जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२

चैत महिनाको तलब दिए/नदिएको बारे श्रम विभागले अनुगमन गर्ने

होटल व्यवसायीले आफ्ना श्रमिक तथा कर्मचारीलाई गत चैत महिनाको तलब दिए÷नदिएको बारे श्रम विभागले अनुगमन गर्ने भएको छ । सम्पूर्ण उद्योग प्रतिष्ठानले आफ्ना कर्मचारीलाई चैत महिनाको तलब अनिवार्य दिन सरकारले निर्देशन दिए पनि केही होटल व्यवसायीले पारिश्रमिक नदिएको गुनासो आएपछि विभागले अनुगमन गर्न लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा व्यवसायीले मुलुकभर रहेका सम्पूर्ण होटलमा कार्यरत श्रमिकलाई तत्काल चैत महिनाको पारिश्रमिक दिने विषयमा सहमति जनाएका थिए । होटल एशोसियशन नेपाल एवं संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले उक्त कार्यको सहजीकरण गर्ने र सोको अनुगमन श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम तथा रोजगार कार्यालयले गर्ने निर्णय भएको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिनुभयो । सरकारले प्रदान गरेको आर्थिक सुविधाको सदुपयोग गरी श्रमिकको पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

लकडाउनलाई निरन्तरता दिइने

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरे पन िकति दिन थप्ने भन्ने विषयमा बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले तय गर्नेछ ।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सही रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकमा लकडाउनका विषयमा थप छलफल हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको सङ्क्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र सङ्क्रमणको अवस्थाका विषयमा छलफल भएको छ, लकडाउनका कारण नागरिकको जीउज्यानको सुरक्षा गरी सङ्क्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बैठकले निकालेको छ ।”

बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले सङ्क्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै कोरोना सङ्क्रमणलाई रोक्ने र शून्यमा झार्ने प्रयासमा सबै लागिरहने विषयमा छलफल गरेको छ ।

उद्योगी र व्यवसायीलाई २/३ प्रतिशत व्याज छुट दिने हो भने निक्षेपकर्तालाई चाहि कति दिने हो ? त्यसकारण भएका कार्यक्रमलाई राहत र सहुलियत दिँदै अगाडी बढ्नु आजको आवश्यकता हो

डा. युवराज खतिवडा नेपालको राजनितिमा चर्चित व्यक्तित्व मानिनुहुन्छ । प्रधामन्त्री केपी शर्मा ओलीको दाहिने हातकोरुपमा डा. खतिवडालाई अहिले हेरिने गरिएको छ । यो विषम र अप्ठ्यारो अवस्थामा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हाँकिरहेका डा. युवराज खतिवडालाई अब चाहि राष्ट्रिय सभाको सदस्य नियुक्त गर्ने बाटो खुलेको देखिन्छ । नेपालको अर्थनीतिमा अब्बल मानिएक डा. खतिवडालाई यो बेला बजेट निर्माणको चटारो छ । विश्वभरी फैलिएको अदृश्य शक्तिको कोरोना भाईरसका कारण विश्व अर्थतन्त्र हल्लिएको छ ।
यसबाट नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने देखिन्छ । आगामी बजेट कस्तो आउँदैछ । बजेट तयारीका लागि छलफल कहाँ पुगेकोछ । लामो समयदेखि भएको लकडाउन फेरि थप्ने कि खुकुलो बनाउने, राहतका कुरा बारे राज्यले के नीति बनाउँदै अछ । यि र यस्तै विषयमा आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले टेलिफोनमा अर्थ तथा सूचना तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता डा. यूवराज खचिवडासंग गरेको कुराकानीका केही अंशः

० अर्थमन्त्रीज्यू बजेट बारे छलफल शुरु गरेको देखिन्छ । यसलाई कसरी अगाडी बढाउँदै हुनुहुन्छ त ?
पछिल्लो समयमा देखिएका सबै खाले चुनौतीहरुलाई पनि सम्बोधन गर्ने तयारी साथ मन्त्रालय तहको छलफल गरिरहेको अवस्था छ । साथै सबै सरोकारवालाहरुसंग पनि निरन्तर छलफल र बहस गरिरहेकाछौं । बजेट यसपटक बनाउनु आफैमा चुनौती र अवसर पनि छ । सबै ठूला देखि सानालाई सुश्म रुपमा अध्ययन गरि बजेट निर्णय गरिनु पर्दछ । यसकालागि हामीले तयारी थालेका चाहि छौं ।

० अर्थमन्त्रीज्यू विदेशी निकाय, दातृ निकाय विश्व बैंक लगायत सबै सरोकारवालासंग चाही कसरी बहस र छलफल गर्नु भएको छ ?
भेटघाट हुँदा व्यक्तिगत कुरा र गफ गाफ धेरै हुने गर्दथियो । तर, यो विषम परिस्थितिमा डिजिटल प्रविधिबाट लिखित रुपमा र सहि तरिकाले सबै सुझाव आउने गरेको छ । यसबाट समय र इन्धनको पनि बचत र उहाँहरुका कुरालाई लिपीबद्धरुपमा हामीले प्राप्त गरेको अवस्था छ । सबै उद्योग व्यवसायीहरुका छाता संगठनसंग चाही छलफल गरेको छौ । प्रदेश र जिल्लागत रुपमा छलफल गर्ने अवस्था यो अप्ठ्यारो बेला रहेन । तर, हाम्रा औद्योगित संघ संगठनहरुले उहाँहरुको समेत राय सहित सुझाव दिनु भएको चाहि छ ।

अन्तराष्ट्रिय दातृनियकाहरुसंग मैले भिडियो र टेलिफोनबाट निरन्तर कुरा गरेको छु । विश्व बैंक, APC,  ADB जस्ता अन्तराष्ट्रिय संस्थासंग हाम्रा चुनौनी र विकासका कुरा बारे भिडियो कन्फ्रेसबाटै निरन्तर कुरा गरिरहेको छु ।

व्यक्तिगतरुपमा भीड भाड छैन । अर्थमन्त्रालमा गाडीको लर्को पनि छैन । तर, हाम्रो काम निरन्तर रुपममै अगाडी बढेको छ । चुस्त र सबै पक्षलाई समेटेर बजेट आउने नै छ । हतारिनु र आत्तिनु पर्ने अवस्था छैन । चुनौती छन् । तिनलाई चिर्दै र यसलाई अवसरकारुपमा लिदै अगाडी बढ्नु पर्ने अवस्था चाही छ नि ।

० अर्थमन्त्रीज्यू यो कोरोना भाईरसले देश लकडाउनमै छ फेरि बढ्ने कुरा होला वा नहोला र यसबेला अब आउने बजेट कस्तो होला भन्ने सबै सरोकारवालाहरुको चासो बढेको देखिन्छ नि त ?
यो अदृश्य शक्तिबाट आएको रोग कोरोना भाईरसलाई रोगथाम गर्न हामीले गरेको लकडाउनका कारण अर्थतन्त्रमा आएका शिथिलतालाई पुरानै बाटोबाट लगेर अझै अगाडी बढाउने चुनौती बढेको पक्कै छ । जन आकक्षाका थप काम गर्नु पर्नेछ । राष्ट्रिय प्राथमिकताका ठूला आयोजनालाई अगाडी बढाउनु पर्दछ । साथै चालु वर्षमा सम्पन्न कार्यक्रमले निरन्तरता पाउने कुराहरु पनि छन् ।

० अब त स्वास्थ्य पूर्वाधारका कुरालाई पनि त बजेटले सम्बोधन गर्नु पर्दछ होइन र अर्थमन्त्रीज्यू ?
सही कुरा उठाउनु भयो । स्वास्थ्यका पूर्वाधार चाहिन्छ । अस्पतालहरुको कुरा छ । जिल्ला प्रदेशमा थप अस्पताल चहिन्छ । अर्को कुरा शिक्षाको पूर्वाधारलाई गुणस्तर चाहिन्छ । थप कुरा चाहिन्छ । पाठ्यपुस्तकले पुग्दैन । हामीले साधारण शिक्षालाई प्रविधि शिक्षामा पु¥याउनु पर्दछ । यसको पूर्वाधार तयार गर्नुप¥यो । सबै नेपालीलाई खानेपानी पु¥याउने कुरा छ । त्यो पनि गर्नुपर्दछ ।

० अर्थमन्त्रीज्यू यो कुरा बारम्बार उठेको छ । ४० लाख मान्छे विदेशमा छन् भनिन्छ । यी दक्ष जनशक्तिको अब विदेशमा रोजगार गुम्ने देखिन्छ । यी जनशक्तिलाई चाहि कसरी सम्बोधन बजेटमा होला त ?
हामी तपाईले भनेका कुरा पक्कै सम्बोधन गर्ने छौं । हाम्रा रोजगारीका कार्यक्रमलाई अझै परिमार्जित र परिस्कृत गर्दै लिएर जाने हो र थप रोजगारीका अवसर सृजना गर्ने पनि हो ।

नेपालमा सृजना भएका रोजगारी सुरक्षीत छन् । कति मान्छेहरुले काम गरेको अवस्था छ । यो खोज्नु पर्दछ । हामीलाई पृष्ठपोषण पनि चाहिएको छ । हामीले रोजगारी सृजना गर्दछौं । हामीले सृजना गरेको काम चाहि कसलाई दिइरहेका छौं । यो प्रस्ट भएन अनि ठूलो स्वरले नेपालमा बेरोजगारी छैन । भताभुङ्ग छ । काम छैन भन्न अनि विदेश जाने एउटा परम्परा छ । अब यसको अन्त्य हुनु जरुरी छ । र हाम्रा अवसर अरुले होइन नेपालीले नै पाउनु पर्दछ । अब नेपालीहरुलाई सीप सिकाएर अवसरको पहिलो लाभ नेपालीलाई नै दिनुपर्दछ ।
सीप दिने काम राज्यबाट हुने नै छ र व्यावसायीले रोगजारी दिनु पर्दछ । राज्यले सधै व्यवसायीहरुलाई त सम्बोधन गरेकै अवस्था छ नि ।

० अर्थमन्त्रीज्यू विश्व नै अहिले कोरोना भाईरसबाट रोहिरहेको मात्रै छैन । लाखौ लाखको ज्यान गएको छ । नेपालमा त्यसका संकेत देखा परेका छन् । अहिले विश्वको अर्थतन्त्र शिथिल मात्रै छैन ढल्ने अवस्थामा पुगेको छ । यो बेला नेपाल ३०÷३५ दिन देखि लकडाउनमै छ । यो बखत राज्यको कर उठेको कम छ । पर्यटन ठप्प छ । व्यापर ठप्प छ । यसलाई चाहि कस्तो सम्बोधन होला त ?
लकडाउन भईरहेकोले राजश्व हाम्रो लक्ष्यको एक चौथाई मात्रै उठेको छ । भोलि खुलेपछि त राम्रो भैहाल्छ । अहिले गत वर्षको भन्दा १ चौथाई पनि छैन । कतिपय राज्यको नीतिले आयात कम छ । यसले व्यापार घाटामा सुधार पक्कै छ । केही गुम्दा खेरी केही पक्ष पक्कै राम्रो छ । व्यापार घाटा घटेको छ । यसको ठूलो स्वरमा आलोचना गर्नेहरुले बोल्ने र दुख पाउने काम भएको चाहि छैन । यो राम्रो पक्ष मान्नै पर्दछ । त्यसबाट नोक्सानी छ ।

यसलाई बचाउँदै थप उठाउने छौं । अर्को कुरा अन्तराष्ट्रिय सहायतामा महत्वपूर्ण प्रतिवद्धता आएको अवस्था छ । एशियाली विकास बैंक विश्व बैंक र युरोप इन्भेन्टमेन्ट बैंक उहाँहरुले धेरै लगानीको सपोट छ । बजेटको सपोटका लागि पनि कुरा गर्नु भएको छ । अर्को कुरा निजी क्षेत्रका स्रोतमा IFC ले एशियाली विकास बैंकले पनि नेपालको प्राईभेट क्षेत्रसंग मिली काम गर्ने कुरा आएको छ । हामीले निजी र वाह्य लगानी ल्याउने र भएकालाई थप अगाडी बढाउनै छौं । लकडाउन पछि र भएका कार्यक्रमलाई राहत र सहुलीयत दिँदै लगाडी बढाउने कुरा हामीले गर्ने नै हो ।

० तपाई अर्थमन्त्री मात्रै होइन सरकारको प्रवक्ता पनि हो मलाई भनिदिनु होस् अब कोरोना रोगथामका लागि लकडाउन थपिन्छ वा अरु उपायको खोजी गरिन्छ त ?
राज्यले अहिले तत्कालका लागि राहतको सबै कुरा अगाडी ल्याएको पक्कै छ । राहतका कुरा गर्दा काममा जोडिनु पर्दछ । काम गरे वापत पैसा लिएर सामान लिनुपर्दछ । दान होइन पसिना बगाएर राहत लिने हो । त्यो पैसाबाट किनेको खाद्यान्न र अरुबस्तु जीउने गरिनु पर्दछ । सबै तहमा काम गरे पछि मात्रै राहत दिने कुरा सरकारले निर्णय गरेको छ ।

अब एउटा विषयमा जोखिम छ । त्यो हो सीमा खुल्ला गर्ने कुरा त्यो बाहिरको जोखिम अन्त्य नहुन्जेल खुल्दैन । मान्छेका ग्रुप र समुहमा काम गराउने अवस्था पनि अहिले छैन। किन भने रोग छैन । राम्रो छ । भन्ने ठाउँमा कोरोनाका संकेत पछिल्लो समयमा आएका छन् । त्यसकारण नयाँ नयाँ ठाउँमा रोगका संकेत आएकाले सबै खुलाउने कुरा गौण छ । सार्वजनिक यातायत, निजी यातायात, विद्यालय देखि सार्वजनिक ठाउँमा भेला हुने कुरामा चाहि छलफल नै गर्ने बेला अहिले भएको छैन । हामी अहिले यो रोगको जोखिम न्यूनिकरण तर्फनै लाग्नु पर्दछ । हामी सुरक्षीत भयौ भने पछि मात्रै लकडाउनको अन्त्य हुन्छ । यसको छलफलमै हामी छौं । पहिला के खोल्ने । त्यसपछि के खोल्ने अनि फेरि के खोल्ने चरणबद्धरुपमा कसरी जाने भन्ने बारे गृहकार्यमै सरकार छ । त्यसको आधारबाट हामी अगाडी बढने नै छां ।

अर्को कुरा जीवन रक्षा नै ठूलो चुनौती हो। विश्वले ठूलो मानव क्षती व्यहोरेको छ । यसबाट पाठ सिक्दै अगाडी बढ्नु जरुरी छ ।
पीडा छ दुख छ सबै लकडाउनबाट तर, यसलाई पूर्ण पालना गर्दै अगाडी बढ्नु पर्दछ । राज्य जनताको साथमै छ । यो विश्वव्यापी रुपमा आएको रोग हो । यसबाट हामी नेपाली बच्नु प¥यो । मुख्यकुरा यो हो परिस्थिति सुध्रिदै गएपछि सबै ठीक पक्कै हुनेछ । हामी पूरानै कुरामा आउने नै छौं । आत्तिनु पर्दैन भन्ने कुरा हो ।

० अन्यमा बैंक र वित्तिय क्षेत्रले राहत दिनु प¥यो भनी उद्योग व्यापारी देखि साना साना ऋणीले पनि माग गरिरहेको अवस्था पनि अहिले विभिन्न क्षेत्रबाट २र३ प्रतिशतका ब्याजमा कर्जा दिनुपर्छ भन्ने पनि आएको छ ?

बैंकले पैसा छापेर बाँडदैन । त्यसको लागत हुन्छ । बैंकले उद्योग व्यवसायलाई २र३ प्रतिशत ब्याज छुट दिने हो भने निक्षेपकर्तालाई कति दिने हो भन्ने पनि छ । निक्षेपकर्तालाई दण्डित गरेर दिने कुरा पनि बुझ्नु आवश्यक पर्दछ ।
अर्को केन्द्रीय बैंकबाट छुट चाहियो, सीआरआर घटाउनु पर्योलगायतका कुरा गरेर हामीले खोजेको स्थायित्व कहाँ जान्छ भनेर पनि सोच्नु पर्छ । केन्द्रीय बैंकले पनि आउट अफ बक्स सोच्नुपर्छ । त्यसो हुँदा अत्यधिक लचकता के हुन सक्छ भनेर केन्द्रीय बैंकले सोच्नुपर्छ । त्यसो गर्दा निक्षेपको सुरक्षालगायतका विषयमा सोच्नुपर्छ ।

त्यसबाहेक कर्जा लिनेको छुट दिने कुरामा ऋणको साँवा र ब्याजमा असार मसान्तसम्म जान सकिन्छ । र आवश्यक परेको अवस्थामा त्योभन्दा पछाडि पनि जान सकिन्छ । जसरी राहत लिँदा लिनपर्ने र नपर्ने सबैले लिएको अवस्था छ । त्यसैगरी व्यवसाय राम्रोसँग चलिरहेको छ र ऋण तिर्ने क्षमता छ भने समयमै ऋण तिर्नुहोस् । यस विषयमा पनि केन्द्रीय बैंकले पनि सोच्नुपर्छ । अहिले पुनरकर्जाको सीमा पनि १ खर्ब पुर्याएको छ । त्यसका पनि आफ्नै सीमा हुन्छन् । तथापी अहिले बैंकिङ क्षेत्रमा चुनौती छ । निस्क्रिय कर्जा बढ्ने चुनौती पनि छ । केन्द्रीय बैंकले केही खुकुलो बनाउनुपर्ने होला, अन्तर्रा्ष्ट्रिय स्तरबाट प्राप्त हुने कुरामा कसरी तलरता बढाउनका लागि काम गर्नुपर्ला नि ।
कोरोनाको संक्रमणको जोखिम न्यूनिकरण गर्न चालेका कदम सरकारले रहरले चालेको होइन । सबैको जीवन रक्षाका लागि चालेको हो ।
मानवीयसँगै बैंक तथा वित्तीय संस्थालगायतका आर्थिक क्षेत्रसँग सरोकार राख्ने सबैको जीवनरक्षाका लागि सरकारले चालेको कदमको सर्वस्वीकार्यता हुनुपर्छ । भन्ने कुरा मुख्य हुन ।

गभर्नर अधिकारीको सम्पत्ति विवरण

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनको बैंक खातामा नेपाली र विदेशी मुद्रा दुवैमा निक्षेप रहेको छ।

उनी र परिवारको नाममा माछापुच्छ्रे बैंकमा एक लाख ६३ हजार ७६२ रुपैयाँ नगद छ भने नबिलमा २ हजार ३०२ अमेरिकी डलर छ। उनको नागरिक लगानी कोषमा १२ लाख २४ हजार ६०० रुपैयाँ छ।

गभर्नर नियुक्त भएको एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने कानुनी ब्यवस्था छ। अवकाश भएका गभर्नरले पनि एक महिनाभित्र विवरण सार्वजनिक गरिसक्नु पर्छ।उनीसँग दुई वटा मोटरसाइकल र एउटा टोयोटा कार छ। उनले ५९ लाख रुपैयाँ ऋण दिएका छन् भने ८ लाख १९ हजार ६०० रुपैयाँ नागरिक लगानी कोषबाट ऋण लिएका छन्। १८ हजारको क्रेडिट कार्ड ऋण पनि छ। दिएको कुल ऋणमध्ये ५० लाख रुपैयाँ मध्य-तमोरको सेयरमा हालेको पैसा हो। उनी संस्थापक सेयरधनी भएकाले ‘सेयर एडभान्स’ मा पैसा हालेका हुन्।

१४ लाख १० हजार रुपैयाँको टिभी, फ्रिज, वासिङ मेसिन, कम्प्युटर, प्लेयर, फोन सेट, एसी, आइप्याड, सोफा सेट रहेको उनको विवरणमा उल्लेख छ।

अधिकारीसँग नेपाल फिल्म, बाँसबारी लेदरेज, हरिसिद्धि इँटा र ज्योति स्पिनिङलगायत औद्योगिक क्षेत्रका कम्पनीहरुको ११ सय कित्ता सेयर छ। यसको कुल मूल्याङ्कन ४५ हजार २०० रुपैयाँ हो।

अधिकारीले नबिल, हिमालयन, सिद्धार्थ, बैंक अफ काठमाण्डू, सनराइज, एभरेष्ट, मेगा, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, ग्लोबल आइएमइ, एनआइसी एसिया, मेरो माइक्रो फाइनान्स, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्सको पनि सेयर किनेका छन्। उनीसँग यी कम्पनीको २७ हजार १८४ कित्ता सेयर छ। यसको मूल्याङ्कन ४८ लाख ३७ हजार ३९० रुपैयाँ हुने उनले उल्लेख गरेका छन्। यो लागत मूल्य हो।

अधिकारीले नबिल ब्यालेन्स फण्ड-२ मा १८ लाख लगानी गरेका छन् भने चिलिमे, एचआइडीसिएल, सानिमा माइ, अपर तामाकोशीको २७ हजार ९२९ कित्ता सेयर किनेका छन्। यी सेयर उनले दोस्रो बजारबाट उठाएका हुन्। यसको मूल्याङ्कन ४० लाख १७ हजार ५०० रुपैयाँ हुन्छ। यो लागत मूल्य हो।

अधिकारीसँग २७ तोला सुनका गहना छन् भने ५० तोला चाँदीका गहना छन्। १८ हजार नगद घरमा छ। उनले सुनचाँदी पैतृक, विवाह र खरिदबाट आर्जन गरेको जनाएका छन्।

आफ्नो र श्रीमतीका नाममा जग्गा जमिन छ। साबिकको सैंबु गाविसमा उनीसँग २७ आना ३ पैसा २ दाम जग्गा छ। १६ आना बराबर एक रोपनी हुन्छ। यो दुई वटा कित्तामा छ। उनले विराटनगरको घरजग्जा बिक्री, सापटी र बचतबाट किनेको उल्लेख गरेका छन्। यसको लागत मूल्य १७ लाख रुपैयाँ हो।

ललितपुरको छप्पीमा पनि जग्गा छ। एउटा कित्ता ४ रोपनी १० आनाको छ भने अर्को २ रोपनी १५ आनाको छ। यसैगरी अर्को एउटा जग्गा २ रोपनी ६ आनाको छ। यसको लागत मूल्य ९० लाख ९७ हजार रुपैयाँ छ। हेटौंडामा पनि उनले जग्गा किनेका छन्। झापाको सुरुङ्गामा पनि जग्गा जमिन छ। यसबाहेक २२ सय वर्गफिटको जग्गा पनि छ। सञ्चयकोष सापटी, बैंक ऋण र बचतबाट उनले यो सम्पत्ति जोडेका हुन्। सम्पत्ति श्रीमती सरिता अधिकारी पोखरेलको नाममा छ।

कोरोना कर मदिराको मूल्य ७०% ले बढ्यो

भारतमा लकडाउनको तेस्रो चरण सुरु भएको छ। लकडाउन निरन्तर हुन थालेपछि भारतीय सरकारले विभिन्न क्षेत्रमा छुट पनि दिन थालेको छ। यसै सन्दर्भमा मदिरा पसल पनि खोल्न छुट दिइएको छ।

सोमबार जसै मदिरा पसल खुल्यो, मानिसहरुको लामो लाइन पसल अगाडि लाग्यो। मदिरा पसलमा लागेको लामका बारेमा मंगलबारका सबै पत्रपत्रिकाहरुले महत्वपूर्ण स्थान दिए। मानिसहरुको लामो लाइन लागेपछि दिल्ली सरकारले नयाँ उपाय निकालेको छ। दिल्ली सरकारले मदिराको खरिदमा ‘कोरोना शुल्क’ भनेर नयाँ शीर्षकमा कर लगाइदिएको छ।

अहिलेको प्रचलित मूल्यमा तथप ७० प्रतिशत कोरोना शुल्क दिल्ली सरकारले लगाइदिएको हो।सोमबार अन्य पसलहरु पनि खुलेका थिए। तर ती पसलमा चहलपहल खासै थिएन। मदिरा पसलमा भने एक/दुई किलोमिटरकै लाइन थियो। केन्द्र सरकारले घरबाट ननिस्कनु भनेपनि मदिरा किन्नका लागि सर्वसाधारण निस्किएका थिए। भिड नियन्त्रणका लागि पनि मूल्य बढाउन आवश्यक भएको भन्दै दिल्ली सरकारले शुल्क थोपरिदिएको हो।

राहतका नाममा राष्ट्र बैंकले दिएको ठाडो छुटले बैंकिङ क्षेत्रलाई दीर्घकालीन समस्यामा पार्ने देखिन्छ। १/२ वर्षपछि बैंकिङमा यसको असर नराम्रोसँग देखिने छ

कोरोना महामारीबाट उद्योग व्यवसायलाई राहत दिन भन्दै नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई ‘ऋणको ब्याज दुई प्रतिशत बिन्दुले घटाउनु’ भन्ने ठाडो आदेश दिएको छ। ब्याज छुट बैशाखदेखि आगामी असारसम्म (अन्तिम त्रयमास) का लागि भनिएको छ। यसअघि चैतसम्म बुझाउनु पर्ने ब्याज चैतमै बुझाएमा १० प्रतिशत छुट दिइएको थियो।

राष्ट्र बैंकले निर्देशन जारी गर्नुअघि बैंक वित्तीय संस्थाको आर्थिक अवस्थामा के असर पर्दछ भनेर हेरेको देखिँदैन। कोभिड-१९ को प्रभाव अध्ययन गर्न गठित राष्ट्र बैंकको टोलीले प्रतिवेदन नै दिन बाँकी रहेको अवस्थामा ब्याज छुटको ठाडो आदेश आउनुले वित्तीय क्षेत्रमा पर्ने असरका बारेमा विश्लेषण नगरेको पुष्टि हुन्छ।कर्जा लिने उद्योग व्यवसाय बैंकका ग्राहक हुन्। ग्राहकलाई ब्यापार सहज गर्न एवं ऋणको साँवा ब्याज उठाउन सहजीकरण गर्ने कार्य सम्बन्धित बैंक वित्तीय संस्थाहरुले स्वाभाविक रूपमा गर्न पाउनु पर्छ। सरकारले भन्दैमा ब्याज छुट वा राहत दिने व्यवस्था लागू हुँदा व्यवसायीहरु आफ्नो बैंकभन्दा सरकार, राष्ट्र बैंकको मुख ताक्ने हुन्छन्, जुन अहिले भइरहेको छ।

राहत वा ब्याज छुट व्यवसायिक जोखिमको आधारमा व्यवस्था गर्नु उत्तम हुन जान्थ्यो। अन्यत्र पनि बैंकहरुले ऋणीहरुलाई आफ्नै जोखिममा कर्जा भुक्तानीको लागि समय थप दिइरहेका हुन्छन्। तर यहाँ त्यसको अभ्यास गरिएन। बैंक वित्तीय संस्थाले गरे हुने निर्णय गर्न राष्ट्र बैंक आफैंले गर्न अगाडि सर्‍यो।

गलत लेखा नीति
राहतको नाममा कोरोनाले प्रभावित भए/नभएको नहेरी राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुको लागि असुल नभएको ब्याजलाई पनि आम्दानी मान्न दिने ब्यवस्था गरिदिएको छ। साँवा ब्याज असुल नभएको कर्जामा नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) गर्नु नपर्ने गरी छुट दिएको छ।

कोभिड-१९ को महामारी तथा लकडाउनको अवधि लामो समय जाने भएकाले कर्जाको साँवा ब्याज असुलीमा समस्या पनि लामो अवधिसम्मै रहने निश्चित छ। असुल नभएको ब्याजलाई पनि नाफा देखाउन पाइने ब्यवस्थाले बैंकहरुको अवास्तविक (फिक्सियस) नाफा बढी देखिन्छ। यसले गर्दा कर्मचारी बोनस तथा सरकारी आयकरको भुक्तानी दायित्व सृजना गर्छ।

यो सुविधा थप अवधिको लागि पनि पाउन व्यवसायीहरु लबिङ गर्न थाल्ने छन्। छुट पाइने भन्ने आशमा सक्नेले पनि ऋणका साँवा ब्याज तिर्ने छैनन्। अर्थात, राहतका नाममा राष्ट्र बैंकले दिएको ठाडो छुटले बैंकिङ क्षेत्रलाई दीर्घकालीन समस्यामा पार्ने देखिन्छ। १/२ वर्षपछि  बैंकिङमा यसको असर नराम्रोसँग देखिने छ।

अवास्तविकपूर्ण (फिक्सियस) नाफाका कारण के कस्ता थप समस्या बैक वित्तीय संस्थाहरुले भोग्नुपर्ने छ भन्नेतर्फ विचार पुर्‍याउन आवश्यक छ। सबै उद्योगी-व्यवसायीहरुले वास्तविक कारोबारको आधारमा नाफा/घाटा देखाउनु पर्ने, तर बैंक वित्तीय संस्थाले देखाउनु नपर्ने अवस्था सृजना भएको छ। बैंक वित्तीय संस्थाले नाफा/घाटा जे जस्तो हुन्छ त्यो अहिले नै देखाउन पाउनु पर्छ, यो नै वास्तविक लेखा नीति पनि हो। संसारभरी सबैले यसैलाई मान्यता दिएका छन्।

हाम्रोमा भने अवास्तविक नाफालाई पनि नाफाका रूपमा मान्नुपर्ने ब्यवस्था गरिएको छ। यसले गर्दा अर्थतन्त्र उल्टो गतिमा हिँड्दा पनि बैंकहरु नाफामा देखिन्छन्। बैंकहरुले अर्थतन्त्रको चाललाई पच्छ्याउन असमर्थ हुन्छन्। यही कारण बैंकहरुप्रति नकारात्मक धारणा बढ्दै जान्छ, बढ्दै गएको छ। वास्तविक नाफा वा घाटा देखाउन पाइने ब्यवस्था भयो भने अहिले उठिरहेको नकारात्मक भावनालाई केही कम गर्न सहयोग मिल्ने थियो।

वास्तविक नाफा/घाटा सरकार र राष्ट्र बैंकले देखाउन नदिनुमा केही निहित स्वार्थहरुले काम गरेको हुन सक्छ। सरकारी राजस्वमा कमी आउने डर अर्थमन्त्रालयलाई छ। विगतमा भूकम्पका बेला बैंकहरुले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको रकमलाई समेत प्राविधिक कारण भन्दै खर्च मान्न अस्वीकार गरिएको थियो। प्राविधिक कारण देखाएर त्यसबेला राहत कोषमा राखिएको पैसामा पनि आयकर असुल गरिएको थियो। पुनर्कर्जा कोषको ब्यवस्था
नेपाल राष्ट्र बैंकले ऋणीले सहुलियत ब्याजमा पैसा पाउन् भनेर पुनर्कर्जा कोषलाई ६० अर्ब पुर्‍याइसकेको छ। केही दिनअघि सरकारले पुनर्कर्जा कोषलाई १०० अर्ब पुर्‍याउने घोषणा गरेको छ। तर, पुनर्कर्जा कोष कति हदसम्म र कसरी प्रयोग भएको छ भनेर हेरिएको छैन।

राष्ट्र बैंकले पछिल्ला मौद्रिक नीतिमार्फत पुनर्कर्जा कोषको रकम बढाउँदै लगेको छ। तर यसको प्रयोग ब्यवहारिक भने छैन। अहिले पनि कोषबाट २० अर्ब रुपैयाँभन्दा बढी रकम प्रवाह भएको छैन। यसको मुल कारण कोषमा आवश्यक रकम सरकारी स्तरबाट उपलब्ध गराइएको छैन। राष्ट्र बैंकले आफ्नै स्रोतबाट जुटाउनु पर्ने अवस्था छ, यसले गर्दा पर्याप्त पैसा कोषमा छैन।

बैंकहरुमार्फत तोकिएको प्रतिशतमा पीडित उद्योगी-व्ययसायीलाई सहुलियत दरमा ऋण उपलब्ध गराउन हाल उपलब्ध उपायमध्ये पुनर्कर्जा सबैभन्दा उत्तम उपाय हो। यसमा सरकारी तवरबाटै राहत उपलब्ध हुने हुँदा बैंकहरुको आर्थिक अवस्थामा समेत नकारात्मक असर पर्दैन।

तर, राष्ट्र बैंक ऐनको दफा ४९ अनुसार बैंक वित्तीय संस्थाहरुलाई दिइने पुनर्कर्जाको अवधि १ वर्ष (थप एक वर्ष नवीकरण हुन सक्ने) सम्म सीमित छ। यसको अर्थ, पुनर्कर्जा पाउने उद्योग व्यवसायले सहुलियत ब्याजमा साधारणतया १ वर्षसम्म मात्र पैसा चलाउन पाउँछन्।\

अहिलेको ब्यवस्था अनुसार, महामारीबाट पीडित उद्योग व्यवसायलाई पुनर्जीवन दिन राष्ट्र बैंकको पुनर्कर्जा पाइहाले पनि पर्याप्त छैन। २०७२ कै भूकम्पको बेला राष्ट्र बैंकले बैंकहरुलाई शून्य प्रतिशतमा पुनर्कर्जा दिने र बैंकहरुले पीडितलाई २ प्रतिशतमा घर निर्माण कर्जा दिने व्यवस्था गरिएको थियो। यो अत्यन्त सान्दर्भिक ब्यवस्था थियो। तर राष्ट्र बैंकबाट एक वर्षका लागि पाउने पुनर्कर्जाको आधारमा बैंकहरुले १०/१५ वर्षको घर कर्जा दिन सक्ने अवस्था थिएन। यही कारण पीडितले राहत पाउन सकेका थिएनन्।

पुरानो उदाहरण र अहिलेको महामारीलाई दृष्टिगत गरी सबै पक्षलाई उपयुक्त हुने गरी पुनर्कर्जा व्यवस्थापनमा सुधार ल्याउन जरुरी छ।

१.    कोरोना महामारीबाट नराम्ररी थला परेका उद्योग व्यवसायलाई पुनरुत्थान गर्न पुनर्कर्जा कोषमा पर्याप्त रकमको व्यवस्था हुन आवश्यक छ। त्यसैले कोषको रकम २०० अर्ब रुपैयाँ बनाउन आवश्यक छ।

२.    अहिलेको महामारीबाट पीडित बनेका उद्योग-व्यवसायलाई वास्तविक पुनर्जीवन दिने हो भने पुनर्कर्जा दीर्घकालीन अवधिको चाहिन्छ। त्यसैले पुनर्कर्जाको अवधि पनि १ वर्ष (चालु पुँजी) देखि ३/४ वर्षसम्म आवश्यक पर्छ। पुनर्कर्जालाई ब्यवहारिक र वास्तविक बनाउने हो भने अध्यादेशमार्फत नेपाल राष्ट्र बैंक ऐन-२०५८ को दफा ४९ मा संशोधन गरी विशेष अवस्थाको निमित्त दिइने पुनर्कर्जाको अवधि ५ वर्षसम्म हुन सक्ने व्यवस्था गर्नु पर्दछ।

३.    बैंक वित्तीय संस्थाले कायम गर्नुपर्ने हालको १० प्रतिशतको वैधानिक तरलता अनुपात (एसएलआर) लाई १५ प्रतिशत पुर्‍याउन सकिन्छ। यसबाट सरकारी ऋणपत्रमा लगानी गर्न स्रोतको व्यवस्थापन हुन्छ र बैंकहरुको तरलतालाई थप सुद्दढ गर्न योगदान गर्छ।

४.    २०० अर्ब रुपैयाँको पुनर्कर्जा कोष सरकारी स्तरमा उठाई त्यसको व्यवस्थापनको निमित्त राष्ट्र बैंकलाई दिनु पर्छ। आन्तरिक ऋण उठाउने सीमा बढाउन अध्यादेशमार्फत कानुन संशोधन गर्नु पर्छ। साथै सरकारबाहेक राष्ट्र बैंक आफैंले पनि आन्तरिक ऋण उठाएर परिचालन गर्नु पर्छ।

५.    राहत कोषको ब्यवस्था अहिले गरिनु पर्छ। आगामी आर्थिक वर्षको बजेट कुर्दा ढिला हुन्छ। बजेट निर्माण, संसदबाट कार्यविधि पारित आदिले ६ महिना थप समय खाइदिन्छ। त्यसैले कोषको व्यवस्था अहिले गरी आगामी बजेटबाट समर्थन दिने काम गर्नु उचित हुनेछ।

६.    स्रोत जुटाउन ५ वर्षको विकास ऋणपत्र जारी गर्न सकिन्छ। वार्षिक ३/४ प्रतिशत ब्याज दरमा बजारबाट पैसा उठाउन सकिन्छ। सरकारले बिना व्ययभार यही दरमा रकम राष्ट्र बैंकलाई उपलब्ध गराउने र राष्ट्र बैंकले पनि बैंकहरुलाई यही दरमा पुनर्कर्जा उपलव्ध गराउनु पर्दछ। यो कोषको व्यवस्थापनतर्फ लाग्ने सामान्य खर्च राष्ट्र बैंकले व्यहोर्न सक्छ।७.    राष्ट्र बैंकबाट ३/४ प्रतिशतमा पाउने पुनर्कर्जा बैंकहरुले फरक फरक उद्योग व्यवसायलाई ७ देखि ८ प्रतिशत ब्याजमा उपलब्ध गराउन सक्छन्। ४ प्रतिशतको मार्जिनले बैंकहरुले व्यवस्थापकीय खर्च राम्रोसँग धान्न मात्रै सक्ने होइनन्, कर्जाको जोखिम पनि उठाउन सक्छन्। यही मार्जिनबाट असल कर्जामा राख्नु पर्ने १ प्रतिशत जोखिम व्यवस्थापन गर्न पनि सक्छन्।

८.    पुनर्कर्जाको सुविधा पाउन योग्य उद्योग व्यवसायहरुलाई वास्तविक असरको आधारमा छनोट सूची बनाउनु अनिवार्य छ। उदाहरणार्थ, पर्यटनमै संलग्न विभिन्न उद्योग व्यवसायहरुमध्ये पनि फरक फरक सुविधा दिने व्यवस्था गर्नु पर्दछ। जस्तै, पर्यटन क्षेत्रका होटेलहरु अत्यधिक पीडित उद्योग हुन्।

पर्यटन क्षेत्रले गति लियो भने पनि उनीहरुलाई तङ्ग्रिन कम्तिमा २/ ३ वर्ष समय लाग्छ। यो अवधिमा बाँच्न लाग्ने न्यूनतम संचालन खर्च, साँवा नभएपनि ब्याज भुक्तान गर्न आवश्यक रकम मात्रको जोहो गर्न दीर्घकालीन पुनर्कर्जा दिन सक्ने व्यवस्था गर्नु पर्दछ। तर, पर्यटन व्यवसाय भित्रै ट्राभल एजेन्सी, रेष्टुरा आदि व्यवसायीको हकमा यो स्तरसम्मको राहत आवश्यक नपर्न सक्छ। चालु पुँजीतर्फ केही राहतले काम चल्न सक्दछ। त्यसैले लक्षित उद्योग व्यवसायको पुनरुत्थानका लागि आवश्यक ‘मोरेटोरियम’ अवधि सहित पुनर्कर्जाको भुक्तानीको अवधि तोक्न जरुरी छ।

यस्तै अन्य उद्योग व्यवसायलाई उपलब्ध गराइने पुनर्कर्जाको स्तर तथा अवधि निर्धारण गर्ने कार्यविधि तयार पारिनु पर्छ।

९.    पुनर्कर्जाको व्यवस्थापन, अनुगमन गर्ने समितिमा उद्योग वाणिज्य महासंघको पनि प्रतिनिधित्व गराउनु उचित हुन्छ। यसबाट व्यवसायीहरुको कुरा सुन्न सजिलो हुन्छ। वास्तविक अवस्था थाहा पाउन सकिन्छ।

१०.    अहिलेको सन्दर्भमा उद्योग व्यवसायलाई ७/८ प्रतिशतको सहुलियत दरमा १ वर्षदेखि ३/४ वर्षसम्म कर्जा उपलब्ध हुँदा ठूलै राहत पुग्छ। हिजो उद्योग व्यवसायमा के कति रकम लगानी भइसक्यो भन्ने आधारमा नभइ, उद्योग व्यवसायको पुनर्संरचनाको संभाव्यताको आधारमा आवश्यक रकम उपलव्ध गराउनु पर्छ। आफ्नो उद्योग व्यवसायलाई पुनर्जीवन दिन व्यवसायीहरुले पनि केही योगदान भने गर्नु पर्छ।

११.   पुनर्कर्जाको व्यवस्था उद्योग व्यवसायको पुनरुत्थानका लागि मात्रै भएकाले केही व्यवसायीहरुले हालको स्थितिमा बाँच्न सक्दैनौं भन्छन् भने उनीहरुलाई बन्द गरेर जाने बाटो पनि दिइनु पर्दछ। सबै व्यवसाय सँधै नाफामै सञ्चालन गर्न पाउनु पर्दछ भन्ने आशयले प्राथमिकता पाउनु हुँदैन। महामारीबाट सृजित दीर्घकालीन असरलाई ध्यानमा राखी बन्द व्यवसायमा संलग्न कामदारलाई बिदा गर्न आवश्यक रकमको केही प्रतिशत राहत दिन सकिन्छ। त्यस्तो राहत के कति दिने भनेर राज्यस्तरमै नीति तर्जुमा हुनु अत्यावश्यक छ। यो लेखको उद्देश्य पुनर्कर्जा व्यवस्थापन रहेकाले यसतर्फ थप उल्लेख गरिएको छैन।

१२.    पुनर्कर्जा चाँडो प्रवाह गर्न यस सम्बन्धि कार्यविधि संशोधन हुन आवश्यक छ। बैंकहरुबाट पुनर्कर्जा माग भएको दुई दिनभित्र अनिवार्य उपलब्ध गराउने ब्यवस्था राष्ट्र बैंकले मिलाउनु पर्छ। पुनर्कर्जा दिइसकेपछि त्यो पैसा अनुगमन टोलीले तोकिएको ठाउँमा प्रयोग भए/नभएको हेर्ने छ। तोकिएभन्दा अन्यथा प्रमाणित भएमा बैंकबाट तत्काल थप ब्याजसहित रकम फिर्ता लिन सकिन्छ। यसले गर्दा बैंकहरु आफ्नो ऋणीको व्यवसायका बारेमा यथेष्ट जानकारी राख्न सजग हुने छन्। उद्योग/व्यवसायले पनि  पुनर्कर्जाको रकम तत्काल पाएर राहतको अनुभूति गर्न पाउने छन्।

१३.    कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) तत्काललाई खारेज गरिदिनु पर्छ। एसएलआर १५ प्रतिशत तथा अनिवार्य तरलता अनुपात (सीआरआर) ३ प्रतिशतका साथै दैनिक कारोबारको निमित्त ढुकुटी र बैंक मौज्दात पनि न्यूनतम २ प्रतिशत मात्र हिसाब गर्दा पनि बैंकको तरलता कम्तिमा २० प्रतिशत कायम रहने अवस्था छ। त्यसैले अहिलेलाई सीसीडी रेसियो आवश्यक देखिँदैन। सीसीडी हटाउँदा निक्षेप परिचालन हुन नसक्दा पनि थप ऋण प्रवाह गर्न क्षमता बढ्ने छ।

१४.    पुनर्कर्जा र सीसीडी रेसियोका कारण तरलतामा आउने व्यापक सुधारले बैंकहरुलाई कर्जा विस्तारमा दबाब पार्ने निश्चित छ। यही कारण ब्याज दरमा समेत स्वतः कमी आउँछ। कर्जा प्रवाह गर्न नसक्दा निक्षेपको व्याज दरमा कमी आउन सक्ने संभावना रहने भएता पनि यो बढी समयका लागि हुँदैन। कर्जा प्रवाहमा सफलता हासिल गरेकाहरुले निक्षेप खोजी गरिरहेका हुन्छन्। अन्य बैंकहरुले पनि ब्याज कम गरेर सर्वसाधारणको निक्षेप घटाउने जोखिम मोल्दैनन्।

१५.    २०० अर्ब रुपैयाँसम्मको पुनर्कर्जा कोष र सीसीडी रेसियो हटाएको कारण बैंककहरुसँग ऋण दिन सक्ने क्षमता अत्यधिक बढिसकेको हुन्छ। यसले गर्दा देशभर सहुलियतपूर्ण कर्जा, नयाँ साना उद्योग व्यवसायको खोजीनिती गर्ने काममा तीव्रता आउन थाल्ने छ। यही मौकालाई सदुपयोग गर्न ग्रामीण क्षेत्रसम्म कृषि उत्पादन तथा स्वरोजगारको गतिविधि बढाउन स्थानीय तहकै नेतृत्वमा नयाँ संरचना तयार गरी कार्यान्वयन गर्न सकिन्छ। यसले देशभित्रै र विदेशको जागिर छाडेर फर्कने जनशक्तिलाई कृषि तथा साना व्यवसायमा लाग्न सहयोग पुर्‍याउन सकिन्छ।

१६.    पुनर्कर्जाको प्रयोजन सकिएपछि फिर्ता आउने रकम राष्ट्र बैंककै आपतकालीन कोषमा राख्नु पर्छ। यो रकम राष्ट्र बैंकले बैंक वित्तीय संस्थामा लागत दरमा निक्षेपको रुपमा राखी खर्च व्यवस्थापन गर्न सक्छ। यसले बैंकहरुलाई निक्षेप व्यवस्थापनतर्फ केही राहत समेत पुग्छ। आगामी केही वर्ष रेमिट्यान्समा कमी आउने निश्चित छ। यसले गर्दा बैंक निक्षेपमा पनि कमी आउने छ। पुनर्कर्जाको पैसा बैक निक्षेपका रूपमा परिचालन गर्न सकिन्छ।

१७.    बैंक वित्तीय संस्थाहरुको ऋण दिन सक्ने क्षमता भनेको उनीहरुको पुँजी कोषको आकारमा निर्भर हुन्छ। ३ वर्ष अगाडि चुक्ता पुँजी दुई अर्बबाट ८ अर्ब बनाएको र चालु वर्ष चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणत्र (बण्ड) अनिवार्य निष्कासन गर्ने ब्यवस्थाले बैंक वित्तीय संस्थाहरुको पुँजी कोषको पर्याप्तता रहेको मान्न सकिन्छ। वार्षिक मुनाफा एवं ठूलो मात्राको पुनर्कर्जाले आगामी २/३ वर्ष कर्जा विस्तारमा पुँजीको कारण समस्या आउँदैन। त्यसपछि पुँजीको आवश्यकता पर्छ। त्योबेला बैंक वित्तीय संस्थाहरुको कमाइ पनि बढ्न थाल्छ। उनीहरुको कमाइ जगेडा कोषमा जान्छ। त्यसबेला ऋण बिस्तार र पुँजी कोष ब्यवस्थापनमा तालमेल हुने नीति लिन सकिन्छ।
(बज्राचार्य, बैंकर्स संघका पूर्व उपाध्यक्ष हुन्। उनी एनसीसी, ग्लोबल आइएमइ र सनराइज बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन्। उनीसँग राष्ट्र बैंकमा काम गरेको समेत अनुभव छ।)

अहिले ब्याज तिर्नपर्ने तनावमा नपरे हुन्छ, बरु व्याज तिर्ने समय सार्न सकिन्छ गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल बैंकबाट प्रवाह हुने ऋणको व्याज मिनाहा गर्न सकिने अवस्था नरहेको बताएका छन् । उनले उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको व्याजालई मिनाहा गर्न सकिने अवस्था नरहेका बताएका हुन् ।

मंगलबार अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा सहभागी अधिकारीले व्यवासायीले व्याज मिनाहाको कुरा उठाए पनि त्यसको समाधान तत्काल गर्न नसकिने बताएका हुन् । दैनिक आफुसमक्ष पनि धेरै उद्योगी व्यवसायीले व्याज मिनाहाको माग उठाउने गरेको बताउँदै उनले अहिले त्यसको कार्यान्वयन गर्न कठिन रहेको उनको भनाइ छ ।

‘अहिले ब्याज तिर्नपर्ने तनावमा नपरे हुन्छ, बरु व्याज तिर्ने समय सार्न सकिन्छ,’ उनले भने । वित्तीय क्षेत्रबाट धेरै ऋण लिनेमा ठूला व्यवसायी नै बढी रहेको बताउँदै पाँच करोडभन्दा बढी ऋण लिनेहरु ३६ प्रतिशत र ५० लाखभन्दा थोरै लिने ३४ प्रतिशत रहेको उनले बताए ।

बैंक तथा वित्तीय क्षेत्रले बैशाख २१ गतेसम्म ३६ खर्ब ७८ निक्षेप संकलन गरी ३२ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको उनकाे भनाइ छ ।  उनका अनुसार बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा मध्ये कृषि क्षेत्रमा कुल कर्जाको ७.०४ प्रतिशत अर्थात कर्जा प्रवाह २ खर्ब २० अर्ब ४३ करोड रुपैयाँ र उत्पादनमुलक क्षेत्रमा ५ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ प्रवाह भएको छ ।

सिभिल लघुवित्तले बढायो नाफा  

 सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ करोड २६ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ९.०२% ले बढी हो ।
गत वर्ष यसैअवधिमा यस संस्थाले १ करोड १६ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।  सिभिलको खुद ब्याज आम्दानी ४ करोड ५२ लाख ३९ हजार रुपैयाँबाट बढेर ५ करोड ९२ लाख २४ हजार रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा भने घटेको छ । गत वर्ष १ करोड ८२ लाख ८३ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष ९३ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ ।  चैत मसान्तसम्म आइपुग्दा यसको खराब कर्जा १.३७% ले बढेर २.६६% पुगेको छ । प्रतिसेयर आम्दानी वार्षिक १४ रुपैयाँ ८२ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ भने १२३ रुपैयाँ ६० पैसा रहेको छ

कामना सेवा विकास बैंकद्वारा ‘‘कोरोना सुरक्षा बचत खाता’ 

कामना सेवा विकास बैंक  ले कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ । कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस भन्ने उद्देश्यका साथ बीमा सुविधा सहितको उक्त खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

नेको इन्स्योरेन्ससंगको सहकार्यमा सञ्चालनमा ल्याएको उक्त खाता न्यूनतम मौज्दात पाँच हजारमा खोल्न सकिने बैंकले जनाएको छ । सुरक्षा बचत खाता खोलेका ग्राहकलाई कोरोना संक्रमण पिसिआर टेष्टद्धारा पुष्टिभएमा ५० हजार रुपैयाँ भुक्तानी दिने बैंकले जनाएको छ । बैंकको वेबसाईटबाटै अनलाईन माध्यमबाट उक्त खाता खोल्न सकिने जनाइएको छ

सिटिजनका एजेन्सी म्यानेजरको कोरोना बीमा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफनो एजेन्सी म्यानेजरहरूको कोरोना बीमा गरेको छ । कम्पनीले उनीहरूलाई रू. १ लाखको बीमालेख प्रदान गरेको बताइएको छ । सिटिजन लाइफले शिखर इन्स्योरेन्स कम्पनीबाट सामूहिक बीमालेख खरीद गरी उपलब्ध गराएको हो ।
बीमा समितिको निर्देशनबमोजिम कम्पनीले आफना सबै कर्मचारीलाई यसअघि नै ‘कोरोना भाइरस (कोभिड–१९) नयाँ बीमालेख’ उपलब्ध गराइसकेको छ । कोरोनासम्बन्धी पीसीआर परीक्षण पोजेटिभ देखिने बित्तिकै बीमांक रकम भुक्तानी लिन पाइनेछ । यो बीमालेखले बीमितलाई १ वर्षसम्म सुरक्षा प्रदान गर्ने कम्पनीको भनाई छ ।

खाता अद्यावधिक गर्न राष्ट्र बैंकको   निर्देशन

नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका सरकारी खाता अद्यावधिक गर्न तथा हालसम्म नखोलिएका खाताहरु खोल्न बैंक तथा वित्तीय संस्थालाई पुनः निर्देशन दिएको छ । आगामी जेठ १ गते पश्चात् हुने सरकारी कारोबार ‘सरकारी कारोबार निर्देशिका २०७६’ बमोजिम हुने पनि केन्द्रीय बैंकले जानकारी गराएको छ ।

यही वैशाख मसान्तभित्र सम्बन्धित निकायको समन्वयमा सम्पूर्ण खाता खोली अद्यावधिक गर्न समेत केन्द्रीय बैंकले भनेको छ । इमेलमार्फत सरकारी कारोबारको नियमित प्रतिवेदन पेश गरिंदै आएको छ । सोही प्रतिवेदनका आधारमा दैनिक हिसाब मिलान गरिने भएकाले त्यसरी पत्राचार गर्दा कतिपय अवस्थामा सम्बन्धित कर्मचारीको व्यक्तिगत इमेलमार्फत प्रतिवेदन पेश हुने गरेको पाइएको छ  ।

सानिमा लाइफको यस्तो छ कमाई

सानिमा लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ६९ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा ०.२०% ले धेरै हो । अघिल्लो वर्ष यसले ७ करोड ६८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, यो त्रैमाससम्ममा सानिमाले ५७ करोड ५८ रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष २४ करोड ९५ लाख रुपैयाँ मात्र खुद बिमा शुल्क आर्जन गरेको थियो ।
चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको सानिमा लाइफको रिजर्भ कोषमा ११ करोड ८७ लाख रुपैयाँ छ । रिजर्भ कोषलाई सुधार गर्दै अघि बढाउनुपर्ने देखिन्छ । कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । आइपीओ जारीपछि भने पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । यसले जीवन बिमा कोषको आकार पनि १५ करोड ९३ लाख रुपैयाँबाट बढाएर ७७ करोड २३ लाख पुर्याएको छ ।