प्रविधि
एप्पल इभेन्ट २०२५ : सेप्टेम्बर ९ मा सार्वजनिक हुँदैछन् आइफोन १७ सिरिजसँगै यी प्रडक्ट

एप्पलले आगामी सेप्टेम्बर ९ मा आफ्ना नयाँ प्रडक्टहरू सार्वजनिक गर्ने भएको छ। एप्पलले सेप्टेम्बर ९ मा अर्को विश्वव्यापी लन्च कार्यक्रमको घोषणा गरेको हो। क्यालिफोर्नियाको एप्पल पार्कस्थित स्टिभ जोब्स थिएटरमा उक्त कार्यक्रम हुनेछ। यस कार्यक्रमको ट्यागलाइन ‘अ ड्रपिङ’ राखिएको छ।
कार्यक्रममा मुख्य रुपमा नयाँ आइफोन १७ सिरिज गरिने अपेक्षा गरिएको छ। यसमा एउटा स्ट्यान्डर्ड मोडेल र दुईवटा प्रो भेरियन्ट रहनेछन्। रिपोर्टहरूका अनुसार अघिल्ला वर्षहरूमा आएको ‘प्लस’ मोडेललाई हटाएर यसपटक नयाँ र पातलो आइफोन १७ एयर ल्याइने सम्भावना छ। यसमा ६.६ इन्चको डिस्प्ले रहने र मोटाई केवल ५.५ मिलिमिटर मात्र हुने बताइएको छ। यो अहिलेसम्मकै सबैभन्दा पातलो आइफोन हुनेछ।
आइफोन १७ मा पनि ठूलो स्क्रिन रहने सम्भावना छ। यसमा ६.३ इन्चको डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट हुने बताइएको छ। अघिल्ला भर्सनहरूमा ६० हर्ज मात्र थियो।
नयाँ आइफोनसँगै एप्पलले एप्पल वाच सिरिज ११, अल्ट्रा ३ र एसई ३ पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। यीमध्ये अल्ट्रा ३ मा सबैभन्दा ठूला सुधार हुने चर्चा छ। यसमा ठूलो डिस्प्ले र छिटो चार्जिङ सुविधा रहने सम्भावना छ। यसका अतिरिक्त एप्पलले एअरपोड्स प्रो ३ पनि ल्याउने तयारी गरेको छ। यो ३ वर्षपछि पहिलो ठूलो अपडेट हुनेछ।
कम्पनीले आफ्नै सफ्टवेयरलाई पनि नयाँ स्वरूपमा प्रस्तुत गर्ने योजना बनाएको छ। ‘लिक्विड ग्लास’ नाम दिइएको यो नयाँ डिजाइनले प्रयोगकर्तालाई फरक अनुभव दिने अपेक्षा गरिएको छ। साथै, एप्पल इन्टेलिजेन्स सुविधामा पनि विस्तार हुनेछ। यसमा विशेषगरी ‘सिरी’लाई एआईमा आधारित नयाँ क्षमता दिने तयारी गरिएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































