

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको ठगी प्रकरणमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य माया राईविरुद्ध पूरक अभियोजनमार्फत मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले मंगलबार जिल्ला अदालतमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो माग गर्दै पूरक अभियोग दायर गरेको हो । भोजपुरकी राई नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् । उनले २०७३ को कात्तिक ६ गतेदेखि २०७४ मंसिर ४ गतेसम्म सो सहकारी संस्थामा सदस्यका रूपमा कार्य गरिन् । त्यसपछि २०७४ मंसिर ८ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सहसचिवको जिम्मेवारी सम्हालेकी थिइन् । यही अवधिमा करिब दुई करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ अपचलन भएको सरकारी वकिलको प्रतिवेदनमा उल्लेख छ ।
राईविरुद्धको पूरक अभियोजन २० जना पीडितको थप जाहेरीको आधारमा दायर गरिएको हो । यसअघि गत पुस २९ गते ६९० जना बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना आरोपसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । सो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछाने पनि प्रतिवादी थिए । उनी ६० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
पहिलो चरणमा सांसद राईलाई प्रतिवादी नबनाइएको भन्दै प्रहरी र सरकारी वकिलको कार्यालय आलोचित बनेको थियो। आलोचना बढेपछि प्रहरीले पुनः अनुसन्धान थालेको थियो। त्यसैको आधारमा १३ वैशाखमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।
सरकारी वकिल कार्यालयले राईविरुद्ध सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दा दायर गरेको छ । संगठित अपराध अन्तर्गत ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान भए पनि राईको हकमा भने १७ दिनमै मुद्दा अदालतमा पेश गरिएको छ ।
यसै प्रकरणमा गितेन्द्रबाबु (जिबी) राईसहितका पदाधिकारीहरूविरुद्ध पनि थप ३७ लाखभन्दा बढीको क्षतिपूर्ति माग गरिएको छ ।