जोडिनुहोस
शनिबार, असार १८, २०७९
शनिबार, असार १८, २०७९
  • होमपेज
  • सम्पत्ति बिमा अहिलेको आवश्यकता हो

सम्पत्ति बिमा अहिलेको आवश्यकता हो

नेपाल इन्स्योरेन्स कम्पनीका सीइओ एवं नेपाल बीमाक संघका पूर्व अध्यक्ष विजय बहादुर शाह चिनाई राख्नु पर्ने नाम होइन । ३ दर्शक देखि बीमा क्षेत्रमा सकृय शाह विकासशील राष्ट्रका बीमा कम्पनीहरुको छाता संस्था ASSOCIATION OF INSURERS AND REINSURERS IN DEVELOPING COUNTRIES (AIRDC) को अध्यक्ष हुनुहुन्छ ।

हाल नेपालकै पूरानो सरकारी बैंक नेपाल बैंकको १५ प्रतिशत शेयर रहेको नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत छन् । २ कार्यकाल एनएलजी इन्स्योरेन्स कम्पनीको सीइओ भएका शाह बीमाका विज्ञ मानिनुहुन्छ । भारतबाट चाटर्ड एकाउटेण्ट पास गरेका शाहले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।

नेपाल बीमक संघका पूर्व अध्यक्ष शाहसँग विमा किन आवश्यक छ ? नेपालमा १५ प्रतिशत मात्रै रहेको विमा बजार बढाउन के गर्नुपर्ला ? कृषि र स्वास्थ्य बीमा गर्नुपर्ने कारण, देशको अर्थतन्त्रमा विमाको भूमिका लगायतका विषयमा केन्द्रीत रहि बरिष्ठ पत्रकार भूपेन्द्र आचार्यले गरेको कराकानीका केही महत्वपूर्ण अंशः सम्पादक ।

० नेपालकै पहिलो र सरकारको १५ प्रतिशत शेयर रहेको नेपाल इन्स्योरेन्स कम्पनीको पछिल्लो वित्तिय विवरण कस्तो छ ?
हाम्रो कम्पनीको वित्तिय अवस्था अत्यन्तै सन्तोषजनक मात्रै छैन । असाध्यै उत्साहजनक छ । गतवर्षको यहि अवधि भन्दा ५० प्रतिशत बढिले नाफा बृद्धि भएको अवस्था छ । निर्जीवन बीमा कम्पनीहरुको समग्रमा १५ प्रतिशत ग्रोथले बृद्धि छ । तर हामी ५० प्रतिशतले बढेको छ । यसले हामी अत्यन्तै खुशी छौं । हामी शाखा सञ्जाल आक्रमक रुपमा खोल्दैछौं । कर्मचारीहरुको क्षमता अभिबृद्धिमा ध्यान दिएका छौं । एउटै शब्दमा नेपाल इन्स्योरेन्स कम्पनीको वित्तिय अवस्था भन्नु पर्दा हामी अत्यन्तै उत्साहित छौं ।

० पछिल्लो अवस्थामा नेपाल इन्स्योरेन्स कम्पनी आक्रमक रुपमा आएको देखिन्छ नि ?
यो हाम्रो रणनीति नै हो । विगत केही वर्ष अगाडी बजारमा आक्रमकरुपमा यो कम्पनी गएको थिएन । नेपाल बैंकले आफ्ना शेयरहरु अपडेट गरेपछि नयाँ लगानीकर्ताहरु आउनु भयो । नयाँ व्यवस्थापन आयो र नयाँ रणनीतिसंगै हामी अगाडी आएका छौं । हाम्रो यस कम्पनीमा सरकारी स्वामित्व भएको नेपाल बैंकको करिब १५ प्रतिशत शेयर रहेको छ । बैंकको प्रगतिसँगै हामी पनि आक्रमक भएर बजारमा आएको अवस्था पनि हो ।

 

० नेपाल इन्स्यारेन्स कम्पनीमा कस्ता लगानीकर्ताहरु छन् ? कस–कसको लगानी छ त ?
यसमा नेपाल बैंकको १५ प्रतिशत लगानी छ । संस्थापककर्ताहरुमा केही विजनेश हाउसको लगानी छ र अन्य व्यक्तिको लगानी पनि रहेको छ । यसको महत्व के छ भने ७२ वर्ष अगाडी जो जसले लगानी गरे आज उनीहरुका सन्ततीहरुले लगातार लगानी गर्नु भएको छ । यो पक्ष महत्वपूर्ण छ । उहाँहरुको प्रेरणा र उत्साहले हामीलाई अगाडी बढ्न प्रेरित गरेको छ र हामी एग्रोसीप भएर आएका छौं ।

० पछिल्लो समय नेपालमा जीवन र निर्जीवन बीमाका नयाँ कम्पनीहरु बजारमा आएका छन् । यसले लगानीका चुनौती बढेको हो ?
नयाँ कम्पनीहरु आएपछि जीवन र निर्जीवन बीमा कम्पनीहरु तरंङ्गीत भएको अवस्था पक्कै हो । नयाँ कम्पनीहरुलाई पहिचान देखाउन जरुरी छ भने स्थापित कम्पनीहरुको व्यापार नखस्कीयोस् भन्ने डर छ । यसले बजारमा तरङ्ग आयो । एउटाले स्थापित हुन खोज्ने, अर्को पहिचान गुमाउन नखोज्ने भएका कारण नेपाली बीमा उद्योगलाई फाइदा भयो । यसले प्रतिस्पर्धा बढ्ने र बीमा बढ्ने निश्चित छ । यो राम्रो पक्ष हो । अब नयाँ कम्पनी थपिएकाले साइज बढाउनु पर्ने बाध्यता छ र सबै लागि परेको अवस्था पनि छ ।

० तपाई नेपाल बीमक संघको पूर्व अध्यक्ष एवं विकासशील राष्ट्रका बीमा कम्पनीहरुको छाता संस्था ASSOCIATION OF INSURERS AND REINSURERS IN DEVELOPING COUNTRIES (AIRDC) को अध्यक्ष हुनुहुन्छ । मलाई भनिदिनुहोस नेपालमा करिब १५ प्रतिशत मात्रै बीमाको बजार छ । यसलाई बढाउन के कस्ता चुनौती छन् ?
बीमाको चुनौती भनेको बीमाको पहुँच अभिबृद्धि गर्नु हो । यसका दुई वटा पाटा छन् । एउटा पाटो हो बीमा शिक्षाको आवश्यकता । बीमाले उद्यमी बनाउने छ । क्षतिको परिपूर्ति गर्दछ भन्ने चेतना जगाउनु पर्दछ । यस बिषयमा सधै लागि रहनु पर्दछ । अर्को कुरा डिजिटल बीमा लेख जरुरी छ । पुरानै ढड्डा बनाउने बीमालेख जारी गर्ने, फर्म भर्ने, टिकट टाँस्ने र पोलिसी दिनु पर्ने जस्ता झनझटिला काम अब बन्द गरिनु पर्दछ ।

छिटो र छरितो सर्भिस दिने डिजिटल (स्मार्ट) बीमा तिर जानु पर्दछ । यो भयो भने बीमाको सुन्दरता मात्रै बढ्दैन । समय बचत हुन्छ । त्यसकारण उद्यमी बनाउन र क्षति न्यूनिकरण गर्न बीमा आवश्यक छ । भन्ने बुझाउनु प¥यो ।
बीमा बाध्यत्मक होइन । आश्यकता हो भन्ने शिक्षा दिनु जरुरी छ । यसमा यी दुई कुरा लागु गर्न राज्य, बीमा समिति, हामी कम्पनी र यसका सबै शेयरहोल्डरहरु लाग्नु जरुरी छ ।

० पछिल्लो समय सरकारले कृषि र स्वास्थ्य बीमाको कुरा अगाडी ल्याएको छ । तपाई बीमा कम्पनीहरुलाई दुर्गम क्षेत्र जाऊ भनि रहेको देखिन्छ । त्यसलाई कसरी लिनु भएको छ ?
जहाँ स्वतस्फूर्त रुपमा बीमा हुँदैन । त्यहाँ बाध्यत्मक रुपमा बीमा गर्नु जरुरी छ । केही समय पहिला तेस्रो पक्ष अटो बीमा जरुरी थिएन । तर, पछि यसलाई गर्नै पर्ने कुरा आयो । आज सहज भयो । यस्तै जीवीकामुखी कृषकहरुको उत्पादनको बीमा भएन भने उहाँहरु त्यो पेशाबाट पलायन हुने डर छ ।

त्यसका लागि सरकारले नै बीमा गरिनु पर्दछ । बीमालाई प्रेरण दिन राज्यले नै ७५ प्रतिशत छुटको व्यवस्था समेत गरेको अवस्था छ । त्यो अत्यन्तै सकारात्मक कुरा हो ।
कृषकहरु जीवीका मुखीबाट व्यवसायीक कृषक बनाउन बीमा आवश्यक छ । राज्यले अनुदान दिने जुन नीति लिएको छ । कृषकहरुका लागि बीमा मार्फत यसले देशको अर्थतन्त्र नै बलियो हुने प्रस्टै छ । कुखुरा, माछा, गाईभैंसी, बाख्रा, हाँस सबैमा बीमा जरुरी छ र सधैं हुनु पछि पर्दछ ।

० माइक्रो बीमा र नगद रहित बीमा भनेको के हो ?
माइक्रो इन्स्यारेन्स लघु बीमा वा साना बीमा लेखहरु हुन । बिना धितो बैंकले दिएको कर्जाबाट भएको साना व्यवसायको बीमा हुन्छ । जोखिम भए दुबै पक्षलाई यसले बहन गर्दछ । यसलाई माइक्रो बीमा भनिन्छ । साना साना उपकरणहरुको बीमा गरेर जोखिम बहन गर्ने साना बीमा लेख नै माइक्रो बीमा हो ।

यो अत्यन्तै जरुरी छ । नगदरहित बीमा भनेको चाहिँ फरक छ । कोही मान्छे बिरामी भयो र अस्पताल भर्ना भयो भने बीमा गरेको भए त्यो पैसा बीमा कम्पनीले अस्पतालाई सिधै दिने पद्दती नगदरहित बीमा हो । यो नगदरहित बीमा बैंकहरुसँग पनि सम्झौता गरेर गरिन्छ । तर पैसा नगद हुँदैन ।

० अहिले बैंक र बीमा कम्पनीबीच सयौं सम्झौता भएको देखिन्छ र पत्रिकामा फोटो छापिन्छ । यसले बीमा बढाउने हो कि के हो प्रस्ट पारिदिनु हुन्छ की ?
दुई व्यवसायी संस्थाबीच सहकार्य गरि बीमा बजार बढाउनु सकारात्मक हो । तर, सम्झौता मात्रै गर्ने काम नगर्ने भयो भने यो राम्रो होइन अहिले ठूलो जनसंंख्यालाई बीमाको बारे बुझाउन नसकेको बेला बैंक र बीमाबीच सम्झौता गरि बाटो छेक्ने काम ग¥यो वा एकाधिकार गरियो भने बीमा बजार विस्तार हुन सक्दैन । सबैले यो बुझ्नु जरुरी छ । सबै बीमा कम्पनीले सबै बैंकसंग सम्झौता गर्नुपर्दछ । तर, प्रवेश निषेध गर्नु चाहिँ राम्रो होइन ।

० कम्पनी बढेका छन् बीमाका । तर, पोलिसी बढेको छैन । कारण के हो ?
कारण धेरै छन् । आजको दिनमा पहिलो आवश्यकता आम नेपालीको रोजीरोटी, बच्चाको शिक्षा र त्यसपछि घरजग्गाको बन्दोबस्त होला, गाडी होला, त्यसपछि मात्रै बीमाको कुरा आउने गर्दछ । बीमा बाध्यत्मक आवश्यकतामा पर्दैन । यी माथीका आवश्यकता पूरा भए पछि बीमाको कुरा आउने गरेको छ । तर, व्यवसाय गर्ने मान्छेले चाहिँ बीमा गर्दछ । किन भने बैंकबाट पैसा लिएको हुन्छ ।

बैंकको पनि स्वार्थ गाँसिएको हुन्छ । र जोखिमको कुरा पनि आउने गर्दछ । त्यस कारण बीमाको कुरा पहिला हुन्छ । नेपालमा जसलाई बीमाको आवश्यकता छ । उसले बीमा गरेको अवस्थानै छैन । तर, उसले सबै कुराको बीमा गरेको छ । जसले बीमा नगरे पनि क्षती व्यहोर्न सक्ने क्षमता छ । यो कुरा हामीले बुझाउन जरुरी छ । त्यसकारण विकसित देशमा बीमा हुन्छ । अविकसीत देशमा बीमा कम छ । यो हुनुको कारण पैसाको अभाव, शिक्षाको कमी उद्यमशीलताको कमीकै कारण होला । १ लाख रुपैया भएको मान्छेले २ लाख ऋण लिएर केही गरेको छ भने बीमा आवश्यक भनिन्छ । जोखिम बहन गर्ने तर, ५ हजारको साईकल हुनेलाई बीमाको मतलबनै छैन । त्यसकारण सरकारले चेतना बृद्धि गर्न शिक्षा दिनु प¥यो । बीमाको बारेमा अनुदान दिनु प¥यो नि ।

० पुर्नः बीमा भनेको के हो ? पुर्नबीमा कम्पनीमा निर्जीवन बीमा र जीवन बीमा कम्पनीले बीमाको २० प्रतिशत राख्नै पर्ने कुरा छ । यसलाई चाहिँ कसरी लिनु भएको छ ?
बीमा कम्पनीहरुले आफ्नो जोखिम हस्तान्तरण गर्नुपर्दछ । नत्र भोली कम्पनी नै धरापमा पर्ने डर हुन्छ । त्यसकारण बीमा कम्पनीहरुले पनि पुर्नबीमा गर्नुपर्दछ ।

हामी बीमा कम्पनी र सरकार मिलेर पुर्नबीमा कम्पनी स्थापना भएको छ । यसमा २० प्रतिशत दिनु पर्ने बाध्यता पनि छ । तर, यो त्यही सधैं रहिरहनु हुँदैन । आफै पनि काम गर्नु प¥यो नि । अरुको मात्रै भर पर्नु हुँदैन । विश्वका अरु बीमा कम्पनी बीच प्रतिस्पर्धा पुर्नबीमा कम्पनीको हुनुप¥यो । सरकारले सहयोग गर्दछ भनेर बस्नु हुँदैन नि ।

० पुर्नबीमा गर्दा विदेश पैसा पलायन हुने भनिन्छ नि सत्य हो ?
पुर्नबीमा ग¥यो भने विदेशमा पैसा पनि जान्छ र दुर्घटना प¥यो भने पैसा पनि आउने छ नि । देश भित्र जोखिम बहन गर्न नसक्ने बीमा संसारका ठूला बीमा कम्पनीहरुसँग गरिन्छ । त्यसको प्रिमियम दिनुपर्दछ र दुर्घटना भए उनीहरुले पैसा दिन्छन् नि । यो बुझ्न जरुरी छ ।

० अहिले मुलुकमा स्थिर सरकार छ । तपाई बीमा कम्पनीहरुको भूमिका चाहिँ कस्तो हुन्छ त ?
स्थिरताले निश्चितता दिन्छ । यसले ठूलो र लामो समयको लगानी हुन सक्दछ । जनताले स्थीर सरकारबाट आशा गरेका छन् । बीमामैत्री सरकार भए जोखिम बहन हुन्छ । रोजगारी नेपालमै बढ्ने छ । त्यसकारण खुशी छाउने छ र अर्थतन्त्रमा बीमाले ठूलो भूमिका खेलेको छ । किनभने जोखिम बहन बीमाले गरेको छ नि ।

० पछिल्लो समय बीमा कम्पनीहरुमा दक्ष जनशक्तिको चर्को अभाव छ भनिन्छ नि ?
यो वास्तविकता हो । अहिले धेरै बीमा कम्पनीहरु बढे । दक्ष कर्मचारीको अभाव छ । सबै बीमा कम्पनीहरु दक्ष बनाउन लागेका छन् । तालिम दिएका छन् । राम्रो पाटो के छ भने बीमा कम्पनी र बीमा समितिको लगानीमा स्टाफलाई तालिम दिने एउटा कम्पनीको स्थापना भएको छ ।

खुशीको कुरा छ । बीमामा बैंक जस्तो चमक छैन । तर, अब बढेको छ । पोखरा कलेजले बैंकिङ बीमा व्याचलरमा पढाउन शुरु गरेको छ । स्कुलदेखिका पाठ्यक्रममा बीमाको पढाई आवश्यक छ । पछिल्लो समय बीमामा व्यापक तालिम शुरु भएको छ । यो सकारात्मक कुरा हो ।

० तपाईले यति धेरै भनिरहँदा यत्रो भुकम्प जाँदा पनि बीमा बढेको देखिदैन कारण चाहिँ के हो ?
तपाईले भनेको सत्य हो । एउटा तथ्य के हो भने भुकम्प पछि बीमा आवश्यक हो भनिएको थियो तर, त्यो भएन । त्यसपछि बीमा समितिले अहिले चाहिँ फागुन १ गते देखि नयाँ सुलभ दरमा बीमा लेख ल्याएको छ । घर मात्रै होइन भित्रका सामान सबै कुरा टिभी, गरगहना, टेबुल, कुर्सी लगायत सबैको बीमा पहिला भन्दा ६० प्रतिशत कम रकममा बीमा लेख ल्याएको छ । यो सम्पत्ती बीमालाई अब हामी कम्पनीले अगाडी बढाउन जरुरी छ ।

० यो कुरा किन बाहिर थाहा छैन त ?
यो विडम्बना हो । गाठो नै यहि हो । सबैको बीमा हुन्छ । मान्छे घर, घर भित्रका सामान यो गजवको बीमा लेख आएको छ । यो बुझ्न जरुरी छ । प्रचार गर्नु जरुरी छ । हाम्रो कम्पनीले सम्पत्ति बीमा लेखको व्यापक प्रचार गर्ने र बीमा गर्ने हाम्रो सोच यो वर्ष छ । केही कम्पनीले म्यानपावर तयार गरिरहेको अवस्था पनि छ ।

दोस्रो पक्ष सरकारले गाउँगाउँलाई नगर बनाऔं । शहरलाई महानगर बनाऔं । अब महानगरलाई स्मार्ट शहर बनाउनु प¥यो । नगरले जनचेतना गराउनु प¥यो । जीवन भरीको पूँजी लगाएर घर बनाउनेलाई बीमा जरुरी छ भन्नु प¥यो नि । पैसा तिर्न नसक्नेलाई राहत राज्यले दिनु प¥यो । अब निर्माण हुने संरचना स्मार्ट हुनु प¥यो । यो राज्यले सोच्नु प¥यो ।

० बीमा गरेको मान्छेले दुर्घटना पछि पाउने पैसा लिन झन्झट भएको, नपाएका र बीमा नै नक्कली भएको घटना पनि बजारमा आए नि ?
हामी बाटोमा हिँडेका छौं । दुर्घटना हुन्छ तर कति खेर के आउँछ थाहै हुँदैन । त्यसको लागि बीमा जरुरी छ । केही कम्पनीहरुमा बदमासी भए तर, त्यसलाई अन्त्य गर्न सबै लाग्नु प¥यो । बीमा समिति हामी सीइओहरु । सबै मिले विकृती हटाउन प¥यो । बदमासी भएका छन् । अब बदमासी हुन दिन भएन । छिटो छरितो तरिकाले बीमाको पैसा दिनु पर्दछ नि ।

० बीमाको विधेयक आउँदेछ । यसमा के सुझाव छ ?
यस बारेमा नेपाल बीमक संघले छलफल गरेर एउटा राय सुझाव सरकारलाई बुझाएका छ । यसमा प्रक्रियागत कुरा भन्दा नीतिगत कुरामा सुझाव दिएका छौं । त्यो आउँला नै । ऐनमा आएपछि बन्ने नियम आउँला त्यसपछि हामी सहकार्य गरि अगाडी बढ्ने हो । कहि न कहि सानै देखि पाठ्यक्रममा राखी स्कुल देखि बीमाबारे पढाउनु जरुरी छ । बीमा भनेको सुरक्षा हो । सानै देखि सुरक्षा बारे बीमा बारे सिकाउनु पर्दछ । मनस्थिति परिवर्तन गर्नुनै अहिलेको च्यालेन्ज हो । अब सबै कुरा छ । गर्न बाँकी धेरै छ नि ।

० नेपालका कलेज पढ्ने विद्यार्थीहरुको बीमा हुँदैन । विदेशमा पढ्न गएका विद्यार्थीको बीमा गरिन्छ ? तर नेपालमा किन हुँदैन सीइओ साब ?
यो दुभाग्र्य हो । सबैको बीमा गरिनु पर्दछ । एउटा उदाहरण दिन्छु म । एनएलजी कम्पनीमा सीइओ हुँदा एक जना डाक्टर साब विहोस भएर एयरपोर्टमै लड्नु भयो । उहाँलाई अस्पताल लगियो । उहाँले एनएलजी इन्स्योरेन्स कम्पनीमा बीमा लेख गरेका कारण बाँच्नु भयो । मैले एनएलजी इन्स्योरेन्सबाट २८ लाख अस्पतालमा बुझाएको छु । त्यसकारण बीमा सबैमा जरुरी छ । कति खेर के हुन्छ । त्यो भगवान बाहेक कसैलाई थाहा छैन । डाक्टर, बिद्यार्थी, गृहीणी, बैंकर सबै व्यवसायी, घरघराना र सर्वसाधारणहरुलाई बीमा अत्यन्तै जरुरी छ नि । यो समयले देखाउने नै छ नि ।

० नेपाल इन्स्योरेन्स कम्पनीले के कस्तो प्रोडक्ट ल्याएर आक्रमक रुपमा बजारमा जाँदैछ त ?
हामीले बीमाका नयाँ प्रोडक्ट र ग्राहकका रुचीका प्रोडक्ट ल्याएर बजारमा जाँदैछौं । हामीले उपत्यका बाहिर शाखा खोल्दैछौं । शहर र गाउँका प्रोडक्ट फरक हुन्छन् । खास गरी सम्पत्ति बीमा नै अहिलेको आवश्यकता हो । घर र घर भित्रका सामानहरुको बीमा गर्नु होस भनिरहेका छौं । सवारी साधनको बीमा गर्नुहोस भनिरहेका छौं । प्रस्ट भन्नु पर्दा हामी खुद्रा बीमा तिर लागेका छौं । यसैसँग सम्बन्धित भएर गोठमा भएको गाईभैंसी देखि घर र घर भित्र भएका सर सामानसम्मका सबै बस्तुहरुको बीमा गर्ने प्रोडक्ट र योजना नेपाल इन्स्योरेन्स कम्पनीको छ । आर्थिक बजार मासिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका