जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • भन्सार विभागमा एक वर्षमा चार महानिर्देशक

भन्सार विभागमा एक वर्षमा चार महानिर्देशक

अर्थमन्त्री विष्णु पौडेलले भन्सार विभागमा एक वर्षमा चार जना महानिर्देशक फेरेका छन्। मन्त्री पौडेलले आफैंले महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाएका छन्। भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा सरुवा गरी उनको ठाउँमा मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको रुपमा कार्यरत श्याम भण्डारीलाई महानिर्देशक बनाइएको छ। पौडेल २०८१ असार ३१ गते मन्त्री नियुक्त हुँदा विभागको महानिर्देशक ढुण्डीराज निरौला थिए। पौडेलले राजनीतिक लाइन नमिल्ने भन्दै निरौलालाई एक महिनामै हटाए। निरौलालाई यसअघिका अर्थमन्त्री वर्षमान पुनले २०८० चैत १९ गते महानिर्देशक बनाए। पौडेलले निरौलाको स्थानमा गत भदौ ६ गते हरिशरण पुडासैनीलाई महानिर्देशक बनाए। तर, आफ्नै रोजाइका पुडासैनीलाई पौडेलले ६ महिना पनि काम गर्न दिएनन्।

पुडासैनीको ठाउँमा फागुनमा भट्टराईले जिम्मेवारी पाएका थिए। मन्त्री पौडेलका विश्वासपात्र मानिने भट्टराई पनि ६ महिनामै सरुवामा परेका छन्। उनलाई मन्त्रालयको कामविहीन महाशाखामा ल्याइएको छ। पौडेलले शुक्रबार मन्त्रालय मातहतका १२ सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन्। भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाएका पौडेलले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी टंकप्रसाद पाण्डेलाई दिएका छन्। भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ।

ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि मन्त्री पौडेलले आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाएका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिलिपकुमार गौतमलाई ठूला करदाता कार्यालय पठाइएको छ। आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठ मध्यमस्तरीय करदाता कार्यालय पुगेका छन्। अर्थमन्त्री पौडेलले मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मेवारी सुमन दाहाललाई दिएका छन्। यसअघि यो महाशाखा प्रमुखमा श्रीकृष्ण नेपाल थिए। सरकारले सहसचिव नेपाललाई गत माघमा नै एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकका रुपमा उठाउने निर्णय गरेको थियो।

अर्थमन्त्री पौडेलले सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशक बनाएका छन्। सहसचिव टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ। देशकै मुख्य भन्सार कार्यालयको नेतृत्व पनि मन्त्री पौडेलले फेरेका छन्। वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेलाई महालेखा नियन्त्रक कार्यालयमा तानेर उनको ठाउँमा सहमहालेखा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीलाई पठाइएको छ।

1230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?