जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

सहारा विकास बैंकको लिलामी शेयरमा आवेदन दिने अवधि सकिदैं

साउन ३० गतेदेखि लिलामी विक्री खुला भएको  सहारा विकास बैंकको शेयरमा आवेदन दिने अवधि भदौ २३ गते सकिने भएको छ । यस अघि भदौ ८ गतेसम्मको अवधि तोकिएकोमा १५ दिन अविधि थप गरी भदौ २३ गतेसम्म कायम गरिएको थियो ।

बैंकले गत जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा विक्री हुन नसकेको संस्थापकतर्फको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको हो ।

यो शेयर खरिदका लागि साविकका संस्थापकहरुलाई पहिलो प्राथमिकता दिने बैंकको भनाई छ । यो शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएकाले सो भन्दा बढी मूल्य अंकित गरि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिनेछ । यो शेयर विक्री प्रबन्धकको जिम्वेवारी एनआईबिएल एस क्यापिटल रहको छ ।

कर संकलन गर्न ३ दिन बैंकका सबै राजश्व काउन्टर खुला राख्न निर्देशन

नेपाल राष्ट्र बैंकले भोलिदेखि तीन दिनसम्म बैंकका राजश्व शाखा कार्यालयहरु अनिवार्य खोल्न निर्देशन दिएको छ।

केन्द्रीय बैंककले सरकारको राजश्व संकलन गर्ने शाखा तथा काउन्टरहरु अनिवार्य खुला राख्न निर्देशन दिएको हो। भदौ २३,२४ र २५ गते त्यस्ता शाखा तथा काउन्टर खुला राख्न निर्देशन दिइएको छ।

बैंकको क्लियरिङ सम्बन्धि काम गर्ने काउन्टरहरु तथा नेपाल क्लियिङ हाउसलाई पनि पूर्ण क्षमतामा सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

सरकारले पछिल्लो समय राजधानीमा भदौ २४ सम्म निषेधाज्ञा आदेश जारी गरेको छ भने देशका मुख्य सहरहरु पनि निषेाधाज्ञा जारी भएको छ।

निषेधाज्ञाकै बीचमा कर तिर्न आउन राजश्व कार्यालयले पत्र काटेपछि व्यवसायीहरुले आइतबार प्रधानमन्त्रीसँगको भेटमा गुनासो गरेका थिए

रिलायन्स लाइफ इन्स्योेरेन्सको आइपिओ नेप्सेमा सूचीकृत

रिलायन्स लाइफ इन्स्योरेन्सले वितरण गरेको आइपिओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। नेप्सेले कम्पनीको २ करोड १० लाख कित्ता सेयर सूचीकरण गरेको छ।

कम्पनीको सेयर सूचीकृत भएसँगै मंगलबारदेखि दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ। नेप्सेले मंगलबारदेखि कारोबार गर्नको लागि मूल्य रेञ्ज तोकेको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०७.५९ रुपैयाँदेखि ३२२.७७ रुपैयाँसम्म मूल्य तोकेको छ। सोही मूल्यका आधारमा मंगलबार म्याचिङ कारोबार भएपछि किनबेच सुरु हुनेछ। कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री गरी चुक्ता पुँजी २ अर्ब १० करोड पुर्‍याएको छ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष भटनागर बिदा भए

नेपाल एसबीआइ बैंकको प्रमुख कार्यकारीको पदावधि सकेर अनुकुल भटनागर फिर्ता भएका छन्।

स्टेट बैंक अफ इण्डिया (एसबीआइ) का कर्मचारी रहेका भटनागर नेपालको कार्यकाल सकेर फिर्ता भएका हुन्।एसबीआइले नेपालको प्रमुख कार्यकारीमा भारतबाटै कर्मचारी पठाउँदै आएको छ। एसबीआइले प्रमुख कार्यकारीका साथै दोस्रो वरीयताका कर्मचारी पनि उतैबाट पठाउँदै आएको छ।

उनी नेपाल बैंकर्स संघका उपाध्यक्ष पनि हुन्। उनको अगुवाइमा संघले बैंकिङ क्षेत्रको खर्च कटौती कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेको थियो।

भटनागरको ठाउँमा दीपककुमार डे आउँदैछन्। उनी एसबीआइको नायव महाप्रबन्धक तहका हुन्। भटनागर प्रमुख नायव महाप्रबन्धक हुन्। भटनागरलाई एसबीआइले कुन ठाउँमा खटाउँछ भन्ने टुंगो लागिसकेको छैन।

एनसेलले फोरजी ग्राहकका लागि ल्यायो आकर्षक योजना

एनसेल आजियाटाले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ। योजना अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको ननस्टप मजा लिएर बोनस डेटाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीको युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ।

‘प्लस’ थिम अन्तर्गत ल्याइएका यी ननस्टप अफरहरु भदौ १८ गते देखि संचालनमा आएका छन्। ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथमा हरेक पलमा जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने कम्पनीको दाबी छ। योजना अन्तर्गत सामाजिक संजाल प्याक सुचारु गरेपछि त्यस प्याकको समय सीमा बाँकी भएसम्म ननस्टप सेवा लिन सक्ने कम्पनीले जनाएको छ।ग्राहकले सात दिनको ननस्टप टिकटक प्याक करसहित १ सय २७ रुपैयाँ ६९ पैसामा एक हप्ताभरी टिकटकको ननस्टप सेवा पाउनेछन्। ती ग्राहकले अन्य प्रयोजनका लागि ४ जीबी डेटा बोनस पाउने कम्पनीले जनायो।

युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि ननस्टप प्याक समेत रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकले आफ्नो आवश्यकता अनुसार करसहित ३१ रुपैयाँ ९२ पैसामा एक दिनको समयसीमा रहेको प्याक चलाउन सक्नेछन्। ती ग्राहकले ४ जीबी बोनस डेटासहितको सात दिन अवधिको युट्युब वा फेसबुकको कम्बो प्याक मात्र करसहित १ सय ९१ रुपैयाँ ५४ पैसामा सेवा लिन पाइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटा सहितको ननस्टप युट्युब प्याक करसहित ४ सय ५९ रुपैयाँ ६८ पैसामा खरिद गर्न सक्छन्। बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। सात दिन वा ३० दिनको ननस्टप प्याक खरिद गर्ने ग्राहकका लागि विशेष थप योजना पनि रहेको कम्पनीले जनाएको छ। ग्राहकले प्याक सेवा लिएपछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र कर सहित २५ रुपैयाँ ५४ पैसामा ३५०० एमबि थप डेटाको लिन सक्ने छन्।

सो डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युब चलाउन प्रयोग गर्न सक्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार फोरजी ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स१ह्यास डायल गरी अफर लिन सक्नेछन्। ग्राहकले एनसेल एप तथा डिजिटल बालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभु पे मार्फत प्याक लिनसक्ने कम्पनीले जनाएको छ।

एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकले मन पराउने सामाजिक संजाल सहजै पहुँच सुनिश्चित गराउने गरि आकर्षक प्याक ल्याएको बताए।

सामसङको नोट २० र नोट २० अल्ट्रा आजदेखि बजारमा

सामसङले ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ। आजैदेखि बजारमा उपलब्ध भएको दुवै स्मार्ट फोनहरुलाई काम गर्न र गेम खेल्न (वर्क एण्ड प्ले) थिममा बनाइएको कम्पनीले जनाएको छ।ग्यालेक्सी नोट २० सिरिजका मोबाइलले कम्प्युटर जस्तै काम गर्न सक्ने र प्रो गेमहरु सहजै खेल्न सकिने कम्पनीले बताएको छ। नोट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको स्मार्ट फोनलाई कार्यसम्पादनमा उत्कृष्टता ल्याउने गरी बनाइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘नेपालमा ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्रा ल्याउँदा हामी असाध्यै उत्साहित छौं। यो फोनको प्रि-बुकिङमा देखिएको उत्साहजनक सहभागिताले हामीलाई धेरै नै उत्साहित बनाएको छ। हाम्रो नोट फोनका ग्राहकहरुले हरेक वर्ष आफ्नो मोबाइल फोन अपग्रेड गर्नुहुन्छ किनभने नोट फोनको तुलनामा अरु फोनले त्यतिको काम गर्ने सक्दैन। यसमा निरन्तर वर्क एण्ड प्ले गर्न सकिन्छ,’ सामसङ नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले बताए।

सामसङले प्रि-बुक गर्ने ग्राहकहरुलाई ग्यालेक्सी बड प्लस सित्तैमा दिएको थियो। यसैगरी ग्यालेक्सी वाच थ्रि र सामसङ एलइडी टिभीमा पनि छुट दिएको थियो। प्रि-अर्डर नगरेका प्राहकहरुले पनि यी स्मार्ट फोन किन्दा बिभिन्न सुविधाहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्यालेक्सी नोट २० मिस्टिक ब्रोन्ज, मिस्टिक ग्रे र मिस्टिक ग्रीन रंगमा उपलब्ध छ भने ग्यालेक्सी नोट २० अल्ट्रा मिस्टिक ब्रोन्ज र मिस्टिक ब्ल्याक रंगमा पाइन्छ।

ग्यालेक्सी नोट २० को बजार मूल्य १ लाख ९ हजार ९ सय ९९ रुपैयाँ छ तोकिएको छ। यसैगरी ग्यालेक्सी नोट २० अल्ट्राको बजार मूल्य १ लाख ३९ हजार ९ सय ९९ रहेको कम्पनीले जनाएको छ।

दुवै सेट किन्दा ग्राहकहरुले एकपटकको टुटफुटमा एक वर्षको बीमा सुविधा प्राप्त गर्न सक्नेछन्। यी मोबाइल सेट किन्न बिभिन्न बैंकबाट मासिक किस्तामा किन्न सकिने सुविधा पनि कम्पनीले दिएको बताएको छ। यसैगरी पुरानो सामसङको स्मार्टफोन साट्ने सुविधा पनि उपलब्ध भएको विज्ञप्तिमा जनाइएको छ

जग्गा कित्ताकाट खुल्यो

सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन ।

२०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट अर्यालले फुकुवा गरेकी हुन ।‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ’ मन्त्रालयको निर्णयमा भनिएको छ ।
मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।

खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न भन्दै मन्त्रालयले तीन वर्ष पहिले गरेको त्यो सर्वसाधारणका लागि अभिसाप बनेको थियो । कित्ताकाट गरेबापत प्रतिआना १ लाख ५० हजार रुपैयाँसम्म नजराना बुझाउनु परेको गुनासो अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमा पुगेको छ । दहित आफैले १३ वटा कम्पनी र व्यक्तिलाई भने जग्गा प्लटीङ गर्न पाइने निर्णय गरेका थिए ।

आईफोनमा अहिलेसम्मकै ठूला फिचरहरु ल्याउने एप्पलको घोषणा

एप्पलको वल्र्डवाइड डेभलपर्स कन्फरेन्स अमेरिकाको क्यालिफोर्नियामा सोमबारदेखि सुरु भएको छ । यो सम्मेलन ८ जुन अर्थात् शुक्रबारसम्म चल्नेछ । सोही मौकामा उत्कृष्ट स्मार्टफोन निर्माण गर्दै आएको अब्बल कम्पनी एप्पलले केही महत्वपूर्ण घोषणाहरु गरेको छ । यी घोषणा खासगरी आईफोनलाई सुरक्षित, भरपर्दो र परिष्कृत बनाउन सहयोग गर्ने आईफोनका फिचरहरुसँग सम्बन्धित रहेको छ ।

सफारी ब्राउजर
आईओएस १२ मा सफारी ब्राउजरमा इन्टेलिजेन्स ट्राकिङ प्रिभेन्सन जस्ता फिचरहरु पाउन सकिन्छ । जसको सहायताबाट सफारीले त्यस्ता साइटमाथि प्रतिबन्ध (ब्लक) गर्नेछ । यसले युजर (प्रयोगकर्ता)को अनुमतिविनै युजरको ट्राक गरिरहेको हुन्छ । साथसाथै कुनै वेबसाइटमा नयाँ आईडी बनाउँदा सफारीले आफैँ एउटा बलियो पासवर्ड राखिदिन्छ जसलाई प्रयोगकर्ताले आफ्नो हिसाबले बदल्न पाउनेछन् ।

नयाँ एनिमोजी
एप्पलले आफ्नो आईफोन १० मा इमोजीजस्तै विभिन्न खाले एनिमोजी पनि लन्च गरेको थियो । अब त्यसमा चारवटा नयाँ एनिमोेजी पनि थप्ने भएको छ । त्यसमा घोष्ट, कोला, टाइगर र टी–रेक्स नामका चार नयाँ एनिमोजी पनि थपिनेछन् ।

म्यासेज क्यामरामा नयाँ इफेक्ट
एप्पलले नयाँ अपडेटसँगै म्यासेज र फेसटाइममा एनिमोजी, फिल्टर, टेक्स्ट र वाटर कलर जस्ता नयाँ इफेक्ट मिसाउने भएको छ । यसमा नयाँ लेबल र आकार दिइएको छ जसबाट प्रयोगकर्ताले फोटोका कुनै पनि खास भागमा नयाँ क्याप्सन र टाइटल हाइलाइट गर्न पाउनेछन् ।

कार प्लेमा गुगल म्याप्स
नयाँ आईओएस अपडेटसँगै एप्पलले कार प्ले फिचरमा गुगल म्याप्सलाई पनि सपोर्टिभ बनाएको जनाएको छ । यसबाहेक कार प्ले वेजलाई लाई अब यसले सपोर्ट गर्नेछ ।

ग्रुप नोटिफिकेसन
यो पटक एप्पलले ग्रुप नोटिफिकेसन फिचर पनि ल्याएको छ । यसबाट प्रयोगकर्तालाई अब हरेक नोटिफिकेसन छुट्टाछुट्टै देख्न पर्नेछैन । यो फिचरले अब एकसाथ ग्रुपमा देखिनेछ, जो स्क्रिनको कम स्पेसमै रहनेछ ।

इमोजीको सट्टा मेमोजी

यो अपडेटमा प्रयोगकर्तालाई एनिमोजीजस्तै आफ्नो मेमोजी पनि बनाउन मिल्ने गरिएको छ । यसमा प्रयोगकर्ताले म्यासेज एपमा आफ्नो खुसीले स्टाइलिस मेमोजी बनाउन पाउनेछन् ।

एकैपटक ३२ जनासँग भिडियो कल !
एप्पलले भिडियो कलका लागि आफ्नो एप फेस टाइममा ठूलो परिवर्तन गरेको छ । अब आईफोन÷आईप्याडमा प्रयोगकर्ताले फेसटाइम एपको सहयोगमा एकैपटक ३२ जनासँग भिडियो कल गर्न पाउनेछन् ।

नोटिफिकेसनमा आयो – डु नट डिष्टर्ब (डीएनबी) !
आईफोनको डु नट डिष्टर्ब फिचरमा केही नयाँ गरिएको छ, जसको सहयोगमा प्रयोगकर्ताले एक टाइमिङ सेट गर्न पाउनेछन् । योसँगै प्रयोगकर्तालाई कुनै कल वा म्यासेजको नोटिफिकेसन आउनेछैन ।

सामान्य एप्लिकेसनमा परिवर्तन
एप्पलले एप्पल बुक्स, एप्पल न्युज, स्टक्स जस्ता आफ्ना सामान्यखाले एप्लिकेसनको डिजाइनमा पनि केही परिवर्तन गरेको छ ।

अरु एपसँग च्याट गर्न ‘एप्पल सिरी’
यो एपले दोस्रो एपसँग च्याट गर्नेछ । एप्पलले आफ्नो भर्चुअल असिष्टेन्टको लागि नयाँ शर्टकट बनाउने पनि घोषणा गरेको छ । यसको सहायतामा सिरीले आफँै एपहरुको नियन्त्रण गर्नेछ । प्रयोगकर्ताले सिरीलाई भ्वाइस कमान्ड पनि गर्न सक्नेछन् । एजेन्सीहरुको सहयोगमा

प्रभु बैंकमा ९ सय भन्दा बढि पत्रकारहरुको खाता नै असुरक्षीतः कहिले रकम होल्ड त कहिले खाता नम्बर परिवर्तन, कहिले रकम नै गायब ?

नेपालमा २७ वटा वाणिज्य बैंक सञ्चालित छन् । तर, बिना टेण्डर एउटा बैंंकले विगत १० वर्षदेखि ९ सय भन्दा बढि पत्रपत्रिकाका खातामा एकाधिकार जमाएको छ भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो । कथा किष्ट बैंक देखिको जब किष्ट बैंकलाई प्रभु बैंकले कौडीको मुल्यमा किष्ट बैंकको उच्च व्यवस्थापन टिम जेल भित्र भएको बेला हडप्न सफल भयो । त्यसपछि उसको एकछत्र राज किष्ट बैंकको भव्य महलमा शुरु भयो भन्दा अब चाहि फरक पर्दैन ।

तत्कालिन किष्ट बैंकका सीइओ कमल ज्ञवलीले विदेशबाट अधिकाश मेट्रिरियल ल्याएर बनाएको त्यो भव्य अनामनगरको महलमा किष्ट बैंकको बोर्ड फ्याकी प्रभु बैंकको बोर्ड लगाएर सीइओ अशोक शेरचनले राज शुरु गरे ।

तत्कालीन किष्ट बैंकका सीइओ कमल ज्ञवलीले नेपाल सरकारको सूचना तथा प्रशारण विभागका तत्कालीन महानिर्देशकलाई केही दक्षीणा र उनीका आफन्त १ दर्जन कर्मचारी बैंकमा भर्ना गरि दिए र सबै प्रेस काउन्सिल नेपालबाट क, ख, ग, घ वर्गमा वर्गिकरण भएमा पत्रपत्रिकाहरुको खाता खोल्ने टेण्डर पाए । त्यो दायित्व अहिले प्रभु बैंकमा आएको छ ।

प्रेस काउन्सिल नेपालबाट वर्गिकरणमा परेका करिब ९ सय पत्रपत्रिकाहरुले अनिवार्य रुपमा प्रभु बैंकमा खाता खोल्नै पर्दछ । अरु २६ बैंकमा खाता भए पनि सूचना तथा प्रसारण विभागले लोककल्याणकारी विज्ञापनको पैसा दिदैन । विभागले एउटा पत्र दिन्छ । १ हजारमा खाता खोलिदिने बारे सो पत्रको आधारमा प्रभु बैंकले पत्रपत्रिकाको करेन्ट एकाउण्ट खोली दिने गर्दछ ।

सूचना तथा प्रसारण विभागले १ महिना वा ३ महिना वा ६ महिनामा ९ सय भन्दा बढि पत्रपत्रिकाको पैसा प्रभु बैंकको खातामा पठाईदिन्छ तर प्रभु बैंकले उक्त पैसा १ हप्ता देखि १५ दिनसम्म् होल्ड गर्ने गरेको पत्रकारहरुको गुनासो छ । ९ यस पत्रिकाको मासिक ३ करोड भन्दा बढि पैसा बिना व्याज १५ दिन होल्ड गरि चलाएको भेटिएको छ ।

अर्को अचम्मको कुरा के छ भने सूचना तथा प्रसारण विभाग किन अन्य बैंकको पत्रकारहरुको खातामा पैसा जम्मा गर्दैन । प्रभु नै किन चाहियो ? कारण हो विगत देखिको परम्परा र विगतकै दान दक्षिणा एक कर्मचारीले पंक्तिकारलाई बताए ।

प्रभु बैंकका सीइओ अशोक शेरचनलाई पत्रकारहरुले पैसा ढिलो आएको, १ हजारमा विभागकै सिफारिसमा खाता खोलीको तर, १० हजार होल्ड गरिएको र खातावालाई थाह नै नदिई खाता नम्बर परिर्वतन गरिएको गुनासो लिएर गए पनि सुनुवाई नगरेको म आफै भुक्तभोगी हुँ ।

जब कि सूचना तथा प्रसारण विभागको लेटरप्याडमै एकहजार रुपैयामा करेन्ट एकाउण्ट खोलि दिनु भन्ने पत्र प्रभु बैंकलाई दिए पनि खाता सञ्चालन पछि १० हजार खातामै होल्ड गरेर लुट मच्चाएको भेटिएको छ । यतिमात्रै होइन क वर्गको पैसा ख वर्ग ग वर्गको पैसा घ वर्गको पत्रपत्रिकाको खातामा राखेर रकम नै गायब गराएको देखिन्छ । यी र यस्ता कारणले ९ सय भन्दा बढि पत्रकारहरुको खाता प्रभु बैंकमा असुरक्षीत बन्दै गएको प्रस्टै देखिन्छ ।

केही महिना अगाडी प्रभु बैंकका सीइओ अशोक शेरचनको निर्देशनमा ९ सय पत्रकारहरुका खाता नम्बर सोध्दै नसोधी परिवर्तन गरिए र १ हजार ब्यालेन्समा खोलीएको खातामा १० हजार रोक्का गरियो । यो कस्तो बैकिङ्ग हो । गर्भनर साब ? प्रभु बैंकलाई कुनै छानवीन वा सोधपुछ पनि हुँदैन ?

भनिन्छ प्रभु बैंकका सीइओ अशोक शेरचन पनि किष्ट बैंकका सीइओ ज्ञावलीले बनाएको भवनमा बसी ज्ञावलीकै नियतको काम गर्दैछन् भन्दा चाहि फरक नपर्ला । प्रभु बैंकमा २ रुपैयाको अधिकार सीइओ बाहेक कसैलाई छैन । सबै उच्च कर्मचारी हली गोठालो जस्तै हुन्, भन्दा पनि फरक पर्दैन ।

अधिकार एकाधिकार गरि सोझा साझा कर्मचारलीलाई दवाउने काम भएपछि तत्कालीन डिपुटी सीइओ तारा मानन्धरले राजीनामा नै दिर गए । अन्य केही उच्च कर्मचारीहरुले बैंक छाडे । कर्मचारी माथी चर्को दमन पछि साना तहका सयौ कर्मचारहिरु अन्य बैंकमा पुगेका समाचार हामीलेनै लेखेका थियौ ।

प्रभु बैंकको चाइनिज पे–कार्ड ?
प्रभु बैंकले हालै जारी गरेको चीनबाट आयात गरिएको चाइनिज पे भिसा कार्डको कथा डरलाग्दो छ । राष्ट्र बैंकले एउटा एटिएमबाट अर्को बैंकको एटिएममा पैसा झिक्दा निशुल्क भनेको छ । तर, प्रभु बैंकको सो कार्डबाट ठूला नबिल, एनआईसी एशिया र नेपाल इन्भेष्टमेण्ट बैंकमा चन्दैन । पैसा झिक्न मिल्दैन । यो कस्तो बैकिङ्ग हो ?

मंहगो शुल्क तिरी प्रभु बैंकले केही महिना अगाडी बजारमा ल्याएको यो कार्डले लकडाउन र निषेधाज्ञामा ग्राहकले सास्ती व्यहोर्नु पेरको हामी भुक्तभोगीहरुबाटै प्रष्ट देखिन्छ । सेवा राम्रो र चमत्कारी दिउ । पैसा लिउ । तर प्रभु बैंकले सधै ग्राहकलाई दुख दिने काम गरेको देखिन्छ । अरु ठूला २६ वाणिज्य बैंकका भिसा कार्ड सबै बैंकमा चल्ने गरेका छन् । विकास बैंकका एटिएम समेत चल्ने गर्दछ । तर, प्रभु बैंकको चल्दैन । यसको खोजी पनि हुनेनै छ ।

खराज कर्जा बढ्यो ?
केही समय यता निकै धेरै खराब कर्जाका साथ अघि बढेको बैंकले छोटो समयमै खराब कर्जालाई ५ प्रतिशत भन्दा मुनी झार्न सफल भएको थियो । तर, यस त्रैमासमा भने अलिकती फरक अवस्था देखियो । गत आर्थिक वर्षको प्रथम त्रैमासिकमा २.५१ प्रतिशत रहेको खराब कर्जा अहिले भने यस त्रैमासमा आउँदासम्म बृद्धि भएर ३.३२ प्रतिशत पुगेको छ । यो वाणिज्य बैंकको इतिहासमै डरलाग्दो अवस्था हो । ५ प्रतिशत भन्दा बढि खराब कर्जा भए राष्ट्र बैंकले प्रभु बैंक हस्तक्षेप गर्न सक्दछ ।

स्प्रेडदर घट्नु पर्नेमा बढ्यो
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २०७७ साल असार महिनासम्म ४.४० प्रतिशत स्प्रेडदर कायम गर्नु भने पनि प्रभु बैंकको स्प्रेडदर भने बढ्लै ५ .१५ प्रतिशत पुगेको छ । यसबाटै प्रस्ट देखिन्छ । प्रभु बैंक कसरी चलेको छ भनेर । यो अर्को डरलाग्दो पक्ष हो ।

प्रतिशेयर आम्दानीमा गिरावटः
चुत्ता पुँजीमा १६ प्रतिशत बृद्धि भएको र खुद मुनाफामा ५ प्रतिशतको बुद्धि भएको कारणले गर्दा कम्पनकिो प्रति शेयर आम्दानीमा ९ प्रतिशतको बृद्धि भएको छ । कम्पनीको प्रति शेयर आम्दानी २४ रुपैया ३७ पैसा रहेको देखिन्छ । प्रभु गु्रप राम्रो संस्था भएपनि बैंक व्यवस्थापन टिमको बदमासी र असक्षमताले बैंक ओरालो लाग्दै गएको देखिन्छ । कर्मचारी भर्ना देखि कर्जा प्रवाहसम्म बैंक भित्र भएका बदमासीले प्रभु बैंक प्रभूको इच्छाबाट चलेको संकेत देखा पर्न थालेको छ । सचेत भया ।

कोरोना बीमाको ‘निजी ल्याब’ विवाद टुंग्याउन बन्यो छानविन समिति

सरकारी अस्पतालको रिपोर्ट भएमात्रै कोरोना बीमाको दावी दिने सरकारी निर्णयको चौतफी विरोध भएको छ । बिहिबार बीमा समितिले कोरोना बीमामा फेक दावी परेको भन्दै सरकारी मान्यताप्राप्त अस्पतालको रिपोर्टको आधारमा बीमा दावी दिन सबै निर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

पहिले कोरोनाको परिक्षण सरकारी अस्पतालले मात्रै गर्दै आएका थिए । त्यै अनुसार बीमाको पोलिसि मापदण्ड बनाइयो । अहिले सरकारले केही निजी अस्पतालहरुलाई पनि कोरोना परिक्षण गर्न अनुमती दिएपछि सरकार र बीमा कम्पनीविच समन्वय भएन । सरकारले निजी अस्पतालहरुलाई पनि कोरोना परिक्षणको अनुमति दिएपछि दावी ह्वात्तै बढेको थियो ।

कोरोना रिपोर्ट निजी अस्पतालहरुले फेक बनाएको भन्दै बजारमा तिब्र गुनासो बढेपछि निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमा गराउनै छाडेका छन । फेक क्लेम परेको भन्दै बजारमा तिव्र हल्ला चलेपछि समितिले सरकारी अस्पतालको रिपोर्टलाई मात्रै मान्याता दिने निजी अस्पतालहरुले गरेको रिपोर्टको आधारमा दावी भुत्तानी नगर्न समितिले निर्देशन गरेको थियो ।

बीमा समितिको निर्देशन २ दिन पनि टिक्न पाएन । समितिले सो निर्देशनमाथी चौतर्फी दवाव आएपछि कोरोना बीमाको मापदण्ड पुर्नविचार गर्न एक कार्यदल बनाइएको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताए । बीमा समितिले कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका डा. गुणनिधी शर्मा र अर्थ मन्त्रालयका बजेट महासाखाका कर्मचारी, नेपाल बीमक संघको प्रतिनिधि सम्मिलित कार्यदल बनाएको छ ।

कोरोना बीमाको अध्यायन गर्न बनेको कार्यदलको सुझाव आएर मापदण्ड परिवर्तन नहुन्जेल सरकारी ल्यावमा परिक्षण गरिएको रिपोटलाई मात्र मान्यता दिने समितिका अध्यक्ष चाँपागाईले बताए । कार्यदलले चाँडो अध्यायन प्रतिवेदन बुझाएपछि बिमा समिति जान्छ । समितिको बोर्डले पास गरेपछि अर्थमन्त्रालयको अनुमती लिएपछि नयाँ मापदण्ड र अण्डरराइटिङ प्रक्रिया नयाँ आउनेछ ।

बीमा समितिले नयाँ मापदण्ड नआउन्जेल सरकारी मान्यताप्राप्त अस्पतालको ल्यावको रिपोर्टलाई मात्र मान्यता दिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बीमा समितिले ‘कोरोना बीमा मापदण्ड २०७७’ संशोधन गर्नेछ ।

सिद्धार्थ बैंकद्वारा दायित्वलाई सहयोग

सिद्धार्थ बैंक लिमिटेडले २०७७ भाद्र २१ गते आइतबार सामाजिक उत्तरदायित्व अन्र्तगत दायित्वलाई दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि रु पाँच लाख सहयोग प्रदान गरेको छ ।

युवाहरुलाई सरकारसगँको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रर्वद्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई बैंकले पुर्याएको यस सहयोगबाट केहि हदसम्म भएपनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।

ग्रामीण बैंकिङलाई प्रोत्साहन गर्छौं : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्रामीण बैंकिङ सेवालाई केन्द्रीय बैंकले प्राथमिकतामा राखेको बताएका छन् । लघुवित्तका पिता भनेर चिनिने स्वर्गीय हरिहरदेव पन्तको ५औं पुण्यस्मृति दिवशका अवसरमा आयोजित वेविनार कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले ग्रामीण बैंकिङलाई निरुत्साहित गर्ने राष्ट्र बैंकको योजना नभएको बताए ।

लघुवित्तको संख्या अत्यधिक भएको र यसको सेवा अझ प्रभावकारी बनाउनका लागि नयाँ संस्थालाई सञ्चालन अनुमति रोक लगाइएको गभर्नर अधिकारीको भनाइ थियो । सही व्यक्तिले, सही किसिमले वित्तीय सेवा पाउन् भन्ने चाहाना राष्ट्र बैंकको भएको उनले बताए ।

‘ग्रामीण भेगका विपन्न वर्गमा लघुवित्तमार्फत जिविकोपार्जनको आधार बनोस्’ उनले भने । अधिकारीले स्वर्गीय हरिहदेव पन्त एक उदाहरणीय व्यक्ति भएको पनि बताए । पन्तले वित्तीय क्षेत्रका लागि गरेको योगदान भुल्न नसकिने उनले बताए ।

कार्यक्रममा पूर्व गभर्नर गणेशबहादुर थापाले पछिल्लो समय नीति निर्माताहरुले समेत लघुवित्तको महत्वबारे बुझ्न नसकेको जस्तो देखिएको बताए । नीति निर्माताहरुले लघुवित्तको विषयमा पर्याप्त जानकारी नराखेको जस्तो देखिएको बताए ।

कोरोनामा पनि लघुवित्तको भूमिका महत्वपूर्ण हुने भन्दै अब केन्द्रीय बैंक र सरकारले लघुवित्तलाई थप प्राथिमकतामा राख्नु पर्ने पूर्व गभर्नर थापाको भनाइ थियो । ‘कोरोनाका कारण गरिबीको रेखामूनी रहेकाको संख्या १८ प्रतिशतबाट ४५ प्रतिशतभन्दा धेरै पुग्न लागेको तथ्यांक आउँदैछ, लघुवित्तलाई अब थप प्राथमिकता दिनु पर्नेछ,’ उनले भने ।

राष्ट्र बैंकले लघुवित्तको नयाँ लाइसेन्स रोक्ने र भइरहेकालाई मर्जरमा प्रोत्साहन गरेर संख्यात्मक हिसाबले घटाउने नीति लिएको भन्दै उनले त्यो नीति भने राम्रो भएको बताए ।

कार्यक्रममा धितोपत्र बोर्डका पूर्ब अध्यक्ष डा रेबतबहादुर कार्कीले कोरोनाका कारण लघुवित्त क्षेत्र मर्माहत भएको बताए । बैंकले समेट्न नसकेको तत्लो वर्गको क्षेत्रलाई सुविधा दिने लघुवित्तहरु कोरोनाका कारण निकै समस्यामा परेको बताए । यसलाई राज्यले पनि हेर्नुपर्ने उनले बताए ।

कार्यक्रममा ‘समृद्धिको मार्गमा २०७७’ नामक पुस्तक पनि विमोचन गरिएको छ । निर्धनबाट सुविधा लिएर जिविकोपार्जन गरेका उद्यमीहरुको कथा समेटेर निर्धनले समृद्धिको मार्गमा पुस्तक प्रकाशन गर्दै आएको छ ।

लघुवित्तका पिता मानिने हरिहर देव पन्तले स्थापना गरेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको अहिले उनकै छोरा जनार्द्धनदेव पन्तले कार्यकारी नेतृत्व गरिरहेका छन् । निर्धन देशकै ठूलो र सबैभन्दा ठूलो नेटवर्क भएको लघुवित्त संस्थासमेत हो ।