जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • निर्वाचन आयोगद्वारा नेकपा खारेज, यस्ता छन् ६ निर्णय

निर्वाचन आयोगद्वारा नेकपा खारेज, यस्ता छन् ६ निर्णय

निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश बमोजिम नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा पार्टी खारेज गरेको छ । आयोगको आज मंगलबार बसेको बैठकले नेकपा पार्टीको बदर गर्दै नेकपा एमाले र माओवादी केन्द्र पुर्ववत् अवस्थामा नै रहने निर्णय गरेको हो ।

त्यस्तै आयोगले नेकपा बनेपछि दर्ता भएका सन्ध्या तिवारीको नेकपा एमाले र गोपाल किरातीको नेकपा माओवादी केन्द्रलाई १५ दिन भित्र नयाँ नाम सहित पार्टी दर्ताको लागि आउन आग्रह गरेको छ । त्यस्तै आयोगले एमाले र माओवादी केन्द्र एकीकरण गर्ने भएमा १५ दिनभित्र नयाँ नाम र चुनाव चिन्ह सहित आयोगमा निवेदन दिन आग्रह गरेको छ ।

यस्ता छन् आयोगको ६ निर्णय :

१. सम्मानित सर्वोच्च अदालतको मिति २०७७।११।२३ गतेको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरण भई बनेको दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल उत्प्रेषणको आदेशबाट बदर भएको हुँदा आयोगमा दर्ता नम्बर १४५ मा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामको राजनीतिक दल खारेज गर्ने र सो दल खारेजीको जानकारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष श्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष श्री पुष्पकमल दाहाल “प्रचण्ड” लाई गराउने साथै सोही फैसला बमोजिम अलग अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहेको ब्यहोराको जानकारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष श्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष श्री पुष्पकमल दाहाल “प्रचण्ड” लाई दिने।

२. आयोगको मिति २०७५।०२।२३ को निर्णयले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल दर्ता भएको नेपाल राजपत्र खण्ड ६८) काठमाण्डौ, जेठ २३ गते, २०७५ साल (अतिरिक्ताङ्क ८ (अ) मा प्रकाशन भएको सूचना सो राजपत्रबाट खारेज गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।

३. सम्मानित सर्वोच्च अदालतको मिति २०७७।११।२३ गतेको फैसलाले निर्वाचन आयोगमा साविकमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रूपमा साविककै अवस्था (मिति २०७५।०२।२३ गते भन्दा अगाडिको) मा कायम रहेको हुँदा सो ब्यहोराको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।

४. मिति २०७५।0२।२३ गते अगाडि आयोगमा दल दर्ता नम्बर ३२ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र दल दर्ता नम्बर ३७ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामक राजनीतिक दल दर्ता रहेकोमा आयोगको मिति २०७५।0२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल रिट निवेदक ऋषिराम कट्टेल विपक्षी यस आयोग समेत भएको रिट नं ०७५-wo-०५१७ को उत्प्रेषण परमादेश मुद्दामा सम्मानित सर्वोच्च अदालतको मिति २०७७।११।२३ गतेको आदेशले ती दुई दलहरुबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल उत्प्रेषणको आदेशले बदर भई ती दुवै राजनीतिक दलहरू अलग अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने हुँदा मिति २०७५।२।२३ गते पछाडि आयोगमा दल दर्ता नम्बर १५३ मा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र दल दर्ता नम्बर १६० मा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामक दुवै राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, 2073 को दफा ६(1)(ङ) र राजनीतिक दल सम्बन्धी नियमावली, 2074 को नियम ९ बमोजिम राजनीतिक दलका रूपमा कायम रही रहन सक्ने नदेखिँदा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को हकमा अर्को नयाँ नाम र चिन्ह तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को हकमा नयाँ नाम प्रस्ताव गरी  15(पन्ध्र) दिन भित्र सुधार सहितको विवरण आयोग समक्ष पेश गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँती र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष श्री सन्ध्या तिवारीलाई जानकारी गराउने।

५. आयोगको मिति २०७५।0२।२३ को निर्णयानुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल विरूद्ध रिट निवेदक ऋषिराम कट्टेल विपक्षी यस आयोग समेत भएको रिट नं  ०७५-wo-०५१७ को उत्प्रेषण परमादेश मुद्दामा सम्मानित सर्वोच्च अदालतको मिति २०७७।११।२३ गतेको फैसलाले आयोगको मिति २०७५।0२।२३ को निर्णय र सो निर्णय उपर परेको उजुरी निवेदन सुनुवाई गरी सो निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५।0७।0९ गतेको निर्णय फैसला समेत उत्प्रेषणको आदेशबाट बदर भएकोले आयोगका यी दुवै निर्णय बदर भए पश्चात निर्वाचन आयोगमा साविकमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अब उप्रान्त अलग अलग राजनीतिक दलका रूपमा एकीकरण हुनु अगाडिको साविककै अवस्थामा कायम रहेको व्यहोराको जानकारी संघीय संसद सचिवालय, काठमाण्डौ, सातवटै प्रदेश सभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयहरूलाई गराउने।

६. आयोगको मिति २०७५।0२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको मिति २०७७।११।२३ गतेको फैसलाले बदर भएकोले अव यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, 2074 बिपरित नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ (पन्ध्र) दिन भित्र आयोगमा निवेदन सहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने।

7115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?