताहरुको प्रत्यक्ष प्रसारण उपलब्ध गराउने उद्देश्यसहित यो प्लेटफर्म सुरु गरिएको प्रबन्ध निर्देशक शिशिर पछाइले बताए।
‘एसटीवाइएक्स नेपाल’ मार्फत विश्वकपका सबै खेलहरू नेपाली दर्शकहरूले अब आफ्नै मोबाइल, ट्याब्लेट तथा अन्य स्मार्ट डिभाइसहरूमा सहज रूपमा हेर्न सक्नेछन्।
‘एसटीवाइएक्स नेपाल’ले आफूलाई नेपालकै पहिलो खेलकुद विशेष ओटीटी प्लेटफर्म भएको दाबी गरेको छ। यसमा क्रिकेट समर्थकहरुले इसेवामार्फत भुक्तानी गर्न सक्नेछन्। यसको एप एन्ड्रोइड र आईओएस (आईओएस) दुवै प्लेटफर्ममा उपलब्ध रहेको जनाएको छ।
प्रबन्ध निर्देशक पछाईले विश्वस्तरीय प्रतियोगितालाई नेपाली दर्शकसम्म पुर्याउने लक्ष्य रहेको बताए। ‘टी-२० विश्वकपजस्तो विश्वस्तरीय प्रतियोगितालाई नेपाली खेलप्रेमीहरूको पहुँचमा ल्याउन पाउनु हाम्रा लागि गर्वको विषय हो। ई-सेवा जस्ता सहज भुक्तानी माध्यमको प्रयोगले दर्शकहरूलाई थप सुविधा पुग्ने विश्वास लिएका छौं,’ उनले भने।
टी-२० विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसहित इङ्ग्ल्याण्ड, वेस्ट इण्डिज, इटली र स्कटल्याण्ड छन्।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































