जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०

Sticky Breaking News

२०७७ लाई फर्केर हेर्दा…

२०७७ लाई फर्केर हेर्दा…

विश्वव्यापीरुपमा अदृश्य शक्तिबाट अदृश्यरुपमा फैलिएको कोरोना भाइरससंगै शुरु भएको २०७७ साल कोरोना त्रासबीच नै अन्त्य भएको छ भन्दा अब चाहि फरक पर्दैन । कोरोना कहरबीच २०७७ साल राजनीतिक घटनाक्रममा भने धेरै अगाडी देखियो । राजनीतिक उथलपुथलनै भए । तर, निर्माण र विकासका काम भने सम्झन लायक भए भन्दा फरक पर्दैन । नेपालको नक्सा सार्वजनिक, मेलम्ची खानेपानी र कोरोना भाइरसको खोप २०७७ सालबाटै सुरु भएका छन् । यो अर्को महत्वपूर्ण पक्ष पक्कै मानिन्छ ।

कोरोना कहर र राजनीतिक तरलता
२०७७ साल राजनीतिक हिसाबले चर्चित रह्यो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादले चर्को रूप लिएसँगै विभाजित सम्म पुग्यो । तीन वर्षअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भइ बनेको पार्टी यति छिटो विभाजित हुन्छ भनेर कसैले सोचेका थिएनन् । पार्टीभित्र नेतृत्व विवाद चरमोत्कर्षमा पुगी प्रचण्ड–नेपाल समूहका ९० जना सांसदले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव गराउने घोषणा गर्नुप¥यो ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा एक दर्जन रिट परे । सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरिदियो । प्रतिनिधि सभाको कार्यकाल पूरा नहुँदै प्रधानमन्त्रीलाई विघटन गर्ने विशेषाधिकार नहुने सर्वोच्चको यस फैसलाले नयाँ राजनीतिक तरङ्ग ल्यायो ।

त्यसभन्दा ठूलो तरङ्ग सर्वोच्चको अर्को फैसलाले ल्याइदियो, जसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरणलाई मान्यता नदिनुका साथै पार्टीलाई नै विभाजित गरिदियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा फर्किए । पूर्ववत् अवस्थामा फर्किएपछि पनि दुवै पार्टी आन्तरिक विवादमा फसेका छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओलीको कारबाहीमा परेपछि माधवकुमार नेपाल समूहले देशभर समानान्तर कमिटी गठन गर्ने क्रम बढेको छ । माओवादी केन्द्रले पनि ओलीलाई साथ दिने मन्त्री र नेताहरूलाई कारबाही गरेको छ भन्दा फरक पर्दैन ।

नयाँ नक्सा सार्वजनिकले ल्याएको तरङ्ग
कोरोना महामारीबीच वैशाख २६ देखि संसद्को अधिवेशन सुरु भयो । वैशाख २७ गते भारतले एकतर्फी रूपमा लिपुलेकसम्म भारतीय सडक विस्तार गरेकोमा नेपालले आपत्ति जनाउँदै २९ गते भारतलाई कुटनीतिक नोट पठायो । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा कालापानी क्षेत्र फिर्ता लिन एकमत जुट्यो । जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकमा आव २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा छुटेको नेपालको भूमिसहितको नक्सा जारी गर्ने प्रतिबद्धता व्यक्त गरियो । जेठ ५ गते सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा स्वीकृत गर्याे । जेठ ७ मा नेपालको संशोधित नयाँ नक्सा सार्वजनिक भयो भन्दा फरक पर्दैन ।

संसद विघटनको तरङ्ग
पुस ५ गते प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड–नेपाल समूहका ९० जना सांसदले अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेपछि प्रधानमन्त्रीले ताजा जनादेश लिने निर्णय गरी संसद् विघटन गर्ने निर्णय गर्नुभयो । यो निर्णयसँगै नेकपा विभाजनतिर गयो । प्रचण्ड–नेपाल समूहका सात मन्त्रीले राजीनामा दिए । प्रधानमन्त्री ओलीले पुस १० गते मन्त्रिपरिषद् विस्तार र फेरबदल गर्नुभयो । आफ्नो पक्षमा आएका माओवादी सांसदहरूलाई मन्त्री बनाउनुभयो । त्यसपछि नेकपामा आधिकारिकताको विषय झन् पेचिलो बन्यो । नेकपाका दुवै पक्षले निर्वाचन आयोगमा आधिकारिक आफू भएको दाबी पेस गरे । तर निर्वाचन आयोगले माघ ११ गते दुवै पक्षको दाबी अस्वीकार गर्दै दुवैलाई आधिकारिकता दिएन भन्दा फरक पर्दैन ।

नाम विवादसम्बन्धी मुद्दामा फागुन २३ मा सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरणलाई मान्यता दिएन । दुवै दल अस्तित्वमा आए । ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आधिकारिक मान्यता पायो । सर्वोच्चको फैसलाअनुसार फागुन २५ मा निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पुरानै मान्यता दियो ।

सर्वोच्चद्वारा संसद पुर्नस्थापना
अर्कोतर्फ प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा एक दर्जन रिट परे । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिटको पक्ष र विपक्षमा लामो बहस भयो । फागुन ११ गते संवैधानिक इजलासले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वसम्मत फैसला गर्याे । साथै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन सरकारका नाममा परमादेश जारी भयो । सरकारले सर्वोच्चको फैसला स्वीकार गर्दै फागुन २३ गते पुर्नस्थापित प्रतिनिधि सभाको बैठक बोलायो । बैठक सुरु भए पनि दलहरूबीच विवादले सुरु भएन । बैठक शोक प्रस्ताव पारितमै सीमित रह्यो ।

विप्लव समूह खुल्ला राजनीतिमा
फागुन २० मा सरकार र नेकपा विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै यो समूहमाथि लगाइएको प्रतिबन्ध हट्यो । भोलिपल्ट फागुन २१ गते प्रधानमन्त्री ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच सहमतिमा हस्ताक्षर गरी दुवै नेताले एउटै मञ्चमा सम्बोधन गर्नुभयो ।

कोरोना कहर यसको असर
माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप लगाउन सुरु भयो । भारतले अनुदान सहयोग स्वरूप १० लाख मात्रा कोरोना खोप नेपाललाई उपलब्ध गराएपछि कोरोना खोप लगाउन सुरु गरियो । त्यस्तै सरकारले भारतसँग खरिद गरेको १० लाख मात्रा, भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख मात्रा र चीनले दिएको आठ लाख मात्रा कोरोना खोप नेपाल आइसकेको छ । पहिलो चरणमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइ कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइयो । त्यसपछि प्राथमिकता र जोखिमका आधारमा अरूलाई खोप दिन थालिएपछि ठूलो राहतको अनुभव गरिएको छ ।
तर कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । यसबाट जनजीवन प्रभावित बन्दैछ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाबाट नेपालमा पनि धेरै जनधनको क्षति भयो । ६ महिनाभन्दा धेरै लकडाउन गरियो । आर्थिक तथा पर्यटन गतिविधि रोकिँदा बेरोजगारी र गरिबी बढ्यो । अर्थतन्त्र कमजोर भयो । कोरोनाबाट नेपालमा तीन हजारभन्दा धेरैको ज्यान गयो भने झण्डै दुई लाख ७७ हजार सङ्क्रमित भए । कोरोनाकै कारण तीन खर्ब रुपैयाँभन्दा धेरैको नोक्सानी भयो ।

राष्ट्रकवि घिमिरेको निधन
भदौ २ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय एक वर्षको उमेरमा निधन भयो । प्राकृतिक विपत्तिका कारण २०७७ सालमा अरू केहीले पनि ज्यान गुमाउनुपर्याे। भदौ ३ गते बाढी पहिरोमा परी अछाम, बाजुरा र बझाङमा १० जनाको ज्यान गयो भने ११ जना बेपत्ता भए । भदौ १८ गते बाग्लुङको ढोरपाटन नगरपालिका १ बोबाङको भुजीखोलामा आएको बाढीले बस्ती नै बगाउँदा १४ जनाको ज्यान जानुका साथै कैयौँ बेपत्ता भए । भदौ २८ गते सिन्धुपाल्चोकमा पहिरोमा ११ जनाको ज्यान जानुका साथै कैयौँ बेपत्ता भए ।

मेलम्चीको पानी काठमाण्डौमा आयो
२२ वर्षको मेहनतपछि मेलम्ची खानेपानी आयोजनाको पानी पहिलो पटक फागुन २२ मा सुन्दरीजलमा आइपुग्यो । चैत १५ गतेदेखि मेलम्चीको पानी उपत्यकामा उपभोक्ताका धारामा झर्याे । चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गर्नुभयो । यो आयोजनाका लागि झण्डै ३१ अर्ब रुपियाँ खर्च भएको छ ।
यस्तै माघ २ देखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण सुरु भएको छ । माघ २५ मा देशकै दोस्रो ठूलो विद्युत् प्रसारण लाइन २ सय २० केभीको दाना विद्युत् सबस्टेशनको निर्माण सम्पन्न भयो ।
फागुन २० मा प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको शिलान्यास गर्नुभयो । चैत १ मा प्रधानमन्त्री ओलीले एकैपटक २ सय १० पालिकामा सडक निर्माणको शुभारम्भ गर्नुभयो ।
चैत १६ मा पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गरियो । चैत २१ मा प्रधानमन्त्री ओलीले सबै निर्वाचन क्षेत्रलाई जोड्ने १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्नुभयो ।

सलह किरा नेपालमा
असार १३ मा अफ्रिकाबाट भारत हुँदै नेपाल छिरेको सलह किराले अन्नबालीमा क्षति पुर्यायो । भारतबाट विभिन्न झुण्डमा सलह किरा नेपाल भित्रिएका थिए । सलहको झुण्डले कृषि बालीमा पुर्याएको क्षतिले किसानलाई मानसिक र आर्थिक रूपमा नोक्सानी पुर्याएको थियो । बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भित्रिएको थियो । यसले बालीमा ठूलो नोक्सानी गर्दै तराईबाट पहाड हुँदै हिमालसम्म पुगेको थियो ।
सलहले नेपालमात्रै नभइ भारत, पाकिस्तान, इरान, केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियालगायतका देशलाई प्रभावित बन्यो ।

कोरोना कहरबीच चलचित्र क्षेत्र ठप्प
विश्वभर फैलिएको कोरोना भाइरसका कारण सन् २०२० मा मनोरञ्जनको क्षेत्रलाई ठूलो नोक्सानी गर्याे । चलचित्र हलहरू बन्द हुँदा र चलचित्रहरू प्रदर्शन हुन नसक्दा करोडौँको लगानी जोखिममा पर्याे । वर्षभरि नै हलहरु ठप्प रहे । अहिले हलहरू खुलेका भए पनि कोरोनाको त्रास र नयाँ फिल्म नभएकाले दर्शक त्यति गएनन् । अझै पनि हलहरू राम्ररी चलायमान हुन सकेका छैनन् ।

नेपाल भ्रमण वर्ष
सरकारले देशको आर्थिक वृद्धिदर बढाउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष (भिजिट नेपाल) २०२० मनाउने तयारी गरेको थियो । तर चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिन सुरु भएको कोरोना भाइरसले नेपालमा पनि ठूलो नोक्सानी पुर्यायो । सन् २०२० को सुरुवाती महिनामै नेपालमा कोरोनाको पहिलो सङ्क्रमण पुष्टि भएपछि नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका सबै कार्यक्रम स्थगित गरिएको थियो ।
२०७६ सालको चैत ११ गते नेपालमा पहिलो पटक लकडाउन गरियो, त्योसँगै नेपाल भ्रमण वर्ष २०२० पनि अलपत्र बन्न पुग्यो ।

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण
बाह्र वर्षअघि भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गराउनुभएको थियो । पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा तत्कालीन एमालेका नेता ओली भारतको एपोलो अस्पताल जानुभएको थियो । त्यसयता बैंकक र सिङ्गापुरमा उपचार गर्दै आउनुभएको थियो ।
तर दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि भने उहाँले नेपालकै सरकारी अस्पताल रोज्नुभएको थियो । पहिलो पटक मिर्गाैला प्रत्यारोपण गर्दा ओलीलाई बुहारी अञ्जनाले मिर्गौला दिनुभएको थियो भने दोस्रो पटक ओलीलाई भान्जी नाता पर्ने समीक्षा सङ्ग्रौला ज्ञवालीले मिर्गौला दिनुभएको थियो ।

खेल क्षेत्रमा नेपालले पाएका महत्वपूर्ण उपाधि
नेपालले २०७७ सालमै त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एकले हराउँदै च्याम्पियन बनेको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । यही खेलबाट राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । यो खेल हेर्नका लागि प्रधानमन्त्री ओली स्वयम् रङ्गशाला पुग्नुभएको थियो ।
२०७७ सालले पाएका यी तिता मिठा कुरा बाहेक पीडा दायक कुरा चाहि कोरोना भाइरसनै रह्यो लामो समय लकडाउन पछि जनताले पाएको सस्ती जीवनमै बिर्सन नसक्ने भयो भन्दा फरक पर्दैन ।

7825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका