
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका करिब चार सय ऋण खाता र तीन सय जति निक्षेप खाता बन्द गरेको छ। राष्ट्र बैंकले ९ महिनाअघि बैंकलाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएपछि यस अवधिमा असुल भएको ऋण र साना निक्षेप खाता बन्द गरिएको हो।
राष्ट्र बैंकको व्यवस्थापन टोलीका संयोजक तथा उपनिर्देशक टीकाराम खतिवडाका अनुसार निक्षेपकर्ताको हित जोगाउन ‘निक्षेपलाई सेयरमा परिणत गर्ने’ विकल्पमाथि छलफल भइरहेको छ।
उनका अनुसार बैंकको कुल सम्पत्ति २ अर्ब ४५ करोड मात्र रहेकाले चार अर्ब ३३ करोड रुपैयाँ दायित्व धान्न नसक्ने अवस्था देखिएको छ। यसले गर्दा करिब १ अर्ब ८८ करोड रुपैयाँ बराबरको खाडल परेको हो।
२०८१ पुस १० गते समस्याग्रस्त घोषणा गरिएको बैंकको व्यवस्थापन पुस ११ गतेदेखि राष्ट्र बैंकको प्रत्यक्ष नियन्त्रणमा आएको हो। बैंकमा करिब १ लाख ७ हजार निक्षेपकर्ताले चार अर्ब ६४ करोड रुपैयाँ राखेका छन् भने एक हजार ६५ जना ऋणीले २ अर्ब ९० करोड रुपैयाँ ऋण लिएका छन्।
यसबीचमा राष्ट्र बैंकले कर्जा असुलीलाई प्राथमिकता दिँदै हालसम्म ६० करोड रुपैयाँ उठाइसकेको छ। यो रकम १ करोड रुपैयाँभन्दा कम ऋण लिएका करिब साढे ४ सय ऋणीबाट असुल गरिएको हो। ठूला ऋणमध्ये १४ करोडसम्मका ऋण पनि असुली प्रक्रियामा रहेका छन्।
निक्षेपकर्तालाई असुल भएको रकमबाट आंशिक फिर्ता दिने कार्य पनि भइरहेको छ। हालसम्म प्रत्येक निक्षेपकर्तालाई न्यूनतम ५ हजारदेखि अधिकतम ३० हजार रुपैयाँसम्म फिर्ता गरिएको छ। सामान्य अवस्थाका लागि ५ हजार रुपैयाँसम्म र स्वास्थ्य उपचारजस्ता विशेष अवस्थामा ३० हजार रुपैयाँसम्म फिर्ता गरिएको हो। यसैगरी, एक लाखभन्दा कम निक्षेप भएका ३०० खाता बन्द गरिएको छ।
यसैबीच, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानले बैंकमा करिब तीन अर्ब २० करोड रुपैयाँको अपचलन भएको देखाएको छ। यसमा १ अर्ब ८० करोड कर्जा, १ अर्ब ६० करोड नगद तथा सेयरबाट हिनामिना भएको उल्लेख गरिएको छ। यसबारे मुद्दा जिल्ला अदालतमा दायर भइसकेको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार






































































