जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गोकुल बास्कोटाले अश्लील बोल्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक

गोकुल बास्कोटाले अश्लील बोल्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारले भाषा बिगारेको आरोप बारम्बार लगाउने गर्छन् । र, प्रधानमन्त्री आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने पनि बारम्बार बताउँछन् ।

तर, बालकोटस्थित प्रधानमन्त्रीकै निजी निवासमा बस्दै आएका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको छ ।

‘यस्तो कुरामा यी मु… कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्…’ अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले कर्मचारीलाई संकेत गर्दै एजेन्टसँग भनेका छन्, ‘यो मु….ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस् ।’

अडियो सम्वादमा मन्त्री बास्कोटासँग कुरा गर्ने व्यक्ति स्वीस कम्पनीको एजेन्ट हो भन्ने कुराकानीबाट बुझ्न सकिन्छ । अडियोको सुरुमै एजेन्टले मन्त्री बास्कोटालाई भनेका छन्,‘ यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ.. समय मिलाउनुहोला ।’

अनलाइनखबरलाई प्राप्त २ मिनेट ३० सेकेन्डको अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको छ । मन्त्री बास्कोटाले कर्मचारीहरुलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो सम्वादमा सुन्न सकिन्छ ।

सूत्रहरुका अनुसार मन्त्री बास्कोटासँग कमिसनबारे सम्वाद गर्ने व्यक्ति स्वीस कम्पनीका एजेन्ट विजय मिश्र हुन् ।

मन्त्रीसँग एमओयु गर्ने र कमिसन लेनदेन गर्ने कुराकानी भइसकेपछि मन्त्री पछि हटेपछि स्वीस एजेन्टले अडियो ‘लिक’ गरेको देखिन्छ ।

अडियोमा के छ ?

मन्त्री बास्कोटाले स्वीस कम्पनी केबीए नोटासिसका नेपाल प्रतिनिधि (एजेन्ट) सँग कमिसनबारे छलफल गरेको अडियो सार्वजनिक भएको हो । सञ्चारमन्त्री बास्कोटाले स्वीस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँग कुन ट्रयाकबाट जाँदा कमिसन बढी पाइन्छ भन्नेबारे सल्लाह गरेको अडियोमा सुनिन्छ ।

अडियोमा स्वीस एम्बेसी आउने भन्दै एजन्टले मन्त्रीसँग समय मिलाउन भनेका छन् । मन्त्री बास्कोटाले ‘नर्मलमा ५० आउँछ ?’ भनेर सोधेका छन् ।

समान्य तवरबाट काम गर्दा थोरै कमिसन आउने भएकाले मिश्रले ‘आउट अफ ट्रयाक’बाट जान मन्त्रीलाई सुझाएका छन् ।

यो प्रक्रियाबाट कुल ७० देखि ७४ करोड कमिसन आउने र त्यसको ७० प्रतिशत मन्त्रीलाई मिल्ने मिश्रले मन्त्रीलाई बुझाएका छन् । ५४–५५ करोड मन्त्रीको हात पर्ने मिश्रले बताएका छन् ।

मन्त्रीले अडियोमा एजेन्ट (मिश्र)लाई कति प्रतिशत आउँछ त भनर समेत सोधेको पनि सुनिन्छ । मिश्रले ३० प्रतिशत आफूलाई आउने र त्यो एकदम पारदर्शी हुने बताएका छन् । मिश्रले १५–१६ करोड आफूलाई आउने बताएका छन् ।

मन्त्री बास्कोटाले अडियोमा २५ देखि २७ अर्बको परियोजना बनाउन लागेको बताएको सुनिन्छ । एजेन्ट मिश्रले पनि परियोजना जतिको बन्छ त्यसकै आधारमा प्रतिशत निर्धारण हुने बताएका छन् ।

मिश्रसँग मन्त्री बास्कोटाले कर्मचारीसँग कसले कुरा गर्ने भनेर प्रश्न सोधेका छन् । उनले कर्मचारीसँग आफूले कुरा गर्दा हेप्ने भएकाले एजेन्टलाई नै त्यसमा लाग्न भनेका छन् । एजेन्टले मन्त्रीको प्रस्तावमा सहमति जनाएका छन् ।

मिश्रले कुनै कर्मचारीतर्फ संकेत गर्दै ‘उसले बनाएर राखिसकेको छ’ भन्दा मन्त्री बास्कोटाले यता २७ अर्बको निस्कियो भने उता २८ अर्बको बनाउन मिश्रलाई भनेका छन् ।

मिश्रलाई गत महिला संसदको सार्वजनिक लेखा समितिले बोलाएर विज्ञका रुपमा सुरक्षण मुद्रण योजनाबारे जानकारी लिएको थियो ।

उनले मिश्रले यो परियोजनामा ५०–६० मिलियन युरो (साढे ६/७ अर्ब रुपैयाँ) तलमाथि गर्न खोजिएको दाबी गरेका थिए ।

प्रतिस्पर्धाका आधारमा सेक्युरेटी प्रिन्टिङ स्थापना नगर्दा राज्यले ६ देखि साढे ९ अर्ब क्षति बेहोर्ने उनको दाबी थियो ।

विज्ञ मिश्रका अनुसार स्वीट्जरल्यान्डको केबीए नोटासिस कम्पनीले २०० मिलियन युरोमा नै नोटसहित सबैखालको सुरक्षण मुद्रण स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा पुगेको पनि थियो ।

तर, त्यसलाई प्रक्रियामा सहभागी नै गराइएन । अहिले गर्न लागिएको सम्झौताअनुसार नोट छाप्ने प्रेस थप्दासम्म ३ सय मिलयन युरो खर्चिनुपर्ने हिसाब–किताब उनले सुनाएका थिए । साढे ७ देखि १० अर्ब झ्वाम पार्ने नियत सरकारको देखिएको उनले दाबी गर्दै आएका छन् ।

मन्त्रीको बोलीमा छाडापन, आर्थिक अनुशासनमा गम्भीर प्रश्न

कमिसनका विषयमा सार्वजनिक भएको अडियोबारे बुझ्न हामीले मन्त्री बास्कोटालाई सम्पर्क गर्न खोज्यौं, तर उनको मोबाइल स्वीच्ड अफ थियो ।

केही दिनअघि अनलाइनखबरकर्मीसँग भएको भेटमा मन्त्री बास्कोटा कतिपय दलालहरुले आफूसँग आर्थिक लेनदेनका विषयमा कुराकानी गर्ने र मोबाइलमा रेकर्ड गर्ने प्रयास गरेको बताएका थिए । त्यसो गर्न खोज्नेलाई आफूले ‘मलाई कति दिन्छौ’ भन्दै प्रश्न सोध्ने गरेको सुनाएका थिए ।

यसअघि मन्त्री बास्कोटाले आफूलाई दुईवटा कुरामा कसैले फसाउन नसक्ने हाँक दिने गरेका थिए,– एउटा मीटू र अर्को घुस ।

तर, विहीबार सार्वजनिक भएको अडियो र त्यसमा प्रयुक्त भाषाले मन्त्री बास्कोटामाथि गम्भीर प्रश्न उठाइदिएको छ ।अनलाइनखबर

 

7015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका