जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • दश बैंकको सम्पत्ति गुणस्तर परीक्षण गर्न बंगलादेशको होवलदार युनुस कम्पनीको टोली शनिबार आउँदै

दश बैंकको सम्पत्ति गुणस्तर परीक्षण गर्न बंगलादेशको होवलदार युनुस कम्पनीको टोली शनिबार आउँदै

दश वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षण गर्न बंगलादेशी कम्पनीको टोली असोज २५ गते आइपुग्ने भएको छ। बंगलादेशको होवलदार युनुस एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स कम्पनीको टोली शनिबार काठमाडौं आउने भएको हो। कम्पनीले नबिल, एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, ग्लोबल आइएमई, एनएमबि र राष्ट्रिय वाणिज्य बैंकको कर्जा पोर्टफोलियो रिभ्यू गर्नेछ।

राष्ट्र बैंकले टे्ण्डरमार्फत गत साउन ७ गते कम्पनी छनोट गरेको थियो। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को ऋण सर्तअनुसार राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको ऋणको परीक्षणका लागि होवलदार युनुस एण्ड कम्पनीसँग ४ करोड ३७ लाख ४५ हजार रुपैयाँमा सम्झौता गरिसकेको छ। लोन पोर्टफोलियो र सम्पत्ति भोलुम ठूलो भएका आधारमा परीक्षणका लागि १० बैंक छानिएका हुन्।

राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले होवलदार युनुस एण्ड कम्पनीले पहिलो चरणमा बैंकहरुको अफसाइट र दोस्रो चरणमा अनसाइट रिभ्यू गर्ने बताए। बंग्लादेशी कम्पनीले ५ महिनाभित्र बैंकहरुको पोर्टफोलियो रिभ्यू गरिसक्नुपर्नेछ। होवलदार युनुस एण्ड कम्पनीसँग यसअघि राष्ट्र बैंकको आन्तरिक लेखा परीक्षण गरेको अनुभव छ।

नेपालले शोधनान्तर घाटा हटाएर बाह्य स्थायित्व कायम गर्नका लागि संरचनागत सुधार गर्न भन्दै आइएमएफबाट (विस्तारित ऋण सुविधा) अर्थात ईसीएफ लिएको छ। आइएमएफले विभिन्न सर्त राखेर ३६ महिने सुधार कार्यक्रम संचालन गरिरहेको छ।

त्यही कार्यक्रमअन्तर्गत किस्ता-किस्तामा रकम पाइन्छ। अहिलेसम्म तेस्रो किस्ता उपलब्ध भइसकेको छ। अबको किस्ता बैंकहरूको लेखा परीक्षणको प्रक्रिया अगाडि बढेपछि प्राप्त हुनेछ। बैंकहरूको अनुगमन तथा लेखा परीक्षण अहिले तीन तहमा हुँदै आएको छ। पहिलो, सम्बन्धित बैंककै आन्तरिक लेखा परीक्षकबाट, दोस्रो बाह्य लेखा परीक्षकबाट र तेस्रो, राष्ट्र बैंकले स्थलगत अनुगमन गरेर।

राष्ट्र बैंकले बैंकहरूको ऋण लगानीमा शंका गरेको छ। त्यसैले उनीहरूको सम्पत्तिमाथि उसले बाह्य लेखा परीक्षकबाट अध्ययन गराउन लागेको हो। पछिल्लो समय खराब कर्जा अनुपात बढी भएका बैंकहरूमध्ये अधिकांश मर्जरवाला छन्। यी बैंकको ऋण डुबेर नोक्सानी व्यवस्थापनमा पनि धेरै रकम थुप्रिएको छ।

455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका