प्रतिनिधिसभाको दोस्रो पटक विघटन भएपश्चात् राजनीतिक दलहरु अहिले सर्वोच्च अदालतको निणर्यलाई कुरिरहेका छन् । विघटन भएको प्रतिनिभिसभाको प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सत्ताधारी दलकै नेताहरुले दलीय भावना विपरित देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि सिंगो एमालेभित्र तरङ्ग उत्पन्न भएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपाको माधव नेपाल समुहको असन्तुष्ट पक्ष, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन नै गरेर प्रधानमन्त्री केपी ओलीलाई जसरी भएपनि सत्ताबाट हटाइ छोड्ने उद्घोषण पटक-पटक गरिरहेका छन् । सत्ताधारी दल भित्रको आन्तरिक द्धन्दको फाईदा उठाउने क्रममा माओवादी केन्द्रका अध्यक्ष सबैभन्दा अग्रपंक्तिमा रहेका छन् ।
सत्ताधारी दलका सांसदहरुले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन नेकपा एमालेको माधव समुहलाई दाहालले नै गठबन्धनमा ल्याएका हुन् । बहुदलीय व्यवस्थामा दलहरुबाट निर्वाचित भएका सांसदहरु आफ्नो पार्टीको नीति निर्देशन विपरित गएर अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु भनेको बहुदलीय व्यवस्थाकै लागि पनि अभिशाप हो ।
अहिले आएर माधव समुहले नै आफैले सर्मथन गरेको निणर्यलाई नै उल्लंघन गर्दै दलको निणर्यलाई क्रस गरेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने अभियानमा संलग्न भएका छन् । आफ्नै पार्टी अध्यक्षका विरुद्ध विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर समेत गरेका हुनाले माधव नेपाल विधि, विधान र पद्धति होइन पद चाहियो भनेर रोइकराई गरिरहेका छन् । विधि, विधान र पद्धति हो भन्ने आफैले स्वीकार गरेको विधि, विधान र पद्धति भित्र नेपाल किन अड्न सकेनन् त ? त्यही संगठनको मातहतमा बस्ने कुरालाई माधव नेपालले स्वीकार गर्नु पर्ने कि नपर्ने ? विधि, विधान र पद्धतिका कुरा वढाएर अलोकतान्त्रिक अभ्यासमा लाग्नु भनेको मलाई विधि, विधान र पद्दति लागु हुन सक्दैन भन्नु होइन र ?
संविधानको धारा ७६ को ५ को प्रयोगमा दलबाट स्वतन्त्र हुने र दलको नियम मान्नु नपर्ने तर्क अहिले हुँदै आएको छ । दलको टिकटबाट निर्वाचन जित्ने अनि त्यही टिकट दिने दलको निणर्य चाँहि मान्नु नपर्ने भन्ने तर्क कति उचित होला ? आमाबाट वच्चा जन्मिने तर तिनै आमाबाट जन्मिएको वच्चाले आमालाई स्वीकार नगर्ने ? दलबाट निर्वाचित भएका व्यक्तिहरु आफ्नो दलभित्र आफ्ना कुरा राख्न स्वतन्त्र हुन्छन् तर दलको निणर्य विरुद्ध जाने अधिकार उनीहरुलाई हुँदैन । यदि दलको निणर्य आफुलाई चित्त वुझेन भने उनीहरुले दल त्याग गर्न सक्छन् ।
दल त्याग गरेर उनीहरु स्वतन्त्र भएपछि उनीहरु जुन जुन पदमा छन् त्यो पद स्वतः जान्छ । दल त्याग ऐनमा सो व्यवस्था राखिएको छ । आफ्नै पार्टीका विरुद्ध षडयन्त्र गर्ने तर दल त्यागसम्म गर्न नसक्ने नेताले अनि विधि, विधान र पद्दतिको कुरा उठाउने माधव नेपाल समुहलाई नेकपा एमालेमा रहन मन भएन भने उनीहरुले दल त्यागेको खण्डमा सांसद पद गुम्ने डरले गर्दा नै उनीहरु दल त्यागै नगरी विपक्षी गठबन्धनमा गएका हुन् ।
विपक्षी गठबन्धनलाई बलियो बनाएर आउँदो प्रतिनिधिसभाको निर्वाचनमा तिनै गठबन्धनकारीको सहयोगमा निर्वाचन जित्ने दाउमा माधव नेपाल रहेका छन् । केही दिन पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धनलाई लामो समयसम्म टिकाइरहने र माधव समुहका १५—२० जनालाई प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद बनाउने सहमति भएको बताएका हुनाले माधव नेपाल विपक्षीहरुको चँगुलमा फसिसकेको प्रष्ट हुन्छ ।
नेकपा एमालेले २०७५ जेष्ठ २ गते कै अवस्थामा फर्किएपनि माधव नेपाल समूहका केही व्यक्तिहरु नेकपा एमालेमा फर्किन सक्ने अवस्थामा नरहेका हुनाले माधव नेपालले उठाउँदै आएको विधि, विधान र पद्धति हात्तीको देखाउने दाँत जस्तो मात्र रहेको छ ।