जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सेयर धितोमा बैंकहरुले ऋण लगानी बढ्याे

सेयर धितोमा बैंकहरुले ऋण लगानी बढ्याे

चालु आर्थिक वर्ष साउनमा बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ ऋण लगानी गरेका छन्। बैंकहरुले सेयर धितोमा प्रवाह गरेको ऋण असारको तुलनामा २.७ प्रतिशत धेरै हो। साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा १ खर्ब ४४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ ऋण लगानी गरेका छन्।

असार मसान्तसम्म सेयर धितोमा बैंकहरुको ऋण लगानी १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ थियो। १ करोड रुपैयाँभन्दा बढीको सेयर धितो कर्जा एक महिनामा २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ लगानी भएको छ। असारसम्म १ करोड माथिको ऋण लगानी ९८ अर्ब ९२ करोड रुपैयाँ रहेकामा एक महिनामा २.९ प्रतिशतले बढेर १ खर्ब १ अर्ब ८० करोड रुपैयाँ पुगेको हो।

५० लाख माथि १ करोडसम्मको सेयर धितो कर्जा ५.५ प्रतिशतले बढेर १६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा भने २.७ प्रतिशत घटेर १७ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ। २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ६.७ प्रतिशतले बढेर ८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट सेयर धितो कर्जा लगानीका लागि खुकुलो नीति लिएसँगै बैंकहरुले ऋण लगानी बढाएका हुन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट व्यक्तिगत सेयर धितो कर्जाको १५ करोड रुपैयाँको सीमालाई बढाएर २५ करोड रुपैयाँ पुर्‍याएको छ। साउन पहिलो साता बजारले समेत उचाइ लिएपछि बैंकबाट ऋण लिएर सेयरमा लगानी गर्नेहरुको संख्या बढेको हो। साउन दोस्रो साता नेप्से परिसूचक ३००२ विन्दुसम्म पुगेकामा त्यसयता भने निरन्तर घटिरहेको छ।

530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?